तीते करेली, कृष्णराज शर्मा/बागलुङ बजार आजकल विशाल भएको छ । यसो हुनुमा जमीनको आयतन बढेर होईन, गज्याङ गुजुङ सडक बढेर विशाल भएको हो । जमीन जस्ताको तस्तै छ । घरहरू धेरै बनेर विशाल भएको हो । पाखातिर भित्ता–भित्तामा घर थपिएर विशाल भएको हो, ठूलो भएको हो बागलुङ बजार । अर्थात घरको थुप्रोले यस्तो भएको हो । पहिला पहिलाको जस्तो छैन अहिले बागलुङ बजार । पहिला जमीन धेरै घर थोरै थिए । अहिले घर धेरै भएका छन,जमीन थोरै भएको छ । तर यसको अवस्थितिमा भने कुनै भिन्नता छैन । बागलुङ बजार ठूलो भएपनि बागलुङ ठालु भएको भने अझै छैन । किनकि ठालु भएको भए एकमतले बजारको विकास हुने थियो । यताउताका छिमेकी जिल्लाको जस्तो मतैक्यता हुने थियो । त्यस्तो हुन सकेको छैन । नेतृत्वको कमजोरीले ‘गफ ठूलो काम लूलो’ भएको बागलुङको अवस्था छ । विशेषगरी बागलुङ बजारको सन्दर्भमा यस्तो भएको छ ।
यही बागलुङ बजारमा एकदिन पुरै घुम्न खोजें । कहाँ कहाँ के के भैरहेको छ ? जान्न खोजें । खुब मन मिल्ने साथीसँग घुम्न निस्कें । मेरो प्रीय साथी हो– कलम । मेरो दुःख सुखमा साथ दिने साथी हो यो । म रूँदा यो पनि बररर रून्थ्यो । म हाँस्दा यो पनि खित्का छोडेर हाँस्थ्यो । जीवनको कुनै क्षण छैन यसले मेरो साथ छोडेको । दुःखमा कविता कोर्थ्यो । सुखमा गीत लेख्थ्यो । त्यस्तो साथी हो मेरो कलम । आठ कक्षादेखिको यो मेरो साथी कलमलाई आजपनि साथमा लिएर हिंडे । जहाँ जहाँ पुगे यो साथीले धोखा दिएको थिएनच्स् । आजभने मलाई बडो धोखाधडी भयो मेरो आत्मीय साथीबाट । मेरो प्रीय साथी कलम बाट । आठ कक्षादेखि कलम मेरो अभिन्न साथी हो । यस अघिका खरी र शीशाकलमले मेरो साथ छोडे । यि दुईको साथ छुटेपछि यसको संगतले मलाई छोडेको होईन । आज पनि सँगै छ । तर आजको मेरो बजार घुमाईको यात्रामा मलाई कलमको साथ विश्वासिलो लागेन । त्यसैले म यसको साथ छोडुँकि रहुँ द्विविधामा परेको छु । आज मेरो विचाराधिनमा परेको छ मेरो अभिन्न मित्र कलम । तै, आज उसलाई साथ लिएर म निस्कें प्रभातकालिन घुमाईमा ।
यो घना भएको बागलुङ बजार घुम्न बिहान छ बजे नै निस्कें । बजार भित्रका घरहरूमा को–को बस्छन् भन्दापनि कुन–कुन अफिस बस्छन् भन्ने मैले भेऊ पाएको छैन, म यहींको भएर पनि । त्यही थाहा पाउनु छ आज मलाई । सरकारी र गैह्रसरकारी कार्यालयहरू र संघ संस्थाहरूको लोकेशन र यिनको मोटामोटी टिप्पणी खोज्नु मेरो बजार घुमाईको मतलब हो । मेरो स्वास्थ्यलाई त उसै फाईदा पुग्दैछ घुम्दा । तर सबै सुनेर मात्र त भएन । नोट गर्नु पर्यो । राम्रो र नराम्रोको चर्चा गरिदियो भने सुध्रने र सुधार्ने तथा अझ उचों मनोबल राखेर जनताको सेवामा लाग्नेछन् भन्ने हो । और लेनादेना केही होईन । यसैकारण मेरो अभिन्न मित्र कलमलाई खल्तीमा भीरेर, पकेट डायरी समातेर घुम्न हिंडे ।
