बागलुङ, २२ माघ – एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले निर्वाचन मार्फत संविधान कार्यान्वयन नभए लोकमान र खिलराजहरुको जन्म हुने टिप्पणी गरेका छन् ।
प्रेस चौतारी नेपाल बागलुङ शाखाले आयोजना गरेको १९ औं स्थापना दिवश तथा प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदानको अवसरमा शनिवार बोल्दै थापाले सर्वदलीय सरकार बनाएर सबै निर्वाचन एउटै मितिमा गर्ने कार्यतालिका बनाउनुपर्नेमा जोड समेत दिए । उनले सबै निर्वाचन एकैपटक नभए संविधान कार्यान्वयन जटिल बन्दै गएको बताएका हुन् । उक्त पुरस्कारबाट पत्रकार हरिनारायण गौतम पुरस्कृत भएका थिए ।
जनप्रतिनिधिहरुको अभावमा देशमा फेरी खिलराजहरु आएभने संविधान कार्यान्वयनमा जटिलता र प्रजातन्त्रमा निरंकुशता हावी हुने दावी गरे । ‘सहमतिको सरकार गठन गरेर निर्वाचनमा नगएसम्म संविधान कार्यान्वयन जटिल छ’ उनले भने, ‘काँग्रेस नेता देउवाको आँखा कुर्सीमा भएकोले उनलाइ त्यहाँ पुग्न नदिने गरी बामपन्थी एकता आवस्यक छ ।’ उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल चैतपछि हट्ने भएकोले देउवाको नेतृत्वमा निर्वाचनमा जान नहुने जिकिर पनि गरे । बामपन्थीहरु चारैतिर फैलिएर फुट्ने प्रवृत्तिले बहुमत भएर पनि राज्यसत्ता भन्दा बाहिर रहनुपरेको उनले बताए । थापाले संविधान शंशोधन अहिले आवस्यक नभएको पनि बताएका छन् । उनले जनताको चाहना अनुृसार निर्वाचनबाट आउने परिणामले मात्र संविधान संशोधन गर्न सक्ने भन्दै ९० प्रतिशतले पारित गरेको संविधान शंसोधनको नारा लगाउनु अप्राकृतिक भएको दावी गरे । ‘एमालेले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्धालाइ थाती राखेर सहमतिमा गइ संविधान जारी गरेको हो, त्यो अहिले संशोधनको नाउँमा ल्याउन मिल्दैन’ उनले भने, ‘त्यस्तै बिषय अहिले संशोधनको नाउँमा ल्याइएको छ, त्यो मान्य हुँदैन ।’ उनले आफ्नो दलले कुनैदिन दुइ तिहाई ल्याउन सक्यो भने मात्र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा जाने गरी संशोधन ल्याउने बताए । संशोधनको बिषय थाती राखेर निर्वाचनमा जानुपर्ने उनको जोड थियो ।
कार्यक्रममा चौतारी प्रदेश नम्बर ४ का संयोजक गणेश पाण्डे, एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका सचिव दिल शिरिष, प्रेस सेन्टरका अध्यक्ष राम थापा अविरल, प्रगतीशिल पत्रकार संघका बिजय राना लगायतले बोलेका थिए । चौतारीका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, सचिव सिर्जना पन्तको संचालन र उपाध्यक्ष नविन शिसिरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७३ पत्रकार गौतमलाई
बागलुङर पत्रकार हरिनारायण गौतम प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रममा एमाले प्रचार विभागका उप प्रमुख सूर्य थापाले पुरस्कार प्रदान गरेका थिए । प्रेस चौतारीले स्थापना गरेको अक्षयकोष मार्फत १० हजार १ सय ११ रुपैयाँ नगद सहित गौतमलाइ पुरस्कृत गरिएको हो ।
दुइ दशक देखि मोफसलमा रहेर निरन्तर पत्रकारिता गरेको कारण उनलाइ यो पुरस्कार दिइएको चौतारीका अध्यक्ष उमाकान्त शर्माले बताए ।
जिल्ला भित्रै रहेर र राजधानीका विभिन्न संचार माध्यममा रिर्पोटिङ गरेका गौतमकै सम्पादनमा बागलुङबाट ढोरपाटन दैनिक प्रकाशन भैरहेको छ । पहिलो चरणमा मिसन पत्रकारिता हुँदै व्यवसायिक पत्रकारिता भित्राउन गौतमले योगदान गरेको पुरस्कार वितरण समारोहका सहभागिले बताए । सशष्त्र द्वन्द्वकालमा बेनी आक्रमण देखि विभिन्न घटनाको रिर्पोटिङ गरेको कारण उनले सेना र माओवादी तर्फबाट विभिन्न समस्या समेत भोगेका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक समेत रहेका गौतमले चौतारीले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कार पनि यस अघि पाइसकेका छन् ।