नेपालगन्ज, ११ माघ – त्यसो त इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलमा झन्डै एक दर्जन नयाँपुराना फिल्म देखाइए । तर, दर्शकश्रोता सुरुदेखि एउटै फिल्मको व्यग्र प्रतीक्षामा थिए । त्यो बुझेरै आयोजकले चलाखीपूर्वक फेस्टिभलको अन्तिम कोसेलीका रूपमा ‘कालोपोथी’ प्रस्तुत गरे ।
नेपालगन्जमा दुईदिने फेस्टिभल आइतबार सकिँदा दर्शकश्रोता ‘कालोपोथी’ को प्रशंसा गर्दै हलबाट बाहिरिए । ‘एउटा निर्देशकका लागि यो धेरै खुसीको कुरा हो,’ उक्त फिल्मका निर्देशक मीन भामले भने, ‘दर्शकश्रोताले मन पराउनु नै फिल्मको सफलता हो ।’
७२औं भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत उत्कृष्ट घोषित ‘कालोपोथी’ ले मुगुको द्वन्द्वकालीन परिवेश र दुई किशोरको शिक्षाको आकांक्षालाई पर्दामा उतारेको छ । साधारण कथालाई मार्मिक ढंगले प्रस्तुत गर्नु निर्देशक भामको सफलता मानिएको छ ।
उपेन्द्र पाण्डेले निर्माण गरेको दृष्टिविहीन व्यक्तिको प्रेरणादायी डकुमेन्ट्री ‘बियोन्ड द ह्वाइट केन’ बाट सुरु फेस्टिभलका दुवै दिन दर्शकश्रोताको उत्साहजनक उपस्थिति रहयो । आइतबार देखाइएका ‘भुसको लोग्ने’ र ‘अ सङ फर बारपाक’ ले पनि राम्रै प्रशंसा पाए । ‘भुसको लोग्ने’ मा आङ खस्ने समस्याबाट पीडित ग्रामीण महिलाको व्यथा जीवन्त ढंगले प्रस्तुत गरे निर्देशक ज्योतिकेशर सिंह ठकुरीले । ‘यो मूलत: स्वास्थ्य सन्देशमूलक फिल्म हो,’ ठकुरीले भने, ‘दर्शकले सहजै बुझ्ने गरी सरल ढंगले पर्दामा उतार्न धेरै समय लगाएर तयार पारिएको हो ।’
हरिबहादुर थापाद्वारा निर्मित/निर्देशित ‘हेलिकप्टर रेस्क्युअर अन द हिमालय’ पनि रुचाइयो ।
‘छक्कापन्जा’ जस्ता फिल्मले बजार लिइरहेका बेला डकुमेन्ट्री फिल्म हेर्न उल्लेख्य दर्शकश्रोता आएकामा खुसी व्यक्त गर्दै इन्डिपेन्डेन्ट फिल्ममेकर सोसाइटीका अध्यक्ष अनुप सुवेदीले डकुमेन्ट्री फिल्महरूप्रति दर्शकको बढ्दो चासोलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘दर्शकअनुसार फिल्म छनोट गरी व्यवस्थित प्रदर्शन गर्न सके सहजै सन्देश पनि प्रवाह हुन सक्छ,’ उनले भने ।
बाँकेका प्रजिअ रविलाल पन्थले उद्घाटन गरेको फेस्टिभल इभेन्ट म्यानेजमेन्ट गर्दै आएको अन्तरालको आयोजना र वागेश्वरी असल शासन क्लबको सहआयोजनामा गरिएको हो । फेस्टिभलमा सती प्रथासम्बन्धी यादव भट्टराईको ‘झोला’, बाल मनोविज्ञान उतारिएको मनोज पण्डितको ‘छाया’, सचिन घिमिरेको ‘पुन्टेको पाङ्ग्रा’ पनि प्रदर्शन भए । त्यस्तै, रघुवर नेपाल र शिवशरण कोइरालाको ‘मेला’, ‘म खुसी छु’ र ‘रियालको खोजी’ देखाइए ।
Previous Articleमध्यराति माननीयलाई फोन गर्दा एसपी हेडक्वार्टर तानिए
Next Article ब्लग डेटिङ म्यासेज