काठमाडौं, ९ माघ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखको २५ वा ३० गते स्थानीय चुनाव गर्नेगरी यसैसाता निर्वाचन मिति घोषणा गर्ने बताएका छन् । मधेसी मोर्चालाई समेत मान्य हुनेगरी संविधान संशोधनको छुट्टै विधेयक दर्ता गर्ने उनले बताए ।
संसदीय मामिला पत्रकार समाजले आइतवार संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माघ १५ गतेसम्ममा निर्वाचन मिति घोषणा गर्ने बताएका हुन् ।
‘हिजोबाट परिस्थिति सकारात्मक दिशामा अगाडि बढेको छ । निर्वाचन आयोगलाई सय दिनको समय दिनेगरी माघ १५ गतेभित्र निर्वाचन मिति घोषणा हुन्छ,’ प्रचण्डले भने, ‘छिटोमा वैशाख २५ र ढिलोमा वैशाख ३० गते चुनाव शुरु भई जेठ दोस्रो साता सम्पन्न गर्नेगरी निर्वाचन सम्पन्न हुन्छ ।’
प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले सहितका विपक्षी र मधेसी मोर्चालाई समेत मान्य हुनेगरी सहमतिको नयाँ विकल्पमा छलफल भइरहेको बताए । ‘नयाँ संशोधन विधेयक ल्याएर मधेसी र थारुलाई पनि निर्वाचनमा आउने ढोका खुल्छ,’ उनले बताए । त्यस्तो संशोधन के विषयमा गर्ने भन्नेबारे उनले केही खुलाएनन् । उनले भने, ‘संविधानको स्वीकार्यतालाई अझ फराकिलो बनाउने उद्देश्यसाथ पहलकदमी लिइराखेको छु ।’
अन्यथा २०१७ सालको भन्दा ठूलो दुर्घटना प्रधानमन्त्री प्रचण्डले तोकिएको समयमा निर्वाचन हुन नसके मुलुक दुर्घटनामा फस्ने खतरा रहेको बताए । ‘अबको दुर्घटना २०१७ सालको भन्दा ठूलो हुनेछ । सबैले भूमिका खेले त्यो रोकिन्छ,’ उनले भने । उनले धैर्यताका साथ विवेकसम्मत ढंगले एउटा निष्कर्षमा पुग्न दलहरूलाई आग्रह गरे ।
‘चुनाव नगरी समय घर्कियो भने अब हुने द्वन्द्व अर्कै प्रकृतिको हुने लक्षण दृष्टिगोचर गरेका छौं,’ उनले भने, ‘कठोरभन्दा कठोर निर्णय लिन म तयार छु ।’ प्रधानमन्त्री प्रचण्डले संसदभित्रका गतिविधिप्रति आम जनताको आकर्षण घटेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा सभामुख ओनसरी घर्तीेले तोकिएको समयमा चुनाव हुनेमा आम जनताको आशंका निवारण गरेर वैशाख अन्तिम साता निर्वाचन सम्पन्न गर्ने चाहना पूरा गर्न आग्रह गरिन् । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दलहरूसँग सहमति गरेर निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । कार्यक्रममा प्रधामनन्त्री प्रचण्डले नेपालमा संसदीय मामिलाको रिपोर्टिङबारे लेखिएको ‘संसदीय पत्रकारिता’ नामक पुस्तकको विमोचन गरेका थिए ।