काठमाडौँ, २ माघ – सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राष्ट्रहित अनुकूल नरहेका केही बुँदा नहटाई संविधान संशोधन विधेयक पारित गर्न खोजे सरकार नै छाड्ने प्रस्ट पारेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा ल्याएर संशोधन पारित गर्ने योजना बनाइरहेका बेला राप्रपाले सो जनाउ दिएको हो । दुवै दलका नेताहरूले पार्टी अध्यक्ष सरकारमा नजाने घोषणासमेत गरेका छन् ।
दुवै दलले संविधान संशोधन विधेयक परिमार्जन नगरी यथास्थितिमा सरकारमा सहभागी नहुने प्रस्ट पारेका हुन् । राप्रपा अध्यक्ष थापा र फोरम लोकतान्त्रिक प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने भन्दै जनतामा भ्रम छर्ने काम भएको दुवै पार्टीका नेताले प्रस्ट पारेका हुन् ।
राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले अध्यक्ष थापा यथास्थितिमै दाहाल नेतृत्वको सरकारमा सहभागी नहुने प्रस्ट पारे । ‘जसका लागि सरकारले संविधान संशोधन गर्न खोज्दै छ, त्यही मधेसी मोर्चाले आफ्नो माग संशोधन विधेयकले पूरा गर्न नसक्ने बताउँदै गर्दा यथास्थितिमै संशोधन गर्नु राम्रो होइन, विधेयक परिमार्जन गरेर देशहितमा नरहेको बुँदा नहटाई अध्यक्ष सरकारमा जानुहुन्न,’ गिरीले भने । राजधानी
Previous Articleचिसो मध्यरातमा यसरी बरामद भयो १५ किलो सुन
Next Article शीतल निवासमा बिहेको चटारो