काठमाडौं, ९ माघ – विद्युत चोरीको संगठित गिरोहकै कारण लोडसेडिङको मात्रा बढेको र उपलब्ध विजुलीको न्यायिक वितरण नभएको बहस चुलीरहेका बेला महानगरिय प्रहरी अपराध महाशाखाले विद्युत चोरीमा संगठित गिरोहमा आवद्ध १६ जनालाई पक्राउ गरेको छ । विद्युत प्राधिकरणकै उपल्ला कर्मचारी, मिटर रिडर, प्राविधिक कर्मचारी र पूर्व कर्मचारीको संग्लनताले विद्युत चोरीको संगठित गिरोहको आम आशंकालाई बल पुर्याएको छ ।
महाशाखाले प्राधिकरणको बालाजु शाखाका सुपरभाईजर सुमन श्रेष्ठसहित प्राधिकरणको रत्नपार्क स्थित प्राधिकरणको वितरण तथा सेवा निर्देशनालयका बरिष्ठ सहायक दिलबहादुर साउद, सोही कार्यालयका मिटर रिडरहरु मनिज श्रेष्ठ, ओम ढुंगाना, प्रदिप शर्मा, श्याम बस्नेत, ठाकुर मर्हजन, काठमाडौं स्थित शाखाका प्राविधिक कर्मचारी टहलबहादुर कार्की, हेटौडा वितरण केन्द्रमा कार्यरत मिटर रिडर महादेव प्रधान, बानेश्वर शाखाका मिटर प्राविधिक कर्मचारी अच्युत खडा र लगनखेल शाखाका मिटर रिडर सुर्यबहादुर थापालाई पक्राउ गरेको छ ।
त्यस्तै प्राधिकरणको भक्तपुर शाखाका पूर्व सुपरभाईजर भगवान पाण्डेसमेत सोही आरोपमा पक्राउ परेका छन् । महाशाखाले गिरोहसँग मिलेर थोरै विद्युत महशुल तिर्ने चार ब्यवसायीसमेत पक्राउ गरेको छ । गोर्कणेश्वर नगरपालिका १३ स्थित मञ्जुश्री खानेपानी व्यवसायीका संचालक कुमार लामा, गौशालामा मिठाई पसल चलाएर बसेका भारतिय नागरिक तपन घोष, नक्सालस्थित कपास ब्यापारी भारतिय नागरिक परवेज आलम र अनामनगरस्थित रामेश्वरम मिठाई पसलका संचालक रामेश चुडालसमेत पक्राउ परेका छन् ।
विद्युत चोरीको संगठित गिरोहको हप्तौदेखीको निगरानीपश्चात महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका अनुसार सुरुमा मिटर रिडरहरुले व्यवसायी र घरधनीलाई मिटरमा जती रकम उठेपनि थोरै पैसा तिरेर उम्कन मिल्ने उपाय सुझाउँछन् ।
मिटरमा जति रकम उठेपनि मिटर रिडरले थोरै रकम उठेको बिल तयार पार्छन र प्राधिकरणकै प्राविधिक कर्मचारीको सहयोगमा मिटरमा लगाइएको सिलबन्दी तोडेर मिटर उल्टो घुम्ने बनाउँछन् । त्यसपछि मिटर जुन अंकमा पुगेको भए पनि विलमा चढाइएको रकमकै ठाउँमा मिटरको नम्बर आईपुग्छ ।
महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार यस्तो थुप्रै गिरोह छन्, तर सबै संगठित छन् । उनले भने, ‘गिरोहहरु धेरैजसो बिजुली धेरै खपत हुने क्षेत्रमा खटिएका देखिन्छ ।’ बिजुली धेरै खपत भएपनि कसरी कम शुल्क तिर्न सकिन्छ भन्ने उपायको खोजीमा रहेको ब्यवसायीको सम्र्पकमा पुगेको मिटर रिडर र प्राविधिक कर्मचारीले त्यसपछि सेटिङ तयार पार्छन ।
