बागलुङ, २६ माघ – जिल्लाको भिमगीठे गाविसको इदिखोलामा सोमबार राती मोटरबाटो खन्न प्रयोग भइरहेको बा २ क ३८२० नं.को डोजरमाथि आगजनी भएको छ । रातको करिव १२ बजेको समयमा यस्तो घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ ।
भिमगीठेदेखि रणसिंहकिटेनी जोड्ने उक्त मोटरबाटो निर्माणको पहिलो चरणमा भिमगिठेकै टुनिवोटसम्म १५ किलो मिटर खन्ने गरि सम्झौता भएको मोटरबाटो निर्माण समितिका अध्यक्ष यामबहादुर श्रीसले बताए । स्थानीय दिनेश शर्मा र खगेन्द्र क्मार बुढाले मोटरबाटो निर्माणका लागि श्रेष्ठ निर्माण सेवा पाल्पाबाट डोजर भाडामा लिई काम सुरु गरिएको बताईएको छ ।
मोटरबाटो निर्माणमा स्थानीय केही व्यक्तिले असहमति प्रकट गरेको स्थानीयको भनाई छ । विकास निर्माणको काममा प्रयोग भएको निर्माणका साधनमै आगजनी गर्नु अपराधिक मानसिकता भएको भन्दै यस्ता मान्छेहरुलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही थालिने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।
उक्त मोटरबाटो निर्माणका लागि साँसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख, जिल्ला विकास समिति मातहत सडक डिभिजन कार्यालयबाट ८ लाख भिमगीठे गाविसबाट ५ लाख तथा रणसिंहकिटेनी गाविसबाट ५ लाख गरि कुल २८ लाखको लागतमा मोटरबाटो निर्माण थालिएको उपभोक्ता समितिका अध्यक्ष श्रीसले बताए । गत माघ १६ गतेबाट मोटरबाटो निर्माण सुरु गरिएकोमा इदिखोला भन्ने स्थानमा काम गर्दै रहेको र निर्माणधिन अवस्थामा सडकमै रहेको डोजरमाथि यसरी आगजनी भएको हो ।
नजिकमा बस्ती नभएका कारण एकान्त ठाउँमा यस्तो घटना भएको प्रहरीको भनाई छ । तर घटनास्थल भन्दा केही माथि गोरेटो बाटोमा ढुँगाले च्यापिएको अवस्थामा राखिएको एक कागजको पानामा थाम सैरेनी युवा ग्रुपको नामबाट, ‘‘दुनियाँको बस्ती जोखिममा पारेर बाटो खन्दा जति डोजर ल्याएपनि यस्तै हालत हुने भन्ने लेखिएको लिष्ट भेटिएको प्रहरीले जनाएको छ ।
केही आशंका गरिएका मान्छेलाई प्रहरीले निगरानी गरेको र उनीहरुमाथि प्रारम्भिक अनुसन्धान पछि घटनाको सत्यतथ्य खुल्ने प्रहरी निरीक्षक रानाले बताए । घटना भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय भिमगीठे तथा इलाका प्रहरी बुर्तिबाङको संयुक्त टोली घटनास्थलमा खटिएको बताइएको छ ।
Previous Article२०५०सम्म चीन र भारत विश्वका ठूला अर्थतन्त्र बन्ने
Next Article २०७३ माघ २६ गते बु्धबारको राशिफल