बागलुङ, २ माघ – मालारानी युवा क्लव दर्लिङ–१ ले आयोजना गरेको माघे सक्रान्तिमेलाको शनिबार एक कार्यक्रमसहित उद्घाटन गरिएको छ । दर्लिङको मालारानीमा भएको कार्यक्रममा रेडियो बुर्तिबाङ तथा ईमेज सहकारीका अध्यक्ष तथा पश्चिमाञ्चल भलिबल संघका सल्लाहकार देवकुमार नेपालीले मेलाको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले नागरिकको जीवनस्तर सुधारका लागि शिक्षाको महत्व रहेको बताए । उनले क्लवले प्रतियोगितात्मक कार्यक्रम सहित समाज सुधार तथा परिबर्तनका कामलाई पनि अघि बढाउन आग्रह गरे । नेपालीले पछि परेको दलित समुदायलाई अघि बढाउनु राज्यको पहिलो दाईत्व भएको भन्दै शिक्षा र चेतना बढाउन आफै लाग्नुपर्नेमा पनि जोड दिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक केदारनाथ उप्रेती, नेपाल भुतपुर्व सैनिक संघका केन्द्रिय कोषाध्यक्ष टोपबहादुर मल्ल, नेपाली काँगे्रसका कृष्ण गुरुङ, नेकपा एमालेका केसर छन्त्याल, नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल, महिला अगुवा गण्डकी थापा अधिकारी, युवा समाज सेवि कृष्ण भट्टराईले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपालीले स्थानिय संघ संस्था तथा समुदायलाई ठुलो धन राशी सहितको रकम सहयोग गरेका छन् । उनले मालारानी प्राविलाई तिन बर्षका लागि मासिक ६ हजारका दरले एक जना शिक्षकको तलब, क्लवलाई ७० हजार नगद, स्थानिय महिला समुहलाई नगद १० हजार, पञ्चेबाजा समुहलाई १० हजार, स्थानिय दलित समितिलाई १० हजार र कलाकार टिमलाई २ हजार नगद सहयोग प्रदान गरेका छन् । उनले मालारानीमा भएका दलित समुदाय आफ्नो आमाको माईती भएको स्मरण गर्दै उनिहरुको घर छाउनको लागि रङ्गिन जस्ता पाता सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले त्यहाँ भएका घरधुरी गणना गरि आफ्नो घर छाउन पुग्ने जति जस्तापाता दिने बताए । कार्यक्रम क्लवका अध्यक्ष युवराज मल्लको अध्यक्षता, रमेश मल्लको स्वागत र राजकुमार केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।