काठमाडौं, १६ माघ – त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिकासहित आचारसंहिता सम्बन्धी निर्देशिका जारी गरेको छ । मिश्रित प्रणालीअनुसार हुने स्ववियुको निर्वाचनमा विद्युतीय मतदानबाट सम्पन्न गराउने प्रयास जारी रहेको त्रिविका प्रवक्ता प्राध्यापक भोला ढकालले बताए ।
‘विद्युतीय मतदान गराउने प्रयासमा छौं, सम्भावनाको खोजी जारी छ,’ निर्णय भई नसकेको उल्लेख गर्दै उनले भने, ‘विद्युतीय मतदान गराउन सके छिटोछरितो र विश्वसनीय हुने ठानेका छौं ।’ त्रिविले आचारसंहिता जारी भएसँगै कुनै पनि विद्यार्थी संघ/संगठन वा समूहले क्याम्पसको कम्पाउण्ड वालको बाहिर पट्टी, भित्र पट्टी र क्याम्पस परिसरमा वाल पेन्टिङ गर्न बन्द भएको छ । निर्वाचन सम्बन्धी तुल, फ्लेक्स र कुनै पनि प्रकारको पोस्टर टाँस्न पाउने छैनन् ।
‘त्रिवि वा क्याम्पसलाई हानि नोक्सानी हुने कुनै प्रकारको प्रचार प्रसार गर्न पाइने छैन,’ सातबुँदे आचारसंहितमा छ, ‘क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका संघ, संगठन, समूह वा स्वतन्त्र उम्मेदवारहरुलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम निर्वाचन समितिले संचालन गर्ने र उक्त कार्यक्रममा एक अर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्य बोल्न पाइने छैन ।’
प्रत्येक संघ, संगठन, समूह र स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावलीको एफो साइजको एक रंग भएको पर्चामात्रै निकालेर प्रचार प्रसार गर्न पाउने छन् । क्याम्पस हाताभित्र माइकबाट प्रचार प्रसार गर्न नपाइने भएको छ । ‘बन्देज गरिएका उपरोक्त कार्य कसैले गरेको पाइएमा तुरुन्तै हटाउन लगाउनुुपर्नेछ,’ भनिएको छ, ‘नहटाइएको पाइएमा क्याम्पस प्रशासनले हटाउने छ ।’ साथै, मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रचार प्रसार गर्न पाइने छैन ।
त्रिविले स्ववियु निर्वाचन घोषणा गरेको मितिबाटै सम्पूर्ण क्याम्पसमा प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरेको जनाएको छ । ‘साथै दोस्रो, तेस्रो र चौथो वर्ष एवं दोस्रो सेमेष्ट देखि अन्तिम सेमेष्टरको भर्ना क्याम्पसले मिति तोकि व्यवस्था गर्नु पर्ने छ ,’ निर्देशिकामा छ, ‘तर सेमेष्टर प्रणालीमा संचालित कार्यक्रममा प्रवेश परीक्षा उत्तीर्ण भइसकेका कोटाभित्र भर्ना हुनेको हकमा भने मतदातासूचि प्रकाशित हुने मिति भन्दा एकदिन अगाडिसम्म नियमानुसार भर्ना गर्न पाइनेछ ।’
जनआन्दोलनका घाइते कार्ड, सहिद परिवारको सदस्य र अपांग सुविधामा क्याम्पसमा भर्ना गर्दा त्रिविको निर्णय अनुसार विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको अनिवार्य रुपमा सिफारिश पत्र ल्याएमा मात्र मतदाता सूचीमा नामावली समावेश गर्न दिइने भनिएको छ ।