पहिला साईराम मन्दिर हुँदै उकालो चढ्दै बागलुङ नगरपालिकाको मुख्य कार्यालय भएर जाने रात्माटाको रूट समातें । मेरो कलम र म यही रात्माटाबाट तल माथी गथ्र्यौं । यही जन्मथलोको हामी दुवैलाई मायाँ लाग्छ । रातमाटाको उकालो चढ्दा लस्करै रहेका विद्यामन्दिर, राधाकृष्ण मन्दिर, साईराम मन्दिर र सरस्वती मन्दिरहरू छिचोल्नु पर्दछ । लगभग छ सय सिढीं छन नगरपालिका पुग्दा सम्म । सिढींमा लगाईएका स्टिलका पाईप काम सम्पन्न नभै उडि सकेका छन् । बजारबाट माथी चढ्दा यो बाटोको दायाँ–दायाँ पार्टीको र वायाँ–वायाँ पार्टीको कार्यालय बनाउने हल्ला छ । यिनै मन्दिर पेरिफेरीबाट उकालो चढ्दै गर्दा लागूपदार्थको गन्ध आयो । बासी गन्ध थियो । माथीबाट झर्दै गरेका एक व्यक्तिले यताभन्दा छहराको धारा माथी पो छ त ! भने । मेरो नाकले ठीकै थाहा पाएको रहेछ भन्ने लाग्यो । हुनपनि अचम्मको हस्को नाक भित्र पसेको थियो । ल, ठीक छ, नोट गर्छु भनेर पकेट डायरी र कलम हातमा लिएँ । सुनेका कुरा जस्ताको त्यस्तै लेख्न थालेको थिएँ । कलम कठ्याँग्रिएर चीसो भएको थियो । मित्र कलमले लेख्दै लेखेन । टन्न पेटभरि खुवाएको हो राती । यसो हेरें पेटभरी सबै छ । झ्याक्–झुक् पारें । न्याक् – नुक् पारें । तर मसी चुहेन,मरिगए सुनेका कुरा लेख्नै मानेन । सोधें– सत्यकुरा लेख्न थाल्दा तेरो मुखबाट मसी किन चुहिन्न साथी ? खोजेर भेटिएको कुरा किन लेख्दैनस् साथी ? मेरो सवालको जवाफमा भन्यो– यस्ता कुरा लेख्न हुन्न । थाहा दिनेलाई घाटा थाहा पाउनेलाई नाफा किन गराउने ? किन ‘रिस्क’ मोल्ने ? मैले लेख्दिन पो भन्छ बा ! तँ मेरो कस्तो साथी होस् कलम ? रिस्क त तँलाई समाउने हातलाई हुने हो, तँ किन तर्सेको ? लेख न लेख, मैले भनें । म भाँच्चीन्छु तर लेख्दिन, पछि भनम्ला भन्दै मेरो खल्ती भित्र पस्यो । म हिस्स भएँ ।
चढ्दै जाँदा मध्येपहाडी राजमार्ग भेटियो । राजमार्गले दुःखेसो पोख्यो । बिजुली अफिसले पोल नहटाएकाले म खत्तम भएँ । बिजुली अफिसले तत्काल हटाउनु पर्ने पोल बाटोको ठेकेदारबाट ‘स्वस्ति शान्ति’ नभएसम्म ज्यान गए पोल नहटाउने भन्छन् रे बिजुलीका मान्छे । यो धूलो र हिलोबाट कति सास्ती खेप्नु मैले ? लौन तपाईंको कलमले लेखे काम हुन्थ्यो कि भन्दै रून्चे स्वर लगायो । ए ! कलम कुरा सुनिस् । यस्तो पिडा जतासुकै छ । तैंले तेरो मुखबाट मसी किन चुहाउन्नस् । अब त लेख् ! अँह मानेन पछि भनम्ला भन्दै खल्तीबाट बाहिर निस्केन । यही राजमार्ग सँग सटेकी बुढी सरस्वतीसँग भेट्न बाध्य भयौं ।
