म पाटनमा १९८१ कात्र्तिक १४ गते जन्में। छ वर्षको हुँदानहुँदै आमा बित्नुभएपछि म भाइहरूसँगै काठमाडौं मावलीमा बस्न थालें। मैले त्यहींको दरबार हाइस्कुल र तीनधारा पाठशालामा पढें। १९९० सालको भुइँचालो जाँदाको दिन म मावलीबाट घरमा आएको थिएँ। घरबाहिर खेलिरहेको बेला अचानकै भुइँचालो आयो। म त्यतिखेर नौ वर्षको मात्रै थिएँ। घर भत्कँदा म त्यसैको गाह्रोमा पुरिएँ। सानिमाले मलाई बोलाउनुभयो। मैले इटाको थुप्रोभित्रैबाट ‘हजुर!’ भनें। सानिमा र अरु मान्छेहरू मिलेर मलाई बाहिर निकाल्नुभयो। त्यतिखेर मेरो निधार फुटेको थियो। अरु अंगमा पनि चोटपटक लागेको थियो। त्यसपछि ठूलाबाले मलाई वीर अस्पताल लैजानुभयो। पछि मावलीका बाजेले लैनचौरको अंग्रेजले स्थापना गरेको मिसन अस्पतालमा लगेर उपचार गराउनुभयो। अहिले सम्झन्छु– त्यो भुइँचालोमा कसैले थाहा नपाउने गरी खुत्रुक्क परेको भए यो अहिलेको दुनियाँ भोग्नै नपाइने रहेछ।
आमा सानैमा बितेपछि बुबाले सानिमालाई बिहे गर्नुभयो। हामी त आमा बित्नासाथ मावलीमा गएर बस्न थाल्यौं, कहिलेकाहीं मात्रै घरमा आउँथ्यौं। तर, सानिमाले हामीलाई राम्रो व्यवहार गर्नुहुँदैनथ्यो। १४/१५ वर्षको ठिटो भइसक्दा पनि मैले पटकपटक सानिमाको कुटाइ खाइरहन्थें। त्यतिखेर हामी केटाकेटी साथीहरू मिलेर कुम्भेश्वरको पोखरीमा र बागमती नदीतिर पौडी खेल्न जान्थ्यौं। सैंचा भन्ने मेरो त्यतिखेरको खुबै मिल्ने साथी थियो। भरत, गजानन्द जोशी भन्ने साथीहरू पनि थिए। उनीहरूसित म बास्केटबल खेल्थें। बगलामुखी भन्ने हाम्रो बास्केटबलको टिम थियो। त्यसले एउटा प्रतियोगितामा त्रिचन्द्र कलेजको टिमलाई हराइदिएको थियो। त्यतिबेला मलाई त्यो विजयले खुबै खुशी बनाएको थियो। बालादिनमा म सबैभन्दा बढी खुशी भएको सायद त्यतिबेलै हो।
१९९७ सालको सहिद काण्डको प्रेरणा
केटाकेटीमा त राजनीतिबारे के थाहा हुन्थ्यो र? १९९७ सालमा शुक्रराज शास्त्री र धर्मभक्तलाई झुण्ड्याएको हेरेर फर्कंदा मलाई एकदमै गहिरो छाप पर्यो, मन विचलित भयो। त्यही घटना हेरेर फर्कँदा बागमतीको पुलमा मलाई एकजना मान्छेले यो घटना कस्तो लाग्यो भनेर सोध्यो। राणा सरकारले पछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई पनि गोली हानेर हत्या गर्यो, मैले त्यो घटना पनि हेरें। पछि भैरवगोपाल वैद्य मलाई भेट्न आयो। उसले केही समय पहिले बागमती पुलमा भेट भएको कुरा पनि सम्झायो। ऊसित क्रमशः भेट हुँदै गयो। ऊसितको भेटघाटमा राजनीतिक कुराकानी हुन्थ्यो। उसले मलाई प्रजातान्त्रिक संघमा सामेल होऊँ भन्थ्यो। एकदिन हामीलाई त्यही भैरवगोपाल र उसको अर्को एकजना साथीले चाकुपाटनमा बोलाए। उनीहरूले त्यहाँ हामीलाई ‘तिमीहरू रगत दिन्छौ?’ भनेर सोधे। त्यहाँ हामी काइँलाबा, गणेशलाल र लक्ष्मण थियौं। हामीले आ–आफ्ना तिघ्रामा चक्कुले चिरेर रगत निकालेर देखायौं। त्यतिबेलासम्म हामीहरू उनीहरूको कुराहरूबाट धेरै नै प्रभावित भइसकेका थियौं। हामी उनीहरूले भनेको राजनीतिक आन्दोलनमा लाग्ने सोचमा त पुगिसकेका थियौं। तर, उनीहरूलाई भने पूरै विश्वास लागिसकेको थिएन। उनीहरू हाम्रो परीक्षा लिन चाहन्थे। ज्यान लिन र ज्यान दिन हामी तयार छौं कि छैनौं भन्ने उनीहरू जान्न चाहन्थे।
त्यसपछि एकदिन हामीलाई उनीहरूले बाघ मारेर देखाऊ भने। बाघ मार्न भनेर हामी गोदावरीको जंगलमा गयौं। त्यतिखेर म त्यस्तै १७/१८ वर्षको थिएँ होला। जान त गयौं तर हामीले बाघ मार्न सकेनौं। पछि फेरि उनीहरूले ‘गाई वा साँढे मार’ भने। मेरो बा कानुनसम्बन्धी काम गर्नुहुन्थ्यो। नेपालको कानुनले गाई वा साँढे मार्न प्रतिबन्ध लगाएको थियो। त्यसै भएर उनीहरूले हामीलाई कानुनविरुद्ध जान सक्छन् कि सक्दैनन् भनेर हेर्न खोजेका थिए।
पछि उनीहरूको विश्वास जित्न हामीले एउटा घोडालाई छुरा रोपिदियौं। सधैंजसो नागबहालमा एउटा सुब्बाको सेतो घोडा चथ्र्यो। हामीले त्यसैलाई छुरा रोप्ने निधो गर्यौं र एकदिन त्यहीं गएर कुनै डरधक नमानी घोडालाई छुरा हान्यौं। त्यसपछि मात्रै हामीले उनीहरूको प्रवेश परीक्षा पास गर्यौं र प्रजातान्त्रिक संघमा सामेल भयौं। अब हामी उनीहरूको संघका सदस्य भइसकेका थियौं। त्यसपछि उनीहरूले हामीलाई साँझ ६ बजे सधैं बागमती पुलमा बोलाउँथे। हामी त्यहीं जान्थ्यौं। अनि कहिले गुहेश्वरी, कहिले स्वयम्भूको जंगलमा रातभरि घुम्थ्यौं। मध्यराततिर मात्रै घरमा फर्कन्थ्यौं। राणाशासनको अन्त्य गर्नुपर्छ भन्नेबारे त्यहाँ कुरा हुन्थ्यो। त्यहाँ सबैजसोले मुकुण्डो लगाएर आउँथे। निरकुंश राणाशाही विरुद्ध हामी कसरी जुध्ने भन्ने सल्लाह हुन्थ्यो त्यहाँ। हामीलाई पछि मात्रै थाहा भयो– त्यो त सूर्यबहादुर भारद्वाजको अगुवाइको सातजनाको टोली पो रहेछ। त्यो टोलीमा पुष्पलाल, शम्भुराम, गंगालाल हलुवाई, भैरवगोपाल, प्रेमबहादुर कंसाकार र कामाक्षदेवी रहेछन्। उनीहरू पनि सबै मुकुण्डो लगाउँथे र छुरी बोकेर हिंड्थे। हामी पनि साथमा अनिवार्य रूपमा छुरी लिएर हिंड्थ्यौं।नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्य