प्राधिकरणका उपल्ला कर्मचारीको मिलेमतोमा तयार हुने यस्तो ‘सेटिङ’ पछि ब्यवसायीसँग मोटो रकम लिईन्छ र बाँडीचुडी भाग लगाइन्छ । विद्युत खपत भन्दा थोरै शुल्क तिर्न पाएपछि ब्यवासायी पनि खुशी हुन्छन् ।
कतीसम्म भने प्राधिकरण बालाजु शाखाका सुपरभाईजर सुमन श्रेष्ठ अक्सर कार्यकक्षमा भेटिदैनथे । कार्यालय समयमा पनि उनी बा ५ च ३४५१ नम्बरको निजी गाडीमा बौद्ध, वालाजु र मण्डिखाटार क्षेत्र घुमीरहन्थे । गाडीको डिक्कीमा विजुलीको मिटर रिडरको सिल, मिटर खोल्न आवश्यक पर्ने उपकरण, मिटर विर्गान आवश्यक पर्ने तार लगायतका प्राविधीक सामाग्री सधै बोकीहिडथे ।
महानगरिय प्रहरी अपराध महाशाखाको पछुवा टोलीले केहीदिनयता श्रेष्ठको गतिविधी निगरानी गरिरहेको थियो । अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारका अनुसार श्रेष्ठ निजी घरका अलावा धेरै विजुली खपत गर्ने उद्योगमा लुसुक्क छिर्थे र बिजुली खपत जति भए पनि थोरै रकम उठाईदिने ‘डिल’ गरेर फर्किन्थे ।
महाशाखाको टोलीले शनिबार साढे चार बजे मण्डिखाटारस्थित घरमा मिटर बिगारिरहेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरेको हो । उनी सहित विजुलीको मिटर बिगार्ने र थोरै महशुल उठ्ने बनाउने गिरोहमा नेपाल विद्युत प्राधिकरणका ७ मिटर रिडर सहित ११ कर्मचारी, १ पुर्व कर्मचारी र धेरै बिजुली खपत गरेर थोरै शुल्क तिर्ने चार ब्यसायीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विद्युत प्राधिकरणका मिटर रिडर देखी मिटर सिलबन्दी गर्ने कर्मचारी र प्राधिकरणका अधिकृत तहका कर्मचारीको मिलेमतोमा वर्षौंदेखि यस्तो धन्दा चलिआएको थियो । अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले यस्तो संगठित धन्दालाई गिरोहको संज्ञा दिदै भने, ‘लोडसेडिङमा अझै धेरै मलजल गर्ने र प्राधिकरणलाई टाट पार्ने गिरोह सक्रिय रहेको पुष्टी भएको छ ।’
एसएसपी खनालका अनुसार गिरोहले मिटर बिगारेर कम शुल्क तिरे पुग्ने व्यवस्था मिलाइदिएवापत कारखानाबाट मासिक ४० देखि ५० हजार रुपैयाँ लिएको देखिन्छ । घरको हकमा भने उनीहरुले कती शुल्क कम उठने बनाइएको हो त्यसैका आधारमा रकम लिएको देखिन्छ । कतिसम्म भने मासिक चालिस देखि पचास हजार रुपैयाँ बराबरको विद्युत खपत हुने घरमा गिरोहले मासिक चार देखि पाँच सय रुपैयाँ शुल्क तिरे पुग्ने बनाईदिन्थे । त्यस्तै मासिक दस देखि १२ लाख रुपैयाँ बराबरको विद्युत खपत हुने उद्योगमा पचास हजार रुपैयाँ मात्रै तिरे हुने बनाईदिन्थे ।
प्राधिकरणको नियमअनुसार विद्युतको मिटरमा लगाउने सिल मिटर रिडरले पाउदैनन् । तर गिरोहका सदस्यहरुले मिलेर लगाईराखेको मिटरको सिल तोडथे, मिटरको अंक बिगार्थे र पुन: नयाँ सिल लगाउँथे । एसएसपी खनालका अनुसार यस्ता गिरोहका कारण विद्युत चुहावट बढेको त छ नै, निश्चित व्यवसायी र व्यक्तीले अधिक विजुली उपयोग गरेर राज्यलाई थोरै पैसा तिरेर ठगी समेत भइरहेको छ ।