मिश्रित प्रणालीअनुसार हुने चुनावमा स्ववियु निर्वाचन निर्देशिका–२०७३ को (झ) मा भनिएको छ, ‘उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन २८ वर्ष ननाघेको र मतदाता सूचीमा नाम भएको विद्यार्थीले स्ववियु कार्य समितिको कुनै एक पदको (पदाधिकारी वा सदस्यको) लागि मात्रै उम्मेदवारी दिन सक्नेछ ।’ विद्यार्थीले प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने पदको लागि संघ, संगठन, समूह वा स्वतन्त्र रुपमा निर्वाचनमा उम्मेदवारी दिन सक्नेछन् । ‘सहमतिका आधारमा मतपत्र तयार पार्दा समूहगत/संगठनात्मक रूपमा तयार पार्न सकिनेछ,’ भनिएको छ, ‘मतपत्रमा संगठन वा समूहको नाम राख्दा उम्मेदवारी दर्ता भएको क्रमसंख्या अनुसार राखिनेछ ।’
समानुपातिकतर्फको सदस्य पदको उम्मेदवारको नामावली संघ, संगठन वा समूहले सिलबन्दी खाममा तोकिएबमोजिम संख्यामा मात्र निर्वाचन समितिसमक्ष तोकिएको मिति र समय भित्र बुझाउनु पर्नेछ । ‘एकपटक बुझाइसकेपछि उक्त सिलबन्दी खाममा कुनै हेर फेर गर्न पाइने छैन,’ भनिएको छ । प्रत्यक्ष र समानुपातिक तर्फका लागि अलग अलग मतपत्र हुनेछ भने समानुपातिक मतपत्रमा संगठनको नाम राखिनेछ । प्रत्यक्षतर्फका उम्मेदवार भएका व्यक्तिले समानुपातिकतर्फ उम्मेदवार हुन पाउने छैन ।
त्रिविको तालिकाअनुसार आगामी फागुन १ गते मतदाता सूचि प्रकाशन गर्ने, ३ गते दावीविरोध र छानबिन गर्नेछ । ४ गते उम्मदवारको मनोनयपत्र वितरण, ५ गते उम्मेदवारको मनोनयन सिलबन्दी नामावली दाखिला गर्ने र प्रत्यक्षतर्फको नामावली प्रकाशन गरिने छ । उम्मेदवारको दावीविरोध तथा छानविन, फागुन ८ गते नाम र्फिता र अन्तिम नामावली प्रकाशन गरिनेछ ।
विद्यार्थी संघ/संगठनले स्ववियु निर्वाचन आचारसंहिता र तालिकाको स्वागत गरेका छन् । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले विज्ञप्ति जारी गर्दै सबै कलेजमा चुनावी कमान्डर तोकेको जनाएको छ ।
‘फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर स्ववियु सभापतिका उम्मेदवार सार्वजनिक गर्छौं,’ अध्यक्ष नरेन्द्र न्यौपानेले विज्ञप्तिमा भनेका छन्, ‘स्ववियु निर्वाचनलाई स्वस्थ्य, निषपक्ष र धांदलीरहित वातावरणमा सम्पन्न गर्न सवैले मेहनत गर्नुपर्छ । निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्छ र गर्छौं ।’
अनेरास्ववियुकी अध्यक्ष नबिना लामा अब चाँडै सबै विद्यार्थी संगठनहरु सामूहिक पत्रकार सम्मेलन गर्ने बताइन् । त्यसैगरी नेविसंघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचन प्रक्रियाबाट कुनै हालतमा पछाडि नहट्ने बताए ।
‘ठूलो विद्यार्थी संगठन हुनुको नाताले स्ववियु निर्वाचन तालिका सार्वजनिक भएलगत्तै अन्य संगठनहरुसित समन्वय गर्ने क्रममा छौं,’ महरले भने, ‘प्राविधिक रुपमा केही त्रुटि सच्याउन र विद्यार्थीलाई अवसर दिलाउन त्रिवि पदाधिकारीसित सामूहिक अनुरोध गर्दैछौं ।’
त्रिविले स्ववियु निर्वाचनको आचारसंहिता जारी गर्यो
Previous Article‘९७ सालमा हाम्रो छुट्टै राष्ट्रिय गान थियो’
Next Article राष्ट्रिय एकताको विपक्षमा एमाले उभिन सक्दैन – गुरुङ