त्यो संघको अनुशासन निकै कडा थियो। तोकिएको समयमा तोकिएको काम गर्नैपर्ने भनेर सबैले कसम खाएका थिए। दुई मिनेट अघि भए भत्कन्छ, दुई मिनेट पछि भए प्रलय हुन्छ भन्ने विश्वास थियो। १९९८ सालतिरै हो– राम मन्दिरतिरको जंगलमा राती साथीहरूको भेलाको आयोजना गरिएको थियो। सबैजना त्यहाँ ठीक समयमा आइपुगे। भेला सुरु भइसकेको थियो। तर, वीरसुन्दर भन्ने एकजना साथी अलि अबेर गरेर टर्च बाल्दै आयो। सबै मुकुण्डो लगाएर बैठकमा सहभागी थिए। बैठक चलिरहेका बेला कोही दुश्मन आयो भन्ने ठानेर सबै साथीहरू मुकुण्डो खोलेर भाग्न थाले। त्यतिबेलै मैले त्यो टोलीका सदस्यलाई प्रत्यक्ष चिनेको र अनुहार देखेको हुँ। पछि टर्च बाल्दै आउने त आफ्नै साथी रहेछ भन्ने थाहा पाएपछि सबै फर्के र वीरसुन्दरलाई एक हजार रुपियाँ जरिवाना तिराइयो। त्यतिबेला एक हजार रुपियाँ जरिवाना भनेको कडा सजायँ मानिन्थ्यो।
हाम्रो राष्ट्रिय गीत
कम्युनिस्ट पार्टी स्थापना नभएको भएपनि त्यतिबेला हामी सबैले आफूलाई कम्युनिस्ट भन्थ्यौं। त्यतिबेला हामीसित ‘साम्यवादको सन्देश’ भन्ने हिन्दी पुस्तक थियो। समूहमा गाउनका लागि हामीले त्यतिबेला आफ्ना लागि छुट्टै राष्ट्रिय गीत बनाएका थियौं, जुन गीत १९९७ सालदेखि २००५ सालसम्म हामीले ठाउँठाउँमा गाउँदै हिंड्थ्यौं। त्यो गीत संघका सबै सदस्यलाई र अरु हाम्रा साथीहरूलाई पनि कण्ठै थियो। हामी कार्यक्रम, भेला, बैठक गर्नुअघि त्यही गीत गाउँथ्यौं। गीत यस्तो थियो–
‘क्रान्ति गरौं, क्रान्ति गरौं, अब जाऊँ क्रान्ति गरौं
नाश गरौं यो राणाशाही, झण्डा लाल समाऔं
दूर हटाई धनी गरिब, समको राज्य बसाऔं!
रक्त बहाई धनसम्पत्ति सब पैदा गर्छौं हामी
तैपनि किन हो हाय अचम्म भोकै मर्छौं हामी
सहेर कहिलेसम्म सहुँ यो जन्मजन्मको पीडा
जाऊँ क्षय संहार गरौं अब पीडाका यी किरा!’
यतिबेलासम्म कांग्रेस वा कम्युनिस्ट कुनै पार्टी स्थापना भइसकेका थिएनन्। दुई वर्षजति निस्क्रिय रहेको प्रजातान्त्रिक संघले २००४ सालको सत्याग्रह र जुलुसमा सहभागी हुन आफ्ना सबै सदस्यलाई आदेश दिएको थियो। म सुरुमा राजनीतिमा संगठित भएको त्यही संघमा नै हो।
‘९७ सालमा हाम्रो छुट्टै राष्ट्रिय गान थियो’
Previous Articleसार्क शिखर सम्मेलन गर्न तयार छौँ – पाकिस्तान
Next Article त्रिविले स्ववियु निर्वाचनको आचारसंहिता जारी गर्यो