महाशाखाका अनुसार प्रत्येक दिन यो टोलीले काठमाडौं र वरीपरीका जिल्लामा पुगेर २० देखी २५ स्थानमा मिटर विगार्ने काम गर्दै आएका थिए । एसएसपी खनालका अनुसार यो टोली पछिल्ला १२ बर्षदेखि यस्तो काममा संग्लन रहदै आएका देखिन्छन् । यो टोलीले प्राधिकरणलाई कती रुपैयाँको नोक्सान पुऱ्यायो भन्ने हिसाब निकाल्न महाशाखा लागिपरेको छ । खनाल अनुमान मात्रै गर्छन, बार्षिक सात/आठ अर्ब बिजुली चोरीमा यस्तै गिरोहको ठुलो भूमिका छ । उनले भने, ‘करोडौंको नोक्सान पुऱ्याएको सहजै भन्न सकिन्छ ।’
विद्युत प्राधिकरणका एक उपल्ला कर्मचारीले विद्युत चोरीमा संगठित गिरोह नै लागीपरेको कुरा यो घटनाले पुष्टी गरेको बताए । उनले कान्तिपुरसँग भने, ‘यो नै ठुलो समुह हो भनेर भन्न सकिने अवस्था छैन । अझै उपल्ला कर्मचारी र अझै ठुलो गिरोह यसमा संगठित भएर लागीपरेको हुनसक्छ ।’ प्राधिकरणले नेपालका विद्युत चुहावट करिब २६ प्रतिशत रहेको निष्कर्ष निकालेको छ । जसमा १२ देखी १४ प्रतिशत प्राविधीक चुहावट भएपनि अन्य चुहावट भनेको गिरोहको सक्रियता र व्यक्तीगत रुपमा हुने चोरीकै कारण हुने गर्दछ । प्राधिकरणका अनुसार औसत मूल्यका हिसाबले प्राधिकरणले प्रत्येक बर्ष चोरीको बिजुलीकै कारण नौ अर्ब रुपियाँ भन्दा धेरै गुमाउँछ ।
विद्युत चोरीमा प्राधिकरणका कर्मचारीहरु पक्राउ परेको जानकारी महाशाखाको अभियोजन शाखाले साँझ प्राधिकरणको केन्द्रिय कार्यालयलाई गराएको थियो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यसको पुष्टी गर्दै भने, ‘विद्युत मिटरमा कम खपत देखाई कम महशुल उठाएर नेपाल सरकारलाई नोक्सान पुऱ्याएको भन्ने गोप्य सुचनाको आधारमा केही वहालवाला र केही पूर्व कर्मचारीलाई अनुसन्धानका क्रममा सोधपुछ भईरहेको व्यहोराको जानकारी प्रहरीले गराएको छ ।’
त्यसो त प्राधिकरणले केही समययता देशब्यापी रुपमा रहेको विद्युत चुहावट रोक्नका लागि भन्दै उर्जा मन्त्रालयका सह सचिव सन्दिप देवको नेतृत्वमा दौडाह टोली खटाएको छ । प्रवक्ता अधिकारीले भने, ‘विद्युत चोरी मात्रै रोक्न सकियो भनेपनि लोडसेडिङ घटाउन ठुलो योगदान गर्छ ।’ उर्जा मन्त्री जर्नादन शर्माले केही महिनाअघि विद्युत चुहावट २५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याउन निर्देशन दिएका थिए । मंसिर पहिलो साता प्रधानमन्त्रीले विद्युत चुहावट नियन्त्रण गर्नका निम्ती सरोकारवाला सहितको बैठक डाँकेका थिए ।
लोडसेडिङ गराउन सक्रिय गिरोहका १६ जना पक्राउ
Previous Articleएमालेले विभागमा जिम्मेवारी दियो
Next Article चुनाव नभए २०१७ सालको भन्दा ठूलो दुर्घटना – प्रचण्ड