नयाँ दिल्ली, २८ पुस – पाँच सय र हजार दरका भारतीय नोट साट्ने सम्बन्धमा तयार पारेको मोडालिटी नेपालले भारतलाई औपचारिक रूपमा बुझाएको छ । पुराना नोट साट्ने सम्बन्धमा दुई देशका उच्च अधिकारीहबका बीचमा बिहीबार नयाँ दिल्लीमा भएको वार्तामा नेपालले आफूले तयार पारेको मोडालिटी बुझाएको हो । सो मोडालिटीमा केही संशोधन गर्नुपर्ने सुझाव भारतीय पक्षले दिएकाले नोट साट्ने ठोस निर्णय हुन अझै केही समय कुनुपर्ने देखिन्छ ।
वार्तामा सहभागी नेपाली अधिकारीहरूका अनुसार भारतले नेपालमा रहेका पुराना नोटहरू साट्ने सम्बन्धमा सकारात्मक र संवेदनशील रहेको प्रतिक्रिया दिएको छ । बैठकमा सहभागी एक अधिकारीका अनुसार भारतीय पक्षले दिएको सुझाव समावेश गरेपछि प्राविधिक विषयमा टुंगोमा पुगिनेछ । भारतमा पुराना नोटहरू साट्ने समयसीमा डिसेम्बर ३० मा समाप्त भए पनि नेपाललाई विशेष व्यवस्था गर्न दुई देशका अधिकारीहरूका बीचमा वार्ता भएको हो । बैठकमा नयाँ दिल्लीस्थित नेपाली दूतावासका इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्करले सो मोडालिटीका बारेमा भारतीय पक्षलाई जानकारी गराइएको बताए ।
उनले भने, ‘हामीले नोट साट्ने प्राविधिक मोडालिटी हस्तान्तरण गरेका छांै, त्यसमा भारतीय पक्षले केही फिडब्याक दिएको छ ।’ पुष्करले सो मोडालिटीमा परिचयपत्र, आम्दानीको स्रोत लगायतका विषयहरूलाई स्पष्ट खुलाएर मात्र पुराना भारतीय नोटहरू साट्न सकिने लगायतका प्रावधान रहेको बताए । यद्यपि सो मोडालिटीको विषयमा छलफल सुरु भएकाले अधिकारीहरूले स्पष्ट रूपमा जानकारी दिएका छैनन् ।
पुष्करका अनुसार भारतीय पक्षले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यसले नेपालमा परेको समस्या समाधान गर्नका लागि आफूहरू गम्भीर र संवेदनशील रहेको बताएका थिए ।’ नेपाल र नेपालीले भोगेका वास्तविक समस्या समाधान गर्न भारतीय पक्ष सकारात्मक देखिन्छ,’ पुष्करले भने । पुराना नोट साट्ने सम्बन्धमा गैरकानुनी रूपमा कमाइएको र कालोधन साट्ने वातावरण नबनोस् भन्ने भारतीय पक्षको चासो रहेको छ । नेपाली पक्षले यस्ता विषयहरूलाई पूर्ण रूपमा सम्बोधन गर्ने आश्वासन दिएको छ । नेपालको बैंकिङ प्रणालीमा रहेका नोटको यकिन भए पनि सर्वसाधारणसँग भएको रकमको यकिन छैन ।
त्यसैगरी भारु सय रुपैयाँका नोटहरू सुचारु गर्ने विषयमा समेत भारतीय पक्षले सकारात्मक जवाफ दिएको नेपाली अधिकारीहरूको दाबी छ । वार्षिक रूपले भारतले दिँदै आएको ६ अर्ब रुपैयाँको पहिलो किस्ता तत्काल दिन भारत सहमत भएको छ । भारतीय रिजर्भ बैंकले दिँदै आएको भारु केही समययता दिन रोकेपछि विद्यार्थाी तथा औषधि उपचारका लागि भारत आउने नेपालीहरूले समस्या भोगेका थिए । ‘पहिलो किस्ता भारु निकासा गर्न भारतीय पक्ष तयार भएको छ, हामीले छिट्टै त्यो प्राप्त गर्छौं,’ पुष्करले भने ।
नयाँ पाँच सय र दुई हजार रुपैयाँका नोट नेपालमा चलनचल्तीमा ल्याउने विषयमा समेत कुराकानी भएको थियो । भारतीय पक्षले नेपालले चाहेमा नयाँ नोट प्रचलनमा ल्याउन आफूहरूलाई कुनै समस्या नहुने बताएको छ । तर यसका लागि नेपाली पक्षले औपचारिक आग्रह भने गरेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा पाँच सय र हजारका नोटहरू रद्द भएको घोषणा गरेका थिए । भारतमा पुराना नोटहरू साट्ने समयसीमा डिसेम्बर ३० मा सकिएको छ । नेपालमा र भुटानमा त्यसले पारेको समस्या अझै समाधान भएको छैन । गत डिसेम्बर ३० मा रिचर्व बैंकका केही स्थानहरूमा मात्र आगामी मार्च ३१ सम्म पुराना नोटहरू साट्न सकिने व्यवस्था गरेको छ । पुराना नोटहरू रद्द गरे पनि नयाँ नोट अझै सुचारु भएका छैनन् ।