बागलुङ, ६ माघ – प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले पत्रकार महासंघ बागलुङ शाखाको आसन्न अधिवेशनमा पत्रकार दिल शिरीषको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरेको छ । प्रेस चौतारीको बुधबार सम्पन्न बैठकले पत्रकार शिरीषलाई आधाकारिक रुपमा चुनावी नेतृत्व दिने निर्णय गरेको हो । पत्रकार महासंघ बागलुङको फागुन ३ गते अधिवेशन मिति तयार गरिएको । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । शिरीष धौलागिरी एफएम र कैफियत अनलाईन पत्रिकाको समाचार सम्पादक, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र उज्यालो नाईन्टी नेटर्वकको बागलुङ संवादाता तथा पत्रकार महासंघ बागलुङको सचिवमा रहेका छन् । शिरीषविगत एक दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशिल रहँदै आएका छन् । बैठकले जिल्ला शाखा अध्यक्ष उमाकान्त शर्माको संयोजकत्वमा ३ सदस्य वार्ता समिति गठन गरेको छ । समितिको सदस्यमा रामबहादुर जिसी र हिमाल शर्मा रहेका छन् । अधिवेशनलाई लक्षित गरी शाखा उपाध्यक्ष नवीन शिशिरको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । प्रचार समितिमा प्रेस चौतारीका सम्पूर्ण संगठित सदस्य रहने बताइएको छ । बैठकले कोषाध्यक्ष रविना बोहराको संयोजकत्वमा आर्थिक संकलन उपसमिति गठन गरेको छ । समितिको सदस्यमा सुवास गौतम र भुपेन्द्र केसी रहेका छन् । चौतारीले निर्वाचन अवस्थालाई लक्षित गरी अध्यक्ष उमाकान्त शर्मा, रामबहादुर जिसी, हिमाल शर्मा दिल शिरीष, रामकृष्ण बोहरा रहेको उम्मेदवार छनौट समिति गठन गरेको उपाध्यक्ष नवीन शिशिरले जानकारी दिए । बैठकले प्रेस चौतारीद्धारा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार वितरण छनौट समिति गठन गरेको छ । समितिको सदस्यमा अध्यक्ष उमाकान्त शर्मा, उपाध्यक्ष नवीन शिशिर, सचिव र्सिजना पन्त र दिल शिरीष सदस्य रहेको समिति गठन गरेको छ । छनौट समितिले निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार छनौट गरी माघ २२ गते स्थापना दिवसको दिन पुरस्कार वितरण गर्ने गरी पुरस्कार प्राप्त गर्ने पत्रकार छनौट गर्ने छ । बैठकमा बोल्दै प्रेस चौतारी नेपाल केन्द्रीय सचिव रामकृष्ण शर्माले पत्रकार महासंघ बागलुङ शाखाको नेतृत्वमा अन्तिम समयसम्म पनि सर्वसम्मतको अधिकतम प्रयास गर्नुपर्ने बताएका थिए । त्यस्तै बागलुङ जिल्ला इन्चार्ज वर्षा शर्माले महासंघमा साझा संस्थाको रुपमा स्थापित गर्न चौतारीले पहल गर्नुपर्नेमा जोडदिएका थिइन । महासंघको संस्थागत विकासको लागि सम्पूर्ण पत्रकार संगठन मिल्नु विकल्प नरहेको उनको भनाई थियो ।