बागलुङ, १९ माघ – देशको आर्थिक विकासका लागि पर्यटन प्रवद्र्धन बलियो र भरपर्दो आधार भएको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् ।
नेपाल पत्रकार महासंघले आयोजना गरेको पर्यटन पत्रकारिता तािलमका सहभागिले स्थानीय साधनश्रोतबाटै आर्थिक विकास गर्न सकिने आधार पर्यटन भएको पनि बताए ।
सांसद प्रकाश शर्मा पौडेलले संसद विकास कोषबाट दिएको आर्थिक सहयोग, पर्यटन बोर्डको समन्वयमा भएको उक्त तालिममा जिल्ला भित्रका नयाँ गन्तव्यको खोजीगर्ने र प्रवद्र्धन गर्ने काममा पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिइएको हो ।
उक्त अवसरमा सांसद प्रकाश शर्मा पौडेलले पत्रकारले नीति निर्माता र कर्मचारीलाइ काम गर्न बाध्य पार्न सक्ने र स्थानीयको आवाज बाहिर ल्याउन सक्ने भएकोले पहल गर्नुपर्ने धारणा राखे । साथै उनले थोरै पत्रकारले बुझेको कुरा सबै जनताले सूचना पाएर जानकार हुने भएकोले पत्रकारहरु दक्ष बन्न आवस्यक भएको पनि उनले बताए । साथै महासंघको संस्थागत विकास र हरेक पत्रकारको क्षमता विकास आवस्यक भएको बुझेर सहयोग गरेको समेत बताए ।
कार्यक्रममा प्रजिअ भागिरथ पाण्डेयले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र विकास जस्ता विषयमा कलम चलाउनेले आफ्नो क्षमता र दक्षता बढाउन आवस्यक भएको पनि बताए ।
उनले त्यसका लागि तालिम लिएर पाएको ज्ञानलाइ व्यवहारमा उर्तान पनि आग्रह गरे । तालिममा पर्यटन क्षेत्रका अग्रज पत्रकार अमृत भादगाउँले, पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलिया लगायतले पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका बारेमा बोलेका थिए ।
तालिमपछि सैद्धान्तिक बिषयलाइ व्यवहारमा उर्ताने अभियान थाल्ने पत्रकारहरुले प्रतिवद्धता पनि जनाए । साथै बागलुङको हकमा ढोरपाटन शिकार आरक्ष देखि गाजा, घुम्टे, गलकोट, संसारकोट, सर्वसिद्धिधाम, भकुण्डे लगायतका पर्यटकीय स्थानको प्रवद्र्धनमा सबै मिलेर अभियान संचालन गर्नुपर्नेमा सहभागिले जोड समेत दिएका थिए ।
पत्रकारको क्षमता विकास गर्न सकेमा जिल्लाका धेरै बिषयलाइ संचारमाध्यम मार्फत उजागर गरेर आर्थिक विकासमा समेत टेवा दिन सकिने महासंघले लक्ष राखेको अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।
विभिन्न समयमा फरक क्षेत्रको तालिम पाएमा पत्रकारले आफ्नो लेखनमा गुणस्तरीयता ल्याउन सक्ने पनि उनको भनाइ थियो । तालिममा जिल्लाका क्रियाशिल ३० जना पत्रकारको सहभागिता थियो ।
महासंघका जिल्ला अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, सचिव दिल शिरिषको संचालन र उपाध्यक्ष दिलीप पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका सभापति दिपेन्द्र थापा, एमाले अध्यक्ष इन्द्रलाल सापकोटा, माओवादी केन्द्रका ज्ञामनाथ गैह्रे, राष्ट्रिय जनमोर्चाका लक्ष्मी बाँस्कोटा, राप्रपाका शैलेन्द्र श्रेष्ठ, स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य लगायतले बोलेका थिए ।
Previous Article१९ माघ २०७३, ढोरपाटन दैनिक
Next Article आयोजना फर्किने चर्चाले थपियो चिन्ता