ईश्वर अर्याल
टाईसुट लगाएर घरबाट निस्कें, एउटा सेमिनारमा भाग लिन जानुपर्ने थियो । साउनको महिना, बाटो हिलो थियो, रातभरि रोएको आकाश बिहानपख हिक्क हिक्क गर्दै थामिएको थियो । पश्चिमतिरको आकाशमा अझै पनि कालो बादल मडारिएको थियो । आठ बज्दा पनि घाम र बादलको संघर्षले गर्दा पूरै न्यानो महसूस गर्न पाइएको थिएन ।
घरबाट निस्केर पाँच मिनेट हिँडेपछि बल्ल हाईवे आउँछ । थानकोटको गाडीमा खुट्टा राख्ने ठाउँ हुँदैन, त्यहाँमाथि गाडी पनि हिलैहिलो हुन्छ । आफ्नो तस्वीर देखिने गरेर टलक्क टल्काएको जुत्ता हेर्दाहेर्दै हिलोले गर्दा पहेंलपुर भइसकेको थियो ।
रोडमा पुग्नै लाग्दा तीनचारवटा मिसकल आयो, बहिनीको थियो । कलब्याक गरें, तर एनटिसीकी दिदीले सँधैजसो बोल्ने पारामा उत्तर फर्काइन्, ‘तपाईंको ब्यालेन्स रकम कम भइसकेको छ, कृपया रिचार्ज गर्नुहोस् !’
आफ्नी बहिनीभन्दा एनटिसीकी दिदीको कुरा पहिला मान्नपर्ने देखियो । उनी दिदी नै हुन् भन्ने कुरा पनि कन्फर्म भइसकेको थिएन, दोहोरो कुरा हुन्थ्यो भने मैले एकपटक जरूर उनको उमेर सोध्थें ।
नजिकै रहेको किराना पसलतिर हान्निएँ । रु. १०० को रिचार्ज कार्ड मागेर पर्स खोलें । पसलेले सुन बाँधेको दाँत टिलिक्क देखाएर कार्डसहितको हात अघि बढाए । मसँग पचासको र बीसको नोट थियो, अनि तीन र चारवटा हजारका नोटहरू पनि सँगै थिए ।
उनले हजारको नोट देख्ने बित्तिकै कार्डसहित मतिर बढाएको हात तान्दै भने, ‘खुल्ला त छैन भाइ !’
‘हेर्नुस् न होला, मलाई अहिले इमर्जेन्सी परेको छ, त्यही भएर हो ।’
‘नार्इं, छैन भाइ ।’ यति भनेर उनले कार्ड फेरि घर्राभित्रै फर्काए । मतिर हेरेर उनले घुटुक्क थुक निले, उनको घाँटीको किल्किले माथिबाट तल स–यो । वरिपरी अर्काे पसल देखिएन ।
म रोडमा आएँ, दाँयापट्टि एउटा होटेलजस्तो छाप्रो थियो । त्यत्रो ठूलो किराना पसलमा नभएको खुल्ला त्यहाँ हुने कुरै थिएन, त्यही पनि आश लागेर गएँ ।
‘दाजु, एनटिसीको रिचार्ज छ ?’ उनले कार्ड निकाले तर हजारको नोट देख्नेबित्तिकै टमाटर जस्ता आँखा बनाएर उही प्रश्न सोधे, ‘खुल्ला छैन ?’
रत्नपार्क जाने गाडी आयो, गाडीमा चढें । त्यतिबेलै फोन आयो, उठाएँ ।
‘सर, हाम्रो सेमिनारको लोकेसन बसुन्धारा हुने कुरा भएको छ रे । प्रकाश सरलाई फोन गरेर कन्फर्म गर्नुस् त !’
कन्सल्टेन्सीमा काम गर्ने भाइको थियो फोनकल । बहिनीको अर्काे मिसकल थपियो, म आत्तिएँ ।
कलंकी उत्रिसकेपछि बायाँपट्टिको एउटा सानो पसलमा गएँ ।
‘भाइ, १०० को रिचार्ज पाऊँ न ।’
उसले मलाई तलदेखि माथीसम्म हे–यो, ‘ल, लिनुस् दाजु !’ उसले रिचार्ज तेर्स्यायो । मैले फटाफट रिचार्ज कातेरें अनि बल्ल पर्सबाट हजारको नोट निकालें ।
‘काँ दाजु पनि, १०० को रिचार्जको लागि हजारको नोट ? खुल्ला दिनुस् ।’
मैले ‘छैन’ भनें ।
पहिल्यै भन्नुपर्दैन ? बोहोनी नै नभएको बेलामा कहाँबाट खुल्ला पैसा ल्याउनु ?’ उसले थर्कायो ।
‘होला नि, चेक गर्नु न, मलाई इमर्जेन्सी छ के !’ मैले उही उत्तर फर्काएँ ।
रिचार्ज गर्छु भनेर फोन निकाल्दा दुई मिसकल आइसकेको रहेछ श्रीमतीको । म्यासेज पनि थियो, ‘फोन गर्नु त, काम छ ।’
ऊ सँगै जोडिएको अर्काे पसलमा हजारको नोट लिएर गयो, निराश भएर फर्क्र्याे । कार्डको नम्बर टाइप गर्नै लाग्दा उसले भन्यो, ‘खुल्ला पैसा भए दिनुस्, नत्र हुँदैन ।’
उसले कार्ड कोट्याएको देखेको थियो, झन् आगो भयो, ‘कस्ता कस्ता नमुना आउँछन् । एक रुप्पे आउने हैन, टेन्सन मात्र !’