तीनदिन पछि यिनको पूजा हुँदैछ । बर्ष दिनमा एकदिन यिनले स्याहार पाउँछिन् । मेरो कलम देखेपछि जिङरिङ्ग कपाल फालेकी सरस्वतीले भनिन् । मैले गर्दा तैंले लेख्ने त होस् । मेरा सबैकुरा सुनाई दे ! म कुमारी हुँ । मैले स्याहार नपाएर बुढी जस्ति देखिएकि हुँ । मेरो राम्रो स्याहार नगर्ने भए किन यहाँ राखेको रे भन्दिनु । मेरो मन दुःखाउने काम नगर्नु रे । जसले मलाई यहाँ स्थापना गरे, उनले गर्न सक्छन् र यस्तो टिनको चुहिने छाना मुनि किन राखेको रे भनि लेख्नु । सरस्वतीको कुरा सुनेपछि कलम आँफै मेरो हातमा आयो । मेरो डायरीमा कलमले सबै लेखेर मेरो खल्तीमा पस्यो । ओई ! यति त गरिस् केटा काम । मसी वकलिस्, स्यावास् दिएँ ।
त्यसपछि वीरेन्द्र स्कुलमा पुगें । यो कलम र मेरो प्रेम सम्बन्ध यहींबाट शुरू भएको हो । सम्झन्छस् साथी ! तेरो मेरो मायाँको पिरती ऊ बेलाको ? सोधें । सम्झन्छु, कतिले मलाई खोसेर अरूले लेख्थे । खुवाउने यौटाले सेवा अरूको गर्दै बेलुका सँगै घर फर्केको संझन्छु भन्यो । अगाडी बढ्न लाग्दा खानेपानीका टंकी देखिए । फिल्टर गरेर बजारबासीलाई सफापानी खुवाउने पानी टंकी खुला आकाशतीर फर्केर आँ गरेका । जसले जे फाले पनि पानीमा मिसिने । वरिपरिकालाई सोधें । उनीहरूले के के भने के के । ए कलम ! कुरा सुनिस् क्यारे । लेखम् यो कुरा ? डायरी झिकम् लेख्न ? बोल्दै बोलेन । मान्दै मानेन । उही पछि नभम्ला भन्दै खल्ती मै बस्यो ।
नगरपालिकाको मुख्य कार्यालयको प्रवेशद्वारमा पुग्दा वल्लो पल्लो गाउँका भेटिए । मेरो साथमा भीरेको कलम देखेर कटु सत्य टिप्पणी भए । कलमले कुरो बुझिसक्यो । यसो खल्तीमा हात लगेको धरधरी रून थाल्यो । के भो साथी ? किन रोएको ? सोध्न नपाउँदै यहाँ रोकिनै हुन्न छिटो अगाडी बढौं भन्यो । किन ? के भो ? जाउँ न जाउँ पछि भनौंला र यसको नालीबेली लेख्न थाल्यो भने यो डायरीले पनि पुग्दैन मेरो मसीले पनि पुग्दैन । पछि भनम्ला भन्दै रून छोड्यो ।
हामी नगरपालिकाको कार्यालय भन्दा माथी पुग्न सकेनौं । समयले दश बज्न खोज्दै थियो । कलमको मसी जस्ताको तस्तै भएपनि मेरो पेटले केही खोज्न थाल्यो । अर्कोबाटो हामी बजार झर्यौं । कलमसँग बजार झर्नै लाग्दा कुरा कोट्याएँ । लेख्छस् कलम यो कुरा ? के कुरा हो जानौं न त भन्यो । मापदण्ड मिचेका घर ….. यत्ति के भनेको थिएँ । चूप् चूप् चूप् भन्दै मलाई लखेट्यो । मैले लेखेर हुने कुरा हो र यो ? सबै मिलिसकेको कुरा किन लेख्ने भन्दै खल्ती बाटै मेरो छातीमा मुड्की बजार्यो । सरासर घर आएँ । खल्तीबाट कलम निकालेर सीरानीमा बजारें । कलम रोयो । किन रून्छस् ? धर्मछाडा भन्दै गाली गरें । तेरो काम लेख्ने होईन ? तेरो लेख्ने धर्म किन निभाईनस् कलम ! तलाई गाली नगरे कसलाई गर्ने ? किन लेखिनस् ?
