बागलुङ, ३ माघ – गलकोटको हरिचौरमा विद्युत सव–स्टेशन निर्माण कार्य सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले हरिचौर गाविसको वडा नं २, ३ र ५ को सिमानामा पर्ने सिमलबोटमा सव– स्टेशन बनाउन लागेको हो । चार वर्ष अघिदेखि सव–स्टेशन निर्माणको लागि जग्गा ब्यबस्थापन गरेपनि निर्माण कार्य भने गत असोजदेखि सुरु भएको छ । जिल्लामा उत्पादन भएको विद्युतलाई केन्द्रिय प्रसारण लाईनमा जोड्नको लागि सव–स्टेशन निर्माण कार्य थालिएको नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय पोखराले जनाएको छ । कार्यालयका ईन्जिनियर शिवनारायण गोसेलीका अनुसार, यसै आर्थिक वर्षमा निर्माण कार्य सक्ने गरि काम अघि बढेको छ । ३ एमभिए क्षमताको सव–स्टेशन निर्माण गर्न ३ करोड खर्च हुने ईन्जिनियर गोसेलिले जानकारी दिए । असोजबाट निर्माण कार्य सुरु गरिएपनि ठुला चाडपर्वको कारण कामले गति लिन सकेको थिएन तर अहिले निर्माण कार्य तिब्र पारिएको उनले बताए । अहिले विल्डिङ निर्माणको काम सुरु गरिएको छ । सव–स्टेशनका लागि आवश्यक उपकरण बंगलादेशबाट ल्याउने अन्तिम तयारी भएको बताईएको छ । सव–स्टेशनमा निर्माण हुने चार वटा फिडरमार्फत विद्युत वितरण हुने ईन्जिनियर गोसेलीले जानकारी दिए । उक्त सव–स्टेशन सानो क्षमताको भएको कारण १५ मेगावाट विद्युत मात्र जडान गर्न सकिने छ । सो भन्दा बढि विद्युत उत्पादन भएमा क्षमता विस्तार गर्नुपर्ने उनले बताए । गलकोटमा हाल सयपत्री हाईड्रो पावर प्रा.लि.ले २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजनामार्फत विद्युत उत्पादन सुरु गरिसकेको छ । सव–स्टेशन निर्माण कार्य ढिलो हुँदा स्टेपडाउन ट्रान्सफर्मरमार्फत उत्पादित विद्युत ११ केभिएको मुल लाईनमा जोडिएको म्यानेजर गोपाल न्युरेले बताए ।
Previous Articleपुरुषले गर्ने स्थायी बन्ध्याकरण के हो ?
Next Article रोजगारीको लागि भारत जान पनि अनुमति लिनुपर्ने