प्यूठान, २६ माघ – जिल्लाका एक ट्राफिक हवल्दार जिल्लाका प्रमुखहरुलाई अभिवादन नगरेको भन्दै कुटीएका छन्। स्यालुट नगरेको भन्दै हवल्दार त्रिचन्द्र बहादुर डिसी प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरबाट कुटीएका हुन्।
जिल्ला ट्राफिक कार्यालय प्यूठान मार्फत बिजुवारमा कार्यरत डिसी सोमवार दिउँसो कुटीएका हुन्। कुटपिट पछि उनलाई चार घण्टा सम्म बर्दिमै हिरासतमा राखेको समेत खुलेको छ। ट्राफिक चेकजाँचका क्रममा आफूले उहाँहरुलाई नदेखेको स्विकार्दै डिसीले आफूलाई अनाहकमा कुटपिटमा परेको दुखेसो गरे।
स्रोतका अनुसार सोमबार दिउँसो प्रजिअ जनकराज पन्त, डिएसपी रञ्जितसिंह राठौर, राष्ट्रिय अनुसन्धानका डिएसपी शेरचनबहादुर चन्द र स्थानीय विकास अधिकारी ईन्द्रप्रसाद बस्याल सँगै सवार थिए। उनीहरु चेरनेटाबाट बिजुवार तर्फ आउँदै गर्दा दाखाक्वाडीमा चेकजाँचका क्रममा जिल्ला प्रशासनको गाडी क्रस भएको थियो।
सोमवार बेलुका इलाका प्रहरी कार्यालय बिजुवारबाट झिकाएर हवल्दारलाई सोधपुछका क्रममा कुटपिटमा परेका हुन् । ‘श्रीमान डिएसपी सापबाट झिकावट भएर खलंगा गयौं’, घाइते डिसीले भने, ‘आफूलाई जिल्ला प्रहरी कार्यालयमा हतकडी लगाई कुटपिट गरीयो।’
आफूले अन्य सवारी चेकजाँचमा नदेखेर अभिवादन नगरेको अनुनय गरेपनि हतकडी लगाई कुटेको उनले आरोप लगाए । कुटपीटमा उनको देब्रे हात मर्केको छ । जिल्ला प्रहरीले घटना बाहीर ल्यान नचाहेपनि सँगै रहेका अर्का ट्राफिक जवान नारायण चौधरीले डिएसपी सापबाट तथानाम गाली गर्दै कुटपिट गरेको बताए।
करिब ४ घण्टा हिरासतमा राखीएका हवल्दार डिसीलाई डिआइजी माधव नेपालको निर्देशनमा हिरासतबाट मुक्त गरिएको खबर छ। यसबारे जिल्ला प्रहरी प्रमुख राठौरले सामान्य सोधपुछ बाहेक अन्य केही नभएको जिकिर गरे। ‘उसको बारेमा धेरैपटक अनुशासनको कुरा मकहाँ आएको हो, राठौरले भने, ‘धेरै पटक सम्झाउँदा पनि अटेर गरेपछि अफिसमै बोलाएर सामान्य सम्झाएको मात्र हुँ।’ उनका अनुसार हवल्दार डिसीले अनेकन हल्ला फैलाएर आफ्नै गल्ती लुकाउन खोजेको टिप्पणी गरे।
Previous Articleसंशोधनमा फेरि संशोधन, स्थानीय चुनाव असम्भव
Next Article ७४ जिल्लामा राप्रपा अधिवेशन, बागलुङमा खड्का