ल भन् ! सुस्तरी मेरा कुराको जवाफ दिन थाल्यो । मलाई पहिल्यै थाहा थियो । बजारका एकान्त ठाउँमा दूव्र्यसनिहरु जम्मा हुन्छन् । बिहान हेरेको र गन्ध आएको पनि एकान्त ठाउँ मध्ये एक हो । सम्बन्धित निकायका मान्छेलाई धेरैचोटी लेखेर थाहा दिएको हो । उल्टै केटाकेटीलाई सुधार्लान भन्दा महिनावारी असुल्छन् । त्यसैले लेखेर केही फाईदा छैन भनेर नलेखेको हुँ भन्यो । खानेपानी र नगरपालिकाको बारेमा तेरो मुखबाट मसी चुहेन त ? उसले भन्यो– यो पनि बेकार कै कुरा हुन्छ । दाईलाई सक्दिन भाउज्यूलाई राख्दिन भन्ने उखानले काम गरूञ्जेल नगरपालिकाको बारेमा लेखेर मेरो प्राणरूपी मसी खेर फाल्नु मात्रै हो भनेर मैले लेख्न नतम्सेको हुँ । मैले फेरी भनें– धैत् पाजी सँसार बदल्ने ताकत छ तेरो । यस्तो लाछी नामर्द हुन्छस् । सोधें– तँलाई नै पत्रकार बनाई दिम्त लेख्छस् आँफै ? उसले भन्यो– भो पत्रकार भएको एक दुई महिना सम्म त लेखौंला पछि मै खूदोमा डुब्न पुगे भने झन् लेख्नै सक्दिन । कलमको नीब नै भाँचिन्छ । … ए कलम ! तँ उल्टै पत्रकारलाई आरोप लाउँछस् । तैंले नै नलेखे पछि पत्रकारको के दोष ? बढी हुने होईन है ! त्यसपछि कलमले भन्यो– मैले सबै पत्रकारलाई त्यसो भनेको होईन नी त । नखाई नखाई जोतिने पत्रकार पनि त छन् । देश र जनताको पक्षमा लेख्दा लेख्दै शहीद बनेका पत्रकार पनि छन् । कोही ज्यँदै शहीद बनेका पत्रकार पनि त छन् । कोही थाहा पाएर पनि नलेखेर ब्ल्याकमेल गरेर खूदोमा डुबेका पत्रकार पनि छन् पो भनेको । हो, यिनै खुदेलाई पो भनेको मैले । सारै नहप्काउनुस् न प्लीज् ! मैले ढाँटेका रहेछु भने मलाई तपाईंको शीर माथीको दराजमा पस्न नदिनु होला,प्रभु ! माफी पाऊँ प्रभु ! ….उसका कुरा सुनेपछि म झसँग भएँ । र भनें– बदमास्, साथीले साथीलाई प्रभु भन्छस् । साथीले साथ दिईनस् भनेर पो म रिसाएको । म कसैको प्रभु होईन । प्रभु त विदेशमा बस्छन् । मलाई प्रभु नभन् । बरू मेरो अन्तिम प्रश्नको जवाफ दे अनि तँलाई माफ दिऊँला । आयन्दा म यता उति घुम्दा देखेको कुरा लेख्छस् कि लेख्दैनस् ? ल भन् । भन्यो– लेख्न त लेखुँला । यस्तै हो भने मसी चुहिन्न कि त …हेत्तेरी, फेरी उही संशय ! तँ नलेख्ने कलमलाई मैले किन भीर्ने हँ ? म सोचमग्न हुँदै सम्झें– गास छोड्नु तर असल साथीको साथ नछोड्नु ! यौटा सन्दर्भमा साथीको साथ नपाउँदैमा उनान्शय सन्दर्भमा साथ दिएको साथी कलमलाई शीर माथी नै राखें, छोड्न सकिन । धन्यवाद !