पछिल्लो समय नेपालीमा खानपानको शैली बद्लिएको छ । तारे होटलदेखि फुटपात सम्ममा खानेकुराका आइटमहरु पाइन्छन् । नेपालीमा बढ्दै गएको पश्चिमी खानपानको शैलीले गाउँघरमा उत्पादन हुने अर्गानिक खाद्यन्नहरु विस्तापित हुँदै गएका छन् । आफ्नै खेतबारीमा उत्पादन हुने खाद्यन्न र कृषि उपजहरुको ठाउँ अहिले जंकफुडले लिएको छ । जंकफुडको बढ्दो प्रयोगले मानव जीवनमा विभिन्न प्रकारका रोगहरु लाग्न थालेको छ । फेरिएको जीवनशैली, अस्वस्थकर खानपानले नसर्ने रोगको जोखिमलाई बढाएको छ । चिकित्सकले यस्ता रोगहरु रोकथाम गर्नका लागि तत्काल उपाय खोज्नु पर्ने बताएका छन् । चिकित्सकले यी रोग रोकथामका लागि सरकारले नै भरपर्दो कार्यक्रम गर्नुपर्ने बताएका छन्। नसर्ने रोगको जोखिम दिनानुदिन बढ्दै गएको र नेपालमा नसर्ने रोगबाट ६० प्रतिशत मृत्यु हुने गरेको विश्वस्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ।
नसर्ने रोगको अर्को प्रमुख कारण मधुमेह भएको हुँदा नागरिकले आचरण परिवर्तन गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको जोखिम बढ्न थालेपछि पेन प्याकेज कार्यक्रममार्फत कैलाली र इलामबाट जनचेतना र उपचार सेवा दिन सुरु गरेको छ। नसर्ने रोगको समस्या बढ्दै गएकाले आर्थिक वर्ष २०७३ र ०७४ देखि नै वार्षिक कार्यक्रममार्फत अन्य नसर्ने रोगको उपचार कार्यक्रम सुरु गरेको मन्त्रालयले जनाएको छ । यसै वर्ष नै मकवानपुर, रौतहट, म्याग्दी, अछाम, पाल्पा, बर्दिया, सुर्खेत, बाग्लुङमा पनि नसर्ने रोगबारे कार्यक्रम विस्तार गरिने महाशाखाले जनाएको छ। नसर्ने रोग जोखिम बढ्दै हुँदा नसर्ने रोगबारे कार्यक्रमलाई देशव्यापी रुपमा संचालन गर्नुपर्छ । पेन प्याकेज कार्यक्रममा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने, कोही व्यक्ति छाती दुखेर स्वास्थ्य चौकीसम्म आयो भने त्यहाँको स्वास्थ्यकर्मीले लक्षण पहिचान गरी नसक्ने अवस्था हुनासाथ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउने व्यवस्था गरिएको छ ।
नेपालीमा फेरिदै गएको खानपानलाई परिवर्तन गर्न सकेमात्र नसर्ने रोगको जोखिम कम गर्न सकिन्छ । जंकफुड प्रयोगमा समय–समयमा सचेतनामुलक कार्यक्रम गरेपनि त्यसले निरन्तरता नपाउँदा गाउँघरमा उत्पादन हुने खाद्यन्न र कृषि फसलहरु बारीमै गुहिन बाध्य भएका छन् । गाउँघरमा धान रोप्ने खेत बाँझो राखेर शहरबाट आयात गरेर भान्सामा प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । बजारमा पाइने खानालाई विभिन्न केमिकल प्रयोग पनि गरिएको हुन्छ । जसले रोगको जोखिम बढाएको हुन्छ । त्यस्ता रसायन प्रयोग हुने खानाको बारेमा प्रभावकारी अनुगमन गर्ने काम पनि भएको छैन । होटल तथा रेष्टुराहरुले पस्कने खानाको विषयमा सम्बन्धित निकायले अनुगमