तीते करेली
कृष्णराज शर्मा
गत हप्ता देशभरि सरस्वती पूजा सम्पन्न भयो । यस दिन प्रतिकात्मक रूपमा सरस्वतीलाई सम्झेर ज्ञान, बुद्धि र विवेक बढोस् भन्ने विश्वासले उनका प्रतिमूर्ती रहेका मन्दिरहरूमा धूमधामले पूजा गरिन्छ । देश विदेशका हिन्दुहरूले सरस्वतीको पवित्र दिनको बिशेष स्मरण गरे । मलाई पनि बाल्यकाल देखि नै सरस्वतीको छाप परेको छ । मलाई छाप पार्ने मेरै बाबा आमा हुनुहुन्छ । वहाँहरूलाई पनि त यसै गरी छाप पर्यो होला ! म पनि क्रमागत ढँगले आउने नै भएँ । बालापनमा परेको छाप सितिमिति मेटिन्न । यो मेरो विश्वास हो । यही विश्वासले मलाई नियन्त्रण र उर्जा दिन्छ । यो छापको वेवास्ता गर्दा म डराउँछु । सरस्वतीको डर मान्छु । यौटाको डर भएन भने मान्छे अनुशासित रहन सक्दैन । फेरी म अनुशासित भैरहन समय क्रममा व्यक्ति नहुन पनि सक्छन् । बाबाको डर मान्थें । बाबाले छोडेर जानुभयो । आमाको डरै लाग्दैन । आमालाई सानै देखि जित्ने चलन छ । जितेको छु आमाको डर लाग्दैन । मैले अब कसको डर मानुँ ? अथवा त्यतिबेला कसको डर मान्ने ? आस्था, सिद्धान्त र समाजको डर मान्छेमा रहनु पर्दछ । कालान्तरमा छोराछोरीको पनि डर रहनु पर्दछ । अनि मात्र व्यक्ति अनुशासित रहन सक्दछ । त्यसैले मेरो डरको आस्था सरस्वती माता हुन् । यही ज्ञान आस्थाको प्रतिमूर्ती देवीको पूजा गर्नु म सत्कर्म बाट बिमुख हुन नपरोस् । सत्य सिवाय झूठ् अभिव्यक्त नहोस् । परोपकार सिवाय कसैका प्रति कूभलो चित्त नउठोस् । त्यो डरले संधै मलाई सतमार्ग र सतकर्ममा अभिप्रेरित गरिरहोस् । यही मेरो आस्थाको डरले मेरो जीवन भर क्रुर शासन लादोस्,म यो चाहन्छु । त्यसकारण मेरो आस्थाकी प्रतिमूर्ती देवी सरस्वतीको पूजा गर्छु । आरधना गर्छु । उक्त दिन मैले पनि जाने बुझे सम्मको पूजा आजा गर्दै स्मरण गरें । मैले जान्दा देखि पूजागर्ने बागलुङको कालिका भगवती मन्दिरको पश्चिम तर्फको पटाहाको माथी भीत्ताको खोपीमा विराजित सरस्वती मातालाई यसपाली पनि धूप दान गरें । मलाई अभिभावकले देखाए र थाहा पाएदेखि भगवती मन्दिरकि यि देवीलाई अघिपछि पुग्दा पनि बिर्सेर आउन्न । मेरो आस्थाकी देवीको पूजास्थल त्यही थियो । आज पर्यन्त त्यहीं पुग्दै आएको छु ।
अहिले आएर त विस्तारै विद्यालय परिसरमा सरस्वतीका मन्दिरहरू निर्माण हुन थालेका छन् । सरकारी स्कुल र बोर्डिङ् स्कुल पस्दा नपस्दै सरस्वतीको दर्शन गर्न पाईन्छ । अझ सरस्वतीको बरदान पाएर टन्न कमाएका बोर्डिङहरूले आफ्नै भवन बनाउन थालेपछि त भवनको मोहडा मै बडेमानका साक्षात् सरस्वती नै देखाउन थालिएको छ । कठै ! हामीलाई यस्तो मौका कहाँ मिल्यो र । बर्षको एकदिन सरस्वतीलाई भेटेर धूप् चढाउँदा लाग्ने समयमा जति विद्या दिन्थिन दऊतीले त्यत्तिमै चित्त बुझाएर पढियो । अहिलेका नानीबाबुहरू दिनकै दश पटक धूप चढाएर विद्या माग्न सक्छन् । तर अहिलेकि देऊतीले दिएको विद्या दिमागमा