बागलुङ, १९ माघ -बुर्तिबाङका राजनीतिक दल तथा सरोकारवालाले बुर्तिबाङ नयाँ शहर आयोजनाको काम सुस्त गतिमा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बुर्तिबाङ नयाँ शहर आयोजनाको कार्यालयमा मंगलबार भएको छलफल कार्यक्रमका सहभागीले अपेक्षाअनुसार काम नभएकाले नयाँ शहर आयोजना बुर्तिबाङबाट फिर्ता हुने चर्चा चलेको भन्दै कुनैपनि हालतमा फिर्ता हुने अवस्था आउन दिन नहुने बताएका थिए ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका निलबहादुर पुनले जुनसुकै बहानामा नयाँ शहर आयोजना फिर्ता भए जनताले नछोड्ने भन्दै नगरविकास समितिले आयोजनाको कामलाई तिब्र गतिमा अघि बढाउनुपर्ने बताए ।
नेकपा एमालेका टंकप्रसाद पौडेलले आयोजनाका लागि आएको बजेट खर्च हुन नसकेर फिर्ता भएको, पुर्वाधार विकास तथा जग्गा खरिदको काम अपेक्षाअनुसार हुन नसकेको हुँदा बुर्तिबाङबाट नयाँ शहर अन्यत्र सार्ने तयारी भएको हल्ला चलेको बताए । उनले किन र कसका कारणले फिर्ता हुने अबस्था आएको हो ? भन्ने प्रश्न गर्दै बुर्तिबाङ नगरविकास समितिको कार्यसम्पादन प्रभावकारी नभएकोप्रति ध्यानाकर्षण गराएका थिए ।
नेपाली काँग्रेसका ईन्द्र मल्लले नयाँ शहर आयोजनाका प्राविधिकले पनि विकासको काममा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेकपमा माओवादी केन्द्रका चन्द्र अर्यालले नयाँ शहरका लागि आएको बजेट विगतमा खर्च हुन नसकेर फिर्ता हुने गरेको भन्दै यो बर्ष पनि बजेट फर्किने अबस्था आउन सक्ने तर्फ चिन्ता व्यक्त गरे ।
उनले नयाँ शहर फिर्ता हुने अबस्था आए फलानो व्यक्ति र पार्टिको नेतृत्व रहँदा फर्कियो भनेर कसैलाई राजनीति गर्न त सजिलो होला तर बुर्तिबाङ र बागलुङको विकासमा बर्षौँ पछि पर्नुपर्ने तर्क गरे ।
राष्ट्रिय जनमोर्चाका गौरीश्वर पाण्डेले दुर्गम ठाउँमा आएको विकास फेरी गुम्ने अबस्था आए नेतृत्वमा रहनेले स्वभाविक रुपमा बढी जिम्मेवारी लिनुपर्ने भएपनि समग्र बुर्तिबाङबासीको लागि एउटा ठुलो अबसर गुम्ने बताए । उनले के र कस्को कमजोरीका कारण फर्किन लागेको हो ? भन्दै पहिलो जिम्मेवारी नगरविकास समितिको हुने तर्क गरे ।
उद्योग वाणिज्य संघ बुर्तिबाङ इकाईका अध्यक्ष चिन्तामणी शर्माले शहर विकासका लागि विगतमा बनाईएका योजना कार्यान्वयनमा आउन नसकेको बताए । बुर्तिबाङ नगरविकास समितिका अध्यक्ष अर्जुन शेरचनले बुर्तिबाङ नयाँ शहर आयोजनाको बारेमा सबै पक्षबाट गम्भिर चासो देखिनु सकारात्मक भएको भन्दै शहर फिर्किदै छ भन्ने हल्ला मात्र भएको बताए । तर उनले काम गर्ने क्रममा बढि विवाद हुने गरेकाले काम नभए फिर्ता हुनसक्ने दबाव आयोजनाको माथिल्लो तहबाट आफुलाई पनि आउने गरेको बताए ।
शेरचनले टारीखेतमा जग्गा विकास योजना निर्माणको क्रममा मुद्धा परेकाले काम रोकिएको बताए । उनले नयाँ शहरको लागि योजना बनिरहेको भन्दै स्थानिय असन्तुष्टिले काम गर्न अप्ठ्यारो भएको बताए ।
बुर्तिबाङ बाजरमा अहिले भईरहेको ढल व्यवस्थापन, सडक स्तरोन्नती जस्ता काममा पनि अबरोध भईरहेको उनको भनाई थियो । छलफलबाट समस्या परेका ठाउँमा नगरविकास समितिलाई सहयोग गर्नका लागि सर्वदलिय समिति गठन गरिएको छ ।
समितिमा स्थानिय रुपमा क्रियाशिल सम्पुर्ण राजनीतिक दलका अगुवा नेताहरु रहेका छन् । छलफल कार्यक्रम स्थानिय राजनितिक दलको समन्वयमा भएको थियो ।