बागलुङ, २७ माघ/जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको आयोजना र मेरि स्टोप सेन्टर नेपालको सहयोगमा दुई दिने निशुल्क स्थायि परिवार नियोजन शिविर बुधबारदेखि बुर्तिबाङमा सुरु भएको छ । शिविरमा सन्तानको रहर पुगेका पुरुषका लागि भ्यासेक्टोमि र महिलाका लागि मिनिल्याप सेवा प्रदान गरिने जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सृष्टि उचैले जानकारी दिइन । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा सञ्चालन गरिएको शिविरको पहिलो दिन बुधबार १६ जनाको स्थायि बन्ध्याकरण गरिएको छ । पहिलो दिन १२ जना पुरुशको भ्यासेक्टोमी र ४ जना महिलाको मिनिल्याप स्थायि बन्ध्याकरण भएको जनस्वास्थ्य अधिकृत उचैले बताइन् । शिविरमा बुधबार रणसिंहकिटेनी, अधिकारीचौर, बुर्तिबाङ, बोबाङ, देविस्थान र दर्लिङका नागरिकले सेवा लिएका छन् । शिविरमा मेरिस्टोप सेन्टरका डाक्टर विजय मानन्धर नेतृत्वको ४ जना स्वास्थ्यकर्मीको टोली र जिल्ला जनस्वाथ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सृष्टि उचै तथा पब्लिक हेल्थनर्स हरिकाशी पालिख सहित ६ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए । शिविर बिहिबार पनि सञ्चालन हुनेछ । बिहिबार बिहान ९ बजेदेखि नै सेवा सुरु गरिने आयोजकले जनाएको छ ।