काठमाडौं, ४ माघ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ नेताहरुमांझ सशक्त सम्बोधन गरेका छन् ।राजधानीमा मंगलबार आयोजित नेपाल र चीनका ‘थिंकट्यांक’हरुको संयुक्त सम्मेलनमा ओलीले चिनियाँ नेताहरुको मन जित्ने सम्बोधन गरेका हुन् ।
चीन अध्ययन केन्द्र, चिनियाँ समाचार संस्था सिन्ह्वा र चीनको हेवेइ बिश्वविद्यालयद्धारा आयोजित सम्मेलनमा एमाले अध्यक्ष ओलीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । सम्मेलनमा चिनिया कम्युनिष्ट पार्टीको विदेश विभाग सदस्य ह्वाङ योयीको नेतृत्वमा आएको १४ सदस्यीय चिनियाँ टोली पनि सहभागी थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै ओलीले के भने ?
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनसँगको नेपालको परराष्ट्र नीति अपरिवर्तनीय रहेको जनाउँदै एक चीन नीतिप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।
चीन अध्ययन केन्द्र र चिनियाँ समाचार संस्था सिन्ह्वाले मंगलबार आयोजना गरेको ‘चीन–नेपाल विद्वत समूह सम्मेलन’ (चाइना नेपाल थिङ्क ट्याङ्क कन्फरेसन्स्) को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले जुनसुकै पार्टीले सरकारको नेतृत्व गरे पनि चीनप्रतिको नेपाल नीति परिवर्तन हुँदैन, एक चीन नीतिमा यहाँका सबै दल अडिग भएको बताए ।
संविधान कार्यान्वयन अहिलेको अपरिहार्य आवश्यकता रहेको भन्दै उनले त्यसमा चीनलगायत सबै छिमकी र विश्व समुदायको सहयोग चाहिने उल्लेख गरे। दुई देशका बीचमा आर्थिक सम्बन्ध विस्तार व्यापार आदान प्रदानबारे आफ्नो सरकारको पालामा भएका सन्धि सम्झौताको कार्यान्वयनमा शिथिलता आएको अध्यक्ष ओलीको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल दुवै छिमेकी मुलुकसँग समदूरीको सम्बन्ध बढाउन चाहने र सडक, हवाई र सम्पर्क विस्तारका क्षेत्रमा दुवै देशको आर्थिक ‘ट्रान्जिट पोइन्ट’ नेपाललाई बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नयाँ शक्ति नेपालका नेत्री हिसिला यमी, सङ्घीय समाजवादी फोरमका नेता शिवजी यादवलगायतले दुई देशको सम्बन्धबारे प्रकाश पारे ।