हरिकृष्ण गौतम
म्याग्दी, ७ माघ – गतबर्षको तुलनामा जिल्लामा भित्रिने रेमिट्यान्समा गिरावट आएको छ ।जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामिण क्षेत्रमा शाखा विस्तार गरेका बैंक तथा वित्तिय संस्थाका अनुसार गतबर्षको तुलनामा चाडपर्व र अन्य महिनामा रेमिट्यान्स घटेको छ । भदौं देखी कात्तिक महिनासम्म करिव डेढ अर्वभन्दा बढी रेमिट्यान्स भुक्तान गरिएपनि खाडी देशमा तेलको मुल्यमा भएको गिरावट लगाएत विभिन्न समस्याका कारण रेमिट्यान्स घटेको गरिमा विकास बैंक बेनी शाखाका प्रवन्धक कमल ढुंगानाले बताए । ‘खाडी मुलुकबाट समेत गतबर्षको तुलनामा रेमिट्यान्स घटेको छ । सानो–सानो पैसा आइरहेकाले उतैको प्रभाव हुनसक्छ’ उनले भने ।जिल्लाभित्र धेरै रेमिट्यान्स भुक्तान गर्ने गरिमाको बेनी, बावियाचौर, दरवाङ र उत्तरी म्याग्दीको भुरुङ तातोपानीमा समेत शाखा रहेको छ । बार्षिक अर्वभन्दा धेरै रेमिट्यान्स भुक्तान गर्ने गरिमाले गत आर्थिक बर्षमा पुष मसान्तसम्म २ हजार ६२ ट्रान्जेसनबाट १४ करोड वितरण गरेको भएपनि यसबर्ष १३ सय भुक्तानी गरेर ९ करोड वितरण गरेको जनाएको छ । दशैं नजिक शाखाको मर्मतमा केही दिन बन्द गरेपनि दैनिकजसो रेमिट्यान्स वितरण गर्ने गरेको बैंकले पछिल्लो पाँचबर्ष यताकै सबैभन्दा कमी रेमिट्यान्स भुक्तान गरेको जनाएको छ । सदरमुकाम बेनीमा रहेको धौलागिरि टुर एण्ड ट्राभल्स, बुद्ध बहुउद्देश्यीय सहकारी, पश्चिम म्याग्दीमा रहेको दरवाङ बचत तथा ऋण, पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी, आईएमई रेमिन्ट काउण्टर सहित सहकारी संस्था, ठुला बैंक तथा वित्तिय संस्थाले खाडी मुलुक, जापान, दक्षिण कोरिया सहित विश्वका विभिन्न देशबाट रेमिट्यान्स भुक्तान गर्ने गरेका छन् । सेवाप्रदायक संस्थाका अनुसार करिव १५ देखी २५प्रतिशतसम्म रेमिट्यान्समा कमी आएको छ । असुरक्षा तथा तलवको समस्याका कारण मलेसियामा पुगेका यूवाहरू फर्कनु,तेल उत्पादन गर्ने खाडीमुलकका रोजगारको संख्यामा गिरावट, नियमित तलवका साथै जिल्ला बाहिर घरजग्गा खरिदमा लगानी गर्ने लगाएतका कारण जिल्लामा भित्रिने रेमिट्यान्समा कमी आएको धौलागिरि टुर एण्ड ट्राभल्सका प्रवन्धक बसन्त श्रेष्ठले बताए । उनका अनुसार यसबर्ष चाडपर्वमै कम रेमिट्यान्स भित्रिएकाले पनि बर्षभरीको तथ्याङ्कमा असर गरेको बताए । जिल्लामा भित्रिने रेमिट्यान्सको करिव ४०प्रतिशत चाडपर्वमा भित्रिने गरेको छ । अन्य समयमा घरखर्चका रुपमा पठाउने गरिएपनि चाडपर्वमा खाडी मुलुकबाटै एउटै ग्राहकले ४० देखी २लाखसम्म पैसा पठाउने गरेको श्रेष्ठको भनाई छ । ‘रेमिट्यान्सप्रतिको बढ्दो निर्भरताले असर गर्ने देखिन्छ ।केहीबर्ष यता विदेशबाटै यूवाहरू फर्किएर गाउँमै रोजगारमा सक्रिय देखिन्छन्’उनले भने । विदेशबाट नियमित पैसा पठाउने यूवाहरूले आम्दानी र ऋण लिएर समेत कृषि र पशुपालन गर्न थालेको उनको भनाई छ । जिल्लाभित्र रहेका सहकारीले बैदेशीक रोजगारमा कर्जा समेत प्रवाह गर्ने भएकाले पनि रेमिट्यान्सबाट आएको रकममध्ये ऋण तिर्न,घरजग्गा जोड्न, शिक्षा, उपभोग्य बस्तु लगाएत परिवारको आवश्यकता अनुसार खर्च गर्ने गर्दछन् । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव र।जेश शाक्यले रेमिट्यान्स घट्नुमा सामाजिक विचलन र हुन्डी एउटा कारण हुनसक्ने बताए । ‘परिवारको आर्थिकस्तरमा ब्यापक सुधार आएको देखिन्छ ।रेमिट्यान्सको आधिकारिक तथ्याङ्क राख्ने राज्यको नितिको निति समेत देखिदैन’ शाक्यले भने । खाडीमुलकमा कमाएको रकम अधिकांस हिस्सा परिवारको उपभोगमै खर्च भएर उमेर ढल्केपछि स्वदेश फर्कदा गाउँघरमै उत्पादनमुखी क्षेत्रमा लगानी जुटाउन निकै समस्या हुने गरेकाले समयमै सचेत हुनुपर्नेमा शाक्यको जोड छ । जिल्लामा भित्रिएका रेमिट्यान्सर रोजगारमुलक क्षेत्रमा निकै न्यून प्रयास भइरहेको छ । विदेशीएका यूवाहरुको परिवारको जीवनशैली र फजुल खर्चमा अत्याधिक खर्च हुने गरेकाले पनि विश्वमा आर्थिक संकट उत्पन्न हुने अवस्थालाई समयमै ध्यान दिनुपर्नेमा वित्तिय क्षेत्रका जानकारहरु बताउँछन् । जिल्लामा साक राष्ट्र बाहेक खाडी मुलुकबाट जिल्लामा भित्रिने रेमिट्यान्सको ७० प्रतिशत हिस्सा ओगटेको छ ।गतबर्षसम्म जिल्लामा बार्षिक अर्वको हाराहारी भित्रिने गरेको थियो । जिल्लाभित्र निजी बैंक तथा वित्तिय संस्थाले शाखा विस्तार गर्नुमा रेमिट्यान्स प्रमुख कारण मानिन्छ । जिल्लाको प्रमुख आयस्रोतका रेमिट्यान्स हो ।
Previous Articleप्रेस सेन्टरले आफ्नै नेतृत्वमा छलफल गर्ने
Next Article हेडमास्टर, कर्मचारी, नेता र व्यपारीको महासंघ नबनोस्