मेरो हातबाट कार्ड थुत्यो, ‘अर्काे पसलमा जानुस् ।’
‘भाभाभाइ, मैले त्यो कोट्याइसकेको छु !’ मैले भनें । त्यही पनि उसले छोडेन । पैसा फ्यात्त फ्याँकिदियो, मैले त्यसलाई टिपेर हिँडे ।
अर्काे पसलमा गएँ, भर्खरकी किशोरी थिइन् । ‘अंकल, खुल्ला छैन,’ उनले यसो भन्दा म रिसले चुर भएर बाटो तताइसकेको थिएँ ।
गोङ्गबु जाने बस रोक्ने साइडमा एउटा ठूलो फेन्सी पसल थियो । त्यहाँ पैसा साट्ने विचार आयो । फटाफट छिरें, काउन्टरमा गएर आफूलाई एकदमै अप्ठ्यारो परेको भन्दै हजारको नोट तेर्स्याएँ । उसले घर्रा खोल्यो अनि दुईवटा पाँचसयको नोट तेर्स्यायो । त्यही भएपनि मलाई राहतको महसूस भयो । लिएँ अनि माइक्रो चढें ।
गाडीमा चढ्नेबित्तिकै नयाँ आइडिया फु–यो, कण्डक्टरलाई पाँचसयको नोट दिने । उसले डेरो आँखाले हेर्दै च्याप्प समातेर साइँली औंलाको तलपट्टि दोब्य्राएर राख्यो । गोङ्गबु आइसकेपछि उसले आफूसँग भएको सबै पैसा तीनपटक गन्यो, ड्राइभरसँग माग्यो । उसले पनि छैन भन्यो, ६–७ जना यात्रुहरूसँग एकएक गरेर सोध्यो तर कसैले पाँचसयको खुला छ भनेनन् । गाडीले ट्याँ ट्याँ हर्न बजाइरहेको थियो, म झरिसकेको थिएँ ।
‘छिटो गर, छिटो गर केटा !’ भन्दै ड्राइभर चिच्यायो । कन्डक्टर झर्किंदै मलाई त्यही नोट थमाइदिएर भन्यो, ‘अर्काेपटक गाडी चढ्दा खुल्ला पैसा लिएर चढ्ने ब्रो !’
कलंकीको नानीले अंकल भनेको सुनेर आफैंप्रति उठेको रिस कण्डक्टरले ब्रो भनिसकेपछी म–यो तर त्यसको साटो पैसाप्रति उठेको रिसको सुई एक्कासि माथि गयो । गोजीमा उसलाई दिन पुग्ने बीस रुपैयाँ खुल्ला हुँदाहुँदै पनि दिन नसकेकोमा मलाई रिसको साथसाथै लज्जा महसूस पनि भयो ।
अब भने मैले पाँच सयको नै रिचार्ज किन्ने मनस्थिति बनाएँ । बसस्टपबाट बायाँतर्फ केही मोबाइल बनाउने पसलहरू छन् । पहिला सयको माग्ने, नभएदेखि पाँचसयकै किन्ने मेरो योजना बन्यो । एउटा बुजुर्ग मान्छे थिए, ‘दाइ, १०० को एनटिसीको रिचार्ज दिनुस् न !’
उसले कार्ड निकाल्यो, मैले पैसा निकालें । उसले भन्यो, ‘भाइ, खुल्ला पैसा छैन ?’
उसलाई जसरी पनि फकाउनुथियो, ‘दाइ हेर्नु न, यो नेपालको एटिएमले सयको नोट नदिने । ठूला नोट काम नलाग्ने ।’
एउटा रिचार्जको लागी निर्दाेष एटिएमलाई दोष दिएर पाप कमाउने पहिलो व्यक्ति बनें म । उसले पहिला मलाई नै सोधेको प्रश्नलाई उत्तर बनाउँदै फेरि भन्यो, ‘भाइ, खुल्ला पैसा छैन ।’
‘त्यसोभए पाँच सयकै रिचार्ज दिनुस् ।’ म हौसिएँ ।
तीनचार दिन भो पाँच सयको रिचार्ज आको छैन ।’ उसले एनटिसीलाई दोष लगायो ।
‘नत्र पाँचवटा सयको कार्ड दिनुस् न त !’ मेरो बेचैनी झन् बढ्यो ।
‘ऊ त्यहाँ होलसेल पसल छ, त्यहाँबाट लिनुस्, यहाँ अरू ग्राहकहरूलाई पनि खुद्रा कार्ड बेच्नुपर्छ ।’ उसले चोर औंलाले अलि पर बिजी मलतिर देखाउँदै भन्यो । मलाई रिंगटा लाग्यो, ओठ सुक्यो, मुख तलतल भयो ।
‘हजारको एउटै कार्ड छ ?’
