बागलुङ, ९ भदौ – जिल्लाको अमरभुमी गाविसका स्थानियले स्वास्थ्य चौकीका लागि करिब ७ लाख ६० हजार बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन । नेपाल सरकारको नयाँ स्वास्थ्य चौकी भवन निर्माण गर्न करिब ४ रोपनी जग्गा आवश्यक पर्ने प्रावधानसँगै नयाँ स्वास्थ्य चौकी भवन निर्माणका लागि करिब ४ रोपनी ११ आना जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएका हुन ।
स्थानियको सक्रियतामा स्वास्थ्य चौकीलाई करिब ७ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको ४ रोपनी ११ आन क्षेत्रफल भएको जग्गा निःशुल्क प्राप्त भएको अमरभुमि स्वास्थ चौकीका अ.हे.ब. सिता थापाले जानकारी दिइन् ।
अमरभुमी–३ का नन्दकली नाईसाले १ रोपनी ४ आना, सोही ठाउँका जनक घर्तिले ६० हजार बराबरको ५ आना १ दाम, अमरभुमी–२ का मनबहादुर पुनले करिब १ लाख ७० हजार बराबरको १ रोपनी १ आना, चन्द्रबिर घर्तिले १ लाख ६० हजार बराबरको १ रोपनी र गौरी विश्वकर्माले ५० हजार बराबरको ११ आना जग्गा स्वास्थ्य संस्थालाई निःशुल्क प्रदान गरेका हुन् ।
‘स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा सहज पहुँच होस भन्ने उद्देश्यले हामील स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा दान गर्नका लागि तयार भएका हौ’, जग्गादाता मनबहादुर पुनले भने– ‘समाज र समुदायमा परोपकारी कार्यका लागि हामी सधै तयार छौ ।’ जग्गा उपलब्ध भएसँगै अब अमुरभुमी स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढाईएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा परेका १० ओटा स्वास्थ्य संस्थाका भवन केही निर्माण भईसकेका र केही निर्माणाधिन अवस्थामा रहेको शहरी बिकास तथा भवन डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
अघिल्लो बर्ष भने जिल्लाको धम्जा, बोबाङ र लेखानी स्वास्थ्य चौकीका लागी नयाँ भवन परेको र उक्त भवनहरु पनि निर्माणाधिन अवस्थामा रहेको र यसवर्ष पनि केही नयाँ भवनका लागि स्वास्थ्य सेवा विभागमा पहल थालिएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताए ।
Previous Articleइमेजले लोकगीत प्रतियोगिता गर्ने
Next Article ९ भदौ २०७३, ढोरपाटन दैनिक