बागलुङ, ३ माघ – बालबालिका र अभिभावक समेतको पठन शिप बढाउने उद्धेश्यले पाला गाविसका सबै विद्यालयमा पुस्तकालय स्थापना भएका छन् । बेलायतको रिसोल्भ इन्टरनेशनलको सहयोगमा नेपाल गाजा डेवलपमेन्ट फाउन्डेसनले ती पुस्तकालय बनाएको हो । सबै विद्यालयमा बनेका पुस्तकालयहरु आइतवार धिमिकरिना माविमा एक कार्यक्रमको आयोजनाका बीच जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्र र रिसोल्भ इन्टरनेशनलका प्रमुख किथ लेककले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उक्त अवसरमा जिल्ला शिक्षा अधिकारी मिश्रले पुस्तकालय स्थापना हुनुमात्र गुणस्तरीय शिक्षाको सूचन नभइ कुशल व्यवस्थापन, पुस्तकको सदुपयोग र त्यसबाट अभिभावक, शिक्षक र विद्यार्थीले समेत फाइदा लिन सक्नुपर्ने बताए । उनले नेपाल सरकारले पनि सकेसम्म धेरै विद्यालयमा पुस्तकालय स्थापना गरेर बालबालिकाको गुणस्तरीय सिकाईलाइ अझै बढाउने उद्धेश्य राखेको बताए । कार्यक्रममा आएका किथ लेककले सरसफाइ, खानेपानी लगायतका विकासमा १२ बर्ष देखि नेपालमा सहयोग र सहकार्य गर्दै आएको बताए । उनले अन्य क्षेत्रमा गरेको कामको आधारमा शिक्षाको विकासमा पनि सहयोग गरेको बताए । शिक्षामा आँफू नयाँ भएकोले पुरानो र अनुभवी संस्थाको रुपमा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनलाइ रोजेको बताए । रिसोल्भ इन्टरनेशनल अन्तराष्ट्रिय गैरसरकारी संस्था नभएर सहयोग गर्ने च्यारेटी भएको समेत उनले बताए । नेपालका धेरै बालबालिकाहरु एसएलसी सम्म पुग्दा घटेको र सिकाइ उपलब्धी घटेको देखेपछि सानै उमेरमा पुस्तकालय अध्ययन गर्ने, पढाइ शिपको विकास गर्ने र आफ्नो विद्यालय तहको शिक्षामा अब्बल बनाउनका लागि पुस्तकालय बनाएको बताए । ४७ लाख रुपैयाँको लागतमा पालामा रहेका धिमि करिना मावि, तितौरे मावि, जनकल्याण निमावि, सरस्वती प्रावि र जनचेतना प्राविमा पुस्तकालय बनाइएको हो । ती पुस्तकालयमा फर्निचर, पुस्तक, शैक्षिक सामाग्री, पजल लगायतको आवस्यक सामाग्री समेत सहयोग गरिएको हो । न्यानो कार्पेट विच्छ्याइएकोले बालबाबालिकाले बसेर पढ्न पाउने व्यवस्था छ । साथै आवस्यक किताव घरमा समेत लगेर पढ्न पाउँछन् । केही समय अघिदेखि मात्र संचालनमा ल्याइएको भएपनि बालबालिकाले सरकारले तोकेको पाठ्यक्रम बाहेकका पुस्तक पढ्न पाएर रमाउन थालेको गाउँबाल संजालकी अध्यक्ष रविना क्षेत्रीले बताइन् । अधिकांस बालबालिकाले आँफूले पढेका सामाग्री अभिभावकलाइ पनि सुनाउने गरेको अभिभावकले समेत बताए । गाविसलाइ खुला दिशा मुक्त, पूर्ण खोप युक्त र निशुल्क तथा अनिवार्य शिक्षा पुरा भएको घोषणा गरिसकिएको अवस्थामा सबै विद्यालयमा पुस्तकालय पुगेको सन्देशले गाविसको सम्मानीत अवस्थामा पुगेको गाविस सचिव रिता रानाले बताइन् । विद्यालयमा जिल्ला शिक्षा अधिकारी र बिदेशी दाता समेत आएको खुसीयालीमा पञ्चेबाजाले स्वागत गरिनुको साथै सबै विद्यालयका बालबालिकाले गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । यो अभियान सँगै ती विद्यालयमा पुस्तकालय व्यवस्थापन अक्षकोष समेत स्थापना गरिएको छ । विद्यालयले एक जना शिक्षकलाइ पुस्तकालय हेर्नेगरी व्यवस्था पनि गरेको छ । सहयोगबाटै धिमि करिना माविमा ४० हजार, तितौरे माविमा ५० रुपैयाँ, जनचेतना प्राविमा ५० हजार रुपैयाँको अक्ष कोष स्थापना गरिएको हो । त्यस्तै सरस्वती प्राविमा २५ हजार र जनकल्याण निमाविमा १० हजार रुपैयाँको अक्षयकोष स्थापना भएको हो । आइतबार भएको पुस्तकालयहरु उद्घाटन कार्यक्रम गाविस सचिव तथा गाउँ शिक्षा समितिका अध्यक्ष रिता रानाको अध्यक्षता, शिक्षक देवबहादुर क्षेत्रीको संचालन र हरिबहादुर रानाको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्र, सहयागी संस्थाका को अवसरमा किथ लेकक, भीमापोखरा श्रोत केन्द्रमा श्रोत व्यक्ति श्रीप्रसाद न्यौपाने, नेपाली काँग्रेस पालाका अध्यक्ष खड्ग बहादुर थापा, एमालेका अध्यक्ष बुद्धबहादुर कार्की,माओवादी केन्द्रका टिकाबहादुर थापा, राप्रपाका धनबहादुर कार्की गाविसका पूर्व अध्यक्षहरु हरिप्रसाद शेरचन र बाणीराज कार्की, बाल संजालकी अध्यक्ष रविना थापा र धिमिकरिना माविका प्रअ मानबहादुर थापले पनि बोलेका थिए । यसै बीच किथ लेककले पालाकै सरस्वती प्राविको नयाँ पुस्तकालय तथा कक्षा कोठामा अनुगमन गरेका थिए । उनले अनुगमनबाट पुस्तकालय पढ्ने बानीको विकास भएको र अभिभावकको चासो बढेकोमा खुसी व्यक्त गरेका थिए । उनले सबै विद्यालयको भ्रमण गरेर पुस्तकालयको प्रभावकारिता बारे पनि अध्ययन गर्ने बताइएको छ ।
Previous Articleवीर गोर्खाली र फ्युचर विजयी
Next Article यस्तो देखियो तस्विरमा राष्ट्रपतिकी छोरीको विवाह