बागलुङ, २६ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार ७४ जिल्लाको अधिवेशन गरेको छ । २९ जिल्लामा सहमतिबाट र ४५ जिल्लामा निर्वाचन भएको छ । बारा जिल्लामा मात्रै अधिवेशन हुन बाँकी छ । निर्वाचन भएका ४५ मध्ये काठमाडौं र डडेल्धुराको नतिजा पनि आइसकेको छ ।प्राप्त परिणामअनुसार काठमाडौँ र भक्तपुरको अध्यक्षमा क्रमशः नवराज सिङ्खडा र दिनेश श्रेष्ठको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्वाचित भएको हो। बागलुङको अधिवेशनबाट पूर्व जिविस सभापति सुरेन्द्र खड्का अध्यक्षमा निर्वाचित भएका छन ।
‘मंगलबार राप्रपाको बाराबाहेकको ७४ जिल्लामा अधिवेशन भए, यसमा ३१ जिल्लाको नतिजा मंगलबार नै आयो,’ राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘२९ जिल्लामा सहमति र दुई जिल्लाको निर्वाचनबाट नेतृत्व चयन भएका छन् । बाँकीको नतिजा बुधबार आउँछ ।’ आगामी ६ देखि ९ फागुनसम्म काठमाडौंमा राप्रपाको एकता महाधिवेशन हुँदै छ ।
मंगलबार बेलुकासम्म आएको परिणामअनुसार डडेल्धुरा र काठमाडौं जिल्लामा मात्र निर्वाचनबाट अध्यक्ष निर्वाचित भए । जिल्ला कार्यसमितिको बाँकी पदाधिकारी भने अध्यक्षले चयन गर्नेछन् । ३१ जिल्लामा परिणाम आउँदा बहुमत अध्यक्ष थापानिकटका आएको बुझिएको छ ।
मनाङमा दीपक गुरुङ, डोल्पामा योगेन्द्र शाही, हुम्लामा कालीबहादुर शाही, धनकुटामा कुमारबहादुर थापा, भोजपुरमा डा सुरेश बस्नेत, चितवनमा बद्री तिमिल्सिना, गुल्मीमा वसन्तविक्रम पाण्डे, तनहुँमा विनोद घर्ती, झापामा अमरबहादुर विष्ट र सङ्खुवासभामा पदमकेशर कार्की निर्वाचित भएका छन्। यस्तै, सप्तरीमा उम्वेश्वर साह, ओखलढुङ्गामा राजेन्द्र गुरुङ, अर्घाखाँचीमा दीपक कुँवर, नवलपरासीमा ओमबहादुर सिंह, पाल्पामा दुलबहादुर कुँवर, डोटीमा लालबहादुर कठायत, उदयपुरमा ध्रुव रायमाझी, सर्लाहीमा प्रभाकर सिंह, अछाममा मीनबहादुर शाही, र बागलुङमा सुरेन्द्र खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ।
रामेछापमा भरत वाइवा, बाजुरामा जीतबहादुर शाही, सोलुखुम्बु भीम राई, महोत्तरी राजेश्वर राय, डडेल्धुरा हिक्मत साउद, सुनसरी रोहितबहादुर कार्की, रुपन्देहीमा सागरप्रताप राणा, ताप्लेजुङ चन्द्र मादेन, कञ्चनपुर पूर्णबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाबाट २५ सदस्य तथा १० वटा निर्वाचन क्षेत्र रहेका जिल्लामा ६५ सदस्य जिल्ला प्रतिनिधिका रूपमा छानिएका छन्।
दीपक मनांगे मनाङ अध्यक्ष
डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन् । बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता श्रेष्ठले जानकारी दिए । मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए । हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन नसकेकाले काठमाडौंमै गरिएको हो ।
प्रवक्ता श्रेष्ठले कानुनले मनांगेलाई कुनै सजाय नतोकेको भन्दै असल नागरिक भएर जसले पनि राजनीति गर्न पाउने बताए । ‘कानुनले मनांगेलाई सजाय तोकेको छैन । पार्टी जीवनमा प्रवेश गर्छु, भलाद्मी बन्छु, असल नियतले राजनीति गर्छु र असल नागरिक भएर राजनीति गर्छु भन्न जसले पनि पाइन्छ,’ श्रेष्ठले भने, ‘त्यसैले मनांगे राप्रपाको अध्यक्ष हुनुलाई अस्वाभाविक मान्न मिल्दैन ।’
मनांगे सांगठनिक अपराध गरेकोमा पटक–पटक प्रहरीबाट पक्राउ पर्दै छुट्दै आएका छन् । विशेष अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ ।
७४ जिल्लामा राप्रपा अधिवेशन, बागलुङमा खड्का
Previous Articleडिएसपीलाई स्यालुट नहान्दा ट्राफिक हवल्दार कुटिए
Next Article झण्डै १ अर्ब लगानीमा बुद्धले ल्यायो नयाँ जहाज