घुस्दैन,टाँसीन्छ मात्रै । घुसेको विद्याले श्रृजना गर्छ टाँसिएको विद्याले चीट चोर्छ । यही चीट चोराउने विद्याकि देवी सरस्वती लगभग बोर्डिङहरूका भित्ता भित्तामा छरपष्ट पोखिएका छन् । यि सरस्वतीहरू कलात्मक ढङ्गले कुँदेर र रँगीन पारेर आकर्षक बनाईएका हुन्छन् । यि सरस्वतीका आकृतिहरू अर्वा्चिन सत्य हुन् तापनि आकृति भित्रको गुह्य झूठ् हो । मुखमा राम राम बगलीमा छूरा हो । सरस्वतीको घोर अपमान हो । जबसम्म रूप र सारमा सारसत्व धर्म रहन्न यिनका यि सरस्वतीहरू ‘महालक्ष्मी’ सिवाय ‘सरस्वती’ हुँदै होईनन् । हुनै सक्दैनन् । हुँदै होईनन् । ढोंग हो । महाको धोखा हो । निराधार धोखा भनिएको होईन । यथेष्ठ आधार छन् । यौटा आधार यहाँ प्रश्तुत गर्न चाहन्छु ।
काठमाडौंको कलंकिमा चीया पिउँदै थियौं । उताबाट टाईसुटमा मेरा पुराना मित्र देखा परे । मलाई उनले देखे । मैले उनलाई देखेको थिईन । लटर पटर खुम्चिएको पोशाक मेरो पहिरन थियो । यस्तो पाखे मलाई कसरी देख्यो मेरो पुरानो मित्रले र मलाई जान्न गाह्रो भएन । ऊ सुकिलो थियो । सुकिलो देखाउनु थियो । मैले उसको र मेरो सर्कलमा ’उसकोपन’ सञ्चार गर्ने भरपर्दो एफएम म थिएँ । त्यसैले उसले मलाई चिन्यो । उसले मलाई बोलायो । बसियो भेट भयो । हात मिलायौं । सञ्चो बिसञ्चो साटासाट भयो । उनी अब्बल दिमागकै मित्र हुन् । आदर्शवान शिक्षक हुन् । आपसमा कुरा हुँदैजाँदा, तिमी जस्तै कति शिष्य जन्मायौ त तिम्ले पढाएको विद्यालयमा भनेर मैले सोधेको थिएँ । यस्तो शिक्षानीति र शैक्षिक बाताबरणमा म कसरी तिमिले भनेजस्ता विद्यार्थी उत्पादन गर्न सक्छु र ! भन्दै मेरो सामुन्ने लाचार व्यक्त गरे । लाचार बने । यसकारण उनी अहिले ठट्यौला भएका रहेछन् । यसो हुनुमा उनको योग्यता, शिप र ज्ञानको सही प्रयोग हुन पाएको रहेनछ । र यस्ता हाउडे भएका रहेछन् । नत्र ‘सादा जीवन उच्च विचार’लाई शीरमाथी मात्रै होईन टूप्पीमै अड्याएर राख्ने व्यक्ति थिए ति मित्र । समय र परिस्थितिको दास बन्न विवश भएपछि यस्तो भएका रहेछन् । त्यही कलंकीको कुराकानीको क्रममा सबै थाहा लाग्यो । र उनले त्यस बीचमा सुनाएको मर्मस्पर्शी कुरा अस्तिको सरस्वती पूजाको दिन ताजा बनेर मेरो अगाडी आएको थियो ।
मित्रले आफ्ना विद्यार्थीलाई पढाउँदा निकै मिहिनेत गरेर पढाउँथे । विद्यार्थीको रचनात्मक र श्रृजनात्मक क्षमताको विकास होस् भन्ने उनी चाहन्थे । आफुले पढाएका विद्यार्थीलाई आफै प्रश्नपत्र तयार गरेर प्रिन्सिपललाई बुझाए । यस्ता कडा प्रश्न किन बनाएको भनेर प्रिन्सिपलको हप्की खाए । ति लगेर सरल प्रश्नपत्र ल्याउन लगाए । विद्यार्थी श्रृजनात्मक बनुन् भन्ने कुरा विद्यालयका प्रिन्सिपललाई अपाच्य भयो । यस्तो पढाईले विद्यालयको बदनाम हुन्छ । विद्यार्थी आकर्षित गर्न सकिंदैन । यसरी पढाउने भए विदेश जानुस् यहाँ यस्तो पाराले हुँदैन भनेपछि शिक्षण पेशामा यु–टर्न