बागलुङ, १७ माघ – नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखा बागलुङले क्यान्सर पीडित र आँखा रोगीलाई आईतबारसहयोग हस्तान्तरण गरेको छ ।
उपशाखाले बागलुङ नगरपालिका वडा नम्बर ८ भान्साका क्यान्सर रोगबाट ग्रसित बनी हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत चन्द्रबहादुर केसीका लाई १० हजार १ सय तथा मालिका ५ मा वसोवास गर्ने आँखा रोगबाट पीडित बनेका नगेन्द्र कंडेललाई ४ हजार रकम हस्तान्तरण गरेको हो । क्यान्सर पीडित केसीले हाल भरतपुर क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराईराखेका छन् ।
उपशाखाले आईतबार क्यान्सर रोगबाट पीडित बनेका केसीका भाई तिलक बहादुर केसीलाई र आँखा रोगबाट पीडित बनेका नगेन्द्र कंडेललाई नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जब्बर बहादुर लामिछानेले उक्त रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति लामिछानेले रेडक्रसले सधैं पिडामा रहेका नागरिकहरुको सेवमा काम गर्ने बताए ।
उनले रेडक्रस सोसाईटी मालिका उपशाखाले गरेको सहयोग थोरै भएपनि पीडितको उपचारमा सहज आउने भएकाले सम्पुर्णलाई सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा मालिकाका धरणीधर सापकोटा, भिम बहादुर केसी र तिलक केसीले बोलेका थिए । उक्त अवसरमा मालिका उपशाखाले मालिका गाविसमा प्रवेश गर्ने सम्पूर्ण पर्यटकको लागि स्थापना गरेको होर्डिङ बोडको पनि उत्घाटन गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाका सभापति रवि प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत उपसभापति कोपिला खरेल सापकोटा र संचालन सचिव रेशम सापकोटाले गरेका थिए ।