केशव विश्वकर्मा,
जोमसोम, ९ भदौ -सबै धर्म बिच एकता–हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता, भन्ने मूलनाराका सहित हिमालीपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा जोमसोम धार्मिक एवं शैक्षिक महोत्सव बिहिबारदेखि शुरु भएको छ । महोत्सव १६ भदौसम्म संचालन हुनेछ ।
१०१ टेक्निकल कलेज एवं एक प्रदेश एक टेक्निकल विश्व विद्यालयका संकल्पकर्ता युवा दार्शनिक ध्रुव शरण बस्यालको संकल्पमा आधारित जिल्लाको एकमात्र क्याम्पस जनहित बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर कक्षा संचालनका लागि सहयोग जुटाउने उदेश्यले यो महोत्सव आयोजना गरिएको क्याम्पस प्रमुख रामचन्द्र अधिकारीले जानकारी दिए ।
आध्यात्मिक र भौतिक ज्ञानको माध्यमबाट प्राविधिक, नैतिक र सामाजिक शिक्षामा विकास गर्न नेपालमा १०१ टेक्निकल कलेज स्थापना गर्ने लक्ष्य अनुरुप मुस्ताङबाट सो कार्यको थालनी गरेको प्रमुख कथा वाचक पंण्डित दिनबन्धु पोखरेलले बताए । पोखरेलका अनुसार महोत्सवमा कम्तिमा २ करोड भन्दा बढि रकम संकलन गर्ने लक्ष्य राखिएको छ ।
पानसमा दिप प्रज्वोलन गरी कार्यक्रमको उद्घाटन गर्दै जिल्ला न्यायधीश पिताम्बर शर्माले शिक्षा प्रत्येक नागरिको मौलिक अधिकार भएकाले शिक्षाको विकास र विस्तार गर्नको लागि आयोजना गरिएको धार्मिक एवं शैक्षिक महोत्सवमा सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले असल कार्यको सुरुवात भएकाले महोत्सवले आत्म चिन्तनलाई सहयोग पु¥याउँदै शैक्षिक विकासमा टेवा पु¥याउने वताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मिम प्रसाद थकालीले क्याम्पसमा प्राविधिक शिक्षा संचालन गरी राष्ट्र निर्माणमा सहयोग पुराउन प्राविधिक शिक्षाको आवश्यकता रहेको वताए । उनले यस कार्यमा सवैलाई तन, मन र धनले सहयोग गर्न अपिल गरे ।
कार्यक्रममा प्रमुख कथा बाचक दिनबन्धु पोखरेल, सह वाचक एवं संकल्पकर्ता ध्रुव शरण बस्याल, स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोला, जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपाने, पूर्व सभासद चन्द्र बहादुर गुरुङ, रेडक्रस सभापति चन्द्र बहादुर थकाली, क्याम्पस संचालक समितिका सल्लाहकार मान बहादुर बिश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको पूर्व सन्ध्यामा जोमसोम हुँदै पुथाङ एयरपोर्टसम्म कलश यात्रा गरिएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मिम प्रसाद थकालीको अध्यक्षता, जनहित उमावि व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीको स्वागत र क्याम्पस प्रमुख रामचन्द्र अधिकारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा अधिकारी, नागरिक समाज, समाजसेवी लगायत स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।