बागलुङ, १६ माघ/राजनीतिक स्थिरताको लागि संविधान कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रममा वक्ताले जोड दिएका छन् । नागरिक सम्वाद केन्द्रले शुक्रबार जिल्लाको मल्ममा आयोजना गरेको नागरिक सम्वाद कार्यक्रमका वक्ताले संविधान कार्यान्वयन नभए मुलुक पुनः द्वन्द्वमा फस्ने बताएका हुन् । कार्यक्रममा केन्द्रका प्रमुख अधिवक्ता राम शर्माले मुलुकलाई स्थिरता र समृद्धितिर लान संविधान कार्यान्वयन अपरिहार्य रहेको बताए । उनले आगामी एक वर्षभित्र तीनै तहको निर्वाचन नभए मुलुक राजनीतिक संकटमा फस्ने धारणा राखे । शर्माले संविधानका मुलभुत विषयवस्तुका बारेमा सहभागीलाई प्रशिक्षण समेत दिएका थिए । सोही अवसरमा बोल्दै नेपाल बार एशोसियशन उच्च अदालत बार इकाई बागलुङका अध्यक्ष केशव पराजुलीले संविधान राजनीतिक सहमतिको दस्तावेज भएको उल्लेख गरे । उनले संविधान कार्यान्वयनको लागि नागरिक दवाव जुरुरी रहेको धारणा राखे । ‘लामो संघर्षपछि मुलुकले संविधान पाएको छ, यो एउटा राजनीतिक दस्तावेज हो, यस्ले मुलुकलाई दिशानिर्देश गर्छ’ अध्यक्ष पराजुलीले भने । बागलुङ बारका पूर्वअध्यक्ष अधिवक्ता राजु गौतमले पनि संविधान कार्यान्वयन हुन नसके प्राप्त उपलब्धी पनि खतरा रहेको धारणा राखे । उनले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता विषय संविधानमा समेटिनु महत्वपूर्ण उपलब्धी रहेको बताए । सो अवसरमा नेपाली काँग्रेस मल्म गाउँ समितिका उप–सभापति हुमबहादुर थापा, नेकपा (एमाले)का जिल्ला कमिटि सदस्य गुञ्जबहादुर थापा, नेकपा (माओवादी केन्द्र)का मल्म गाउँ कमिटि अध्यक्ष छुमबहादुर थापा, राष्ट्रिय जनमोर्चाका दलबहादुर थापा लगाएतले मन्तव्य राखेका थिए । सम्वाद कार्यक्रममा सहभागीहरुले संविधानसँग सम्बन्धित विषयमा आफ्ना प्रश्न, जिज्ञासा राखेका थिए । केन्द्रका प्रमुख एवम् शर्माले सहभागीको जिज्ञासा र प्रश्नमाथि सहजीकरण गरेका थिए । उनले संविधानले व्यवस्था गरेका नागरिक अधिकार, सङघीय संरचना, निर्वाचन सम्बन्धी व्यवस्था, महिला अधिकार लगाएतका विषयमा प्रशिक्षण दिएका थिए । केन्द्रले धवलागिरि अञ्चलका चारै जिल्लाका विभिन्न गाविसमा पुगेर नागरिक सम्वाद कार्यक्रम सञ्चालन गर्दै आएको छ । एकसय जना सहभागीको बीचमा सम्पन्न भएको कार्यक्रम मल्म गाविसका सचिव महेन्द्र पौडेलको अध्यक्षता, केन्द्रकी अधिकृत सावित्री खड्काको स्वागत र पत्रकार राम थापा ‘अविरल’को सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleपाँच लाख पुरस्कारको आहा-राराको उपाधि मनाङ मर्स्याङदीलाई
Next Article ज्येष्ठ नागरिकको लागि दिवा सेवा केन्द्र