भएका रहेछन् । यहाँ त नबुझ्ने नपढाउने । बुझ्ने मात्र पढाउने गर्नुपर्छ । आन्तरिक परिक्षामा सरल प्रश्न राख्नु पर्छ,ताकि विद्यार्थीले सजिलै उत्तर दिन सकोस् । जटील प्रश्नको जवाफ दिन सक्दैन । अंक दिन सकिंदैन । अभिभावकले राम्रो पढाई भएन भनेर छोराछोरी बाहिर लैजान्छन् । यसो भयो भने स्कुल घाटामा जान्छ । तपाईंको पारिश्रमिक पनि न्यून हुन जान्छ । यसले गर्दा न तपाईंलाई फाईदा, न स्कुललाई फाईदा हुन्छ । हामीले त विद्यार्थीले सहजै सबै प्रश्न हल गरेको देखाउनै पर्छ । विद्यार्थीले अधिकाधिक अंक प्राप्त गरेको कापी विद्यार्थीलाई घर लगेर ममी ड्याडीलाई देखाउन पठाउनु पर्छ । उनीहरू मख्ख पर्छन् । त्यसपछि जति शुल्क बढाए पनि अभिभावक बोल्दैनन हाम्रो बिरूद्धमा । विद्यार्थी पनि बाहिर जाँदैनन् । उल्टै, हाम्रो बदमासीको रक्षाकवच् अभिभावक नै हुन्छन् । यसो पो हो काईदा ! भन्दै ति मित्रलाई सम्झाएछन् ।
प्रिन्सिपलका यि सबैकुरा सुनेर बेलुका भाडाको कोठामा पुगे । बिच्छौनामा डङलङ्ग पल्टेर धेरै मथिङ्गल मथे । उनको आदर्शको नौनी घ्यू जति मदानी बटारे पनि निस्केन । खाँट्टी घ्यू त कता हो कताको कुरा भयो । त्यसपछि निष्कर्ष निकाले र भने– “अब छोड्दे भैरे आदर्शका कुरा ! प्रिन्सिपलका कुराका पछि लाग् । मालामाल भै । ट्यूशन पढा भैरे,ट्यूशन पढा । यस्ता वाईहात् आदर्श नबोक् । बुझिस् भैरे !“ भोलीपल्ट देखि यो भैरेमा आमूल परिवर्त आयो । त्यस पछिको जो भैरे छ, त्यही मेरो पुरानो भलाद्मी मित्र हो । यसपछि ति मित्रको ‘ब्रेन वास्’ भएर योग्यता क्षमताको भन्दा फाईदाको कदर हुने ठानेर जसो जसो प्रिन्सिपल उसै उसै स्वाहा ! भन्दै त्यस दिन देखि काठमाण्डुका ‘मास्टर’ बनेछन् । यो यौटा प्रतिनिधि घटना मात्रै हो । यसरी श्रृजित घटनाहरूले रचनात्मक र श्रृजनात्मक भन्दा घोकन्ते विद्याले हाम्रा केटाकेटीहरू सुशोभित छन् । अनि तिनै स्कुलका सरस्वतीहरू बर्षमा एकदिन सरस्वतीको रूप धारण गर्छन् बाँकी तीनशय चौसट्ठी दिन लक्ष्मीको रूप धारण गर्छन् ।
विद्यार्थी जीवनमा मात्रै होईन, जीवनको उत्तरार्धमा पुग्दा पनि असल विद्या हासिल गर्न जो कोही लालायित हुनु पर्दछ । मान्छे जीवन छउञ्जेल विद्याको भोको हुन्छ । विद्याको भोक प्यास मान्छेको श्वास चलुञ्जेल रहनु पर्दछ । यदी यसो भएन भने मान्छेको चोलामा हामी छैनौं भन्दा हुन्छ । यही मान्यतामा सरस्वती संग म संधै भीखारी बनेर पुग्छु । उनको विशेष उत्सवमा मात्रै होईन अघि पछि पनि । आज भीखारी बनेर मन्दिर पुगें । म मेरो कुनै औपचारिक शिक्षामा बढोत्तरी होस् भन्ने ठाउँमा छैन । विश्राम लिएको औपचारिक शिक्षामा थप अध्ययनशीलता, नविन सोंच, चिन्तन शक्ति र कल्पनाशीलताको विकास भैरहोस् भन्ने भीख म मागी रहन्छु । यही भीख माग्दै नीधारले छोएं भगवती मन्दिरकि बालसखा देऊतीलाई । मेरो ज्ञान आस्थाको देवी सरस्वतीलाई ।