‘हजारको कसले लिन्छ र आजकल ? छैन !’ उसले झोक्किँदै जवाफ दियो ।
हिलोमा कचककचक हिँड्दाहिँड्दै जुत्ता छिचोलेर हिलो घुँडासम्म आउनै आँटेको थियो । पैतालामा पानी छिरेछ, चिसो लाग्यो ।
‘थुक्क, दुईसयको दुईवटा मागेको भए ?’ मलाई थकथक लाग्यो । तर म त्यो पसलबाट निस्किसकेको थिएँ ।
निस्केर अघि लागें । एउटा सामान्य चियापसलबाट कसैले चर्काे स्वरमा भन्यो, ‘सलाम साहेब !’
मेरो घरनजिकै कपाल सैलुन चलाउने महेन्दर चौधरी रहेछ । म टक्क अडिएँ ।
‘सुटबुटमा कहाँ चल्दै हुनुहुन्छ ? आज हामीले तपार्इंलाई टिन्सिनमा देख्दैछु ।’ उसले घर बिहारको मोतीहारी हो भन्थ्यो । नजिकै उसकी श्रीमती थिइन्, करीब तीनचार वर्षकी कान्छी छोरीको हात समातिरहेको थियो । उसका ६ वटा सन्तान थिए, बाँकी देखिएनन् ।
‘तिमी चाहिँ कता नि ?’ मैले उसलाई प्रतिप्रश्न गरें ।
‘आ, हामी आफ्नो घर जान लागेको, दु तीन दिनमा फर्किहाल्छु ।’
मैले दायाँबायाँ हेरेर सुस्तरी उसको कानमा भनें, ‘तिमीसँग पाँचसयको खुल्ला छ ?’ उसले बुझेन । मैले अरूले नसुन्ने गरेर अलिक चर्काे स्वरमा त्यही भनें ।
उसकी श्रीमती नजिकै आएर मैले भनेको सुन्ने प्रयास गरिन्, तर नेपाली उतिसारो बुझ्दिनथिई ।
‘आऽऽ भइहाल्छ नि साहब ! हामी और खुल्ला पैसा, नहुने कुरै छैन । मानिलिनुस् तपाईंको काम पुरा भएछ ।’
खुशीले मेरो मनमा एकप्रकारको चमक ल्याइदियो । उसले आफ्नो झोला खोल्यो, दशदशका नोट निकालेर गन्न शुरु ग–यो । पैंतीसवटा नोट निकाल्यो । दुईपटक गनिसकेपछि झोलाको अर्काे चेन खोलेर पाँचको नोट गन्यो । हत्केलाभरि तीसवटा पाँचको नोट र पैंतीसवटा दशको नोट मिलाएर मतिर तेर्स्याउँदै भन्यो, ‘आऽऽ यति छोटो कुरामा पनि टेन्सिन लिने ? अब दूर गरिलिनुस् !’
म फिस्स हाँसे ।
धन्यवाद भनेको उसलाई मन पर्थेन । धेरैपटक उसले मेरो दारी फ्रीमा मिलाइदिएको थियो । ‘हाम्रो काम यस्तै छ साहेब, शुक्रीया चाहिँदैन’ भन्थ्यो । उसले मेरो लागि गरिदिएको यो महान कार्यको पैंचो मैले कहिल्यै तिर्न सक्दिनँ जस्तो लाग्यो । मैले झुकेर उसको छोरीलाई टाउकोमा मुसार्दै नाम सोधें । ‘बुधना,’ उसले मसिनो स्वरमा भनी ।
‘आऊ, म चोकोफन किन्दिन्छु ।’ उसको हात समातेर नजिकैको पसलमा लगेर एउटा चोकोफन किन्दिएँ । भर्खर उसैबाट लिएका नोटमध्ये दशको नोट दिनै लाग्दा पसल्नीवालीले भनिन्, ‘भाइ, पाँचको खुल्ला छैन ?’
मलाई धन्न हर्ट एट्याक आएन ।
उनीहरूसँग बिदावारी मागेर म शानसँग रिचार्जकार्ड किन्न गएँ । फोनलाई रिचार्ज गर्दा नगर्दै मेरो पनि थकित दिमाग रिचार्ज भइसकेको थियो । पहिलो फोन घर श्रीमतीलाई घुमाएँ । उनले एकै स्वरमा भनिन्, ‘पर्सिको ग्रहशान्तिको लागि अलिकति पैसा खुल्ला गरेर ल्याउनुहोला ।’
मैले तुरुन्त फोन काटें ।
तत्कालै मेरो दिमागमा नयाँ कुरा आयो, ‘खुल्ला छैन भाइ ?’ भन्ने प्रश्नलाई राष्ट्रिय प्रश्न घोषणा गर्नुपर्छ ।