बागलुङ, २८ माघ – नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेत्र नम्बर २ को छनोट खेल गलकोटमा सञ्चालन गर्नको लागि तयारी तीव्र परिएको छ । विगतका वर्षहरुमा बलेवामा सञ्चालन गरिदै आएको छनौट खेल यसपाली गलकोटको हटियामा सञ्चालन गर्न लागिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय कार्यक्रमअर्तगत संचालन हुने बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट खेल फागुन १ देखि ३ गतेसम्म गलकोटको हटियामा हुने भएको हो । बिहिबार गलकोट बहुमुखी क्यापसमा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमका बीच कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
अघिल्ला बर्षसम्म सदरमुकाम बागलुङ बजारमा मात्र सञ्चालन गरिदै आएको प्रतियोगिता गतबर्षदेखि बागलुङ जिल्लाको ३ ओटै क्षेत्र निर्धारण गरि सञ्चालन गर्न लागिएको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले बताए । जिल्लामा मात्र कार्यक्रम सञ्चालन गर्दा गलकोट क्षेत्र पछि परेको र गलकोटमा भएका विद्यालयहरु छुट्ने गरेको भन्दै यसबर्ष गलकोटलाई एउटा केन्द्र बनाएर छनौट खेल सञ्चालन गर्न लागिएको परियारले बताए ।
राष्ट्रपति रनिङ शिल प्रतियोगिता अन्तरगत छात्रछात्रा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वाण्डो र कराँते खेल हुने परियारले बताए । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुलाई समाबेश गरिने उनको भनाई छ । विद्यालय भनेको शिक्षा आर्जन गर्ने ठाउँ मात्र नभएर खेलकुद सिक्ने माध्यम भएको परियारको भनाई छ । उनले यस कार्यक्रमले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई बाहिर निकाल्न महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरे ।
विगतमा जिल्लामा केन्द्रित भएको यो कार्यक्रम लामो पछिको प्रयासले गलकोटमा ल्याउन सफल भएको जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यम श्रीसले बताए । उनले गलकोट क्षेत्रमा भएका खेलाडीहरुलाई आफनो प्रतिभा देखाउन हौसला प्रदान गर्नेे बताए । कार्यक्रम सफल पार्नका लासग राहुल बोहरा संयोजक रहने गरि ८ सदस्यीय ब्यवस्थापन समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा यम श्रीस, राम केसी, बिरजङ भण्डारी, गुमानसिह भण्डारी, राम खत्री, कमल परियार र अर्जुन खत्री रहेका छन् । त्यस्तै कार्यक्रममा बिबाद आएमा सुल्झाउने उदेश्यले बमबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा दिनेश पन्त, देबेन्द्र खत्री, रामप्रसाद शर्मा, तेजिन्द्र बुढाथोकी रहेका छन् ।
जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारको प्रमुख आतिथ्यता रहेको कार्यक्रम देबेन्द्र बहादुर खत्रीको अध्यक्षता र रामबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको छ ।