यिनै मेरो आस्थालाई ढोगेर घर फर्कंदा बाटो बाटोमा बोर्डिङका सरस्वती कार्यक्रमका भयंकर आवाजले मेरो कान खायो । यसो बोर्डिङ भित्र मूल गेटबाट चिह्याउँथे । बच्चाहरू तँछाड् मछाड्मा देखिन्थे । भुलभुलैयाका पुरस्कारहरू थाप्न बच्चाहरू यसो गरेको देखें । कलंकीमा भेट भएका मित्रको सबैकुरा संझें । सय पचासका कापी कलम पुरस्कार पाउँदा रमाएका बच्चाहरू औधी खुशी देखिन्थे । नीधार र गालामा पोतीएको रातो अबीरले थप हौशला दिएको थियो । दिमागमा घुसाएको भन्दा टाँसेको विद्याले निश्चित रूपमा विद्यार्थी ’उत्कृष्ठ’ हुनेछ । बाऊ आमा मख्ख पर्नेछन् । शिक्षाको क्वालिटी नजान्ने बाऊ आमालाई छोराछोरीको मुहारको रातो अबीर देखेर स्कुलका प्रिन्सिपललाई थ्याङ्क यू सर ! भन्नेछन् । यो अभिनयको शिलशीला निरन्तर रहनेछ । यसपछि फेरी काठमाण्डौको कलंकीमा भेटिएका मित्रको संवाद संझें ।
सरस्वती पूजाको अबसरमा आयोजना हुने साँस्कृतिक कार्यक्रमले पनि अनौठा आकर्षण दिएको छ । उमेर अगावै फेशन र मेकअपमा विद्यार्थीको ध्यान केन्द्रित गरेको छ । यसबाट पनि विद्यार्थीको अध्ययनमा भन्दा बढी मनोरञ्जनमा ध्यान मोडिएको छ । विद्यालयका प्रिन्सिपल नै बेविचारी बनेका थुप्रै उदाहरण छन् । बागलुङमै पनि एउटा घटना गुपचूपमा लुकेको धेरैपछि आएर कानेखुशीमा सुन्न पाईन्छ । यसो हुनुमा विद्यालय भित्रका व्यविचारी गतिविधिमा निगरानी हुनु जरूरी छ । यस्ता कुरामा आम अभिभावक अनभिज्ञ छन् । यिनै कुरा सोच्दा सोच्दै अर्को विद्यालयको सामुन्ने बाट गुज्रंदै गर्दा सुनेको गीतले मेरा पाईला टक्क अडिए । सुनें यो गीत । मैले भल्गर गीत भन्छु यसलाई । त्यही गीतमा बालबालिकाहरू नाच्दै थिए । माईकको ठूलो आवाजमा गीतले भन्दै थियो–
‘जहिले रिसाउनी नीर,
जहिले रिसाउनी नीर,
कहिले होला मायाँसंग
मायाँ मिसाउनी ?’
यो गीतले सरस्वती पूजाको पवित्र दिनमा ति कलिला विद्यार्थीको दिमागमा के मिसाई दियो होला ! मलाई अन्य विद्यालयमा पनि थुप्रै यौन अभिप्रेरणा जगाउने गीत सुनेभन्दा यो गीतले मेरो बढी ध्यान खिंचेको थियो । हाम्रा परम्परागत मूल्य र मान्यतामा कस्तो घोल मिसाउन थालियो । यि र यस्ता गतिबिधिमा थोरै नियन्त्रणको जरूरी त छदैंछ । कलिला विद्यार्थीका लागि कस्तो शैक्षिक बाताबरण हुनुपर्ने हो ? त्यतापट्टी कसैको ध्यान छैन । सरस्वती मन्दिरहरू लक्ष्मीनारायणका मन्दिरमा परिणत हुँदै गएपछि देशका भविष्यका कर्णाधार कस्ता होलान् ? उसै त देश अकर्मण्यताले भरिएर लथालिङ्ग बन्दैछ । झन् हाम्रा विद्यालयलका शैक्षिक बातावरणमा मौलाएका यस्ता विकृतिले भोलीको नेपाल कस्तो होला ? सरस्वतीको आँगनमा द्रब्य पिचासको यस्तो नाच् कहिले सम्म हेर्ने ? यि प्रश्नहरूको जवाफ कसले हो दिने ? यतापट्टी बेलैमा सरोकारवाला सबैको गंभीर चासो बनोस् !जय सरस्वती माता !!!
Previous Articleमैदान संरक्षणमा दायित्व
Next Article युनिभर्सल सवलाइम एकेडेमीको वार्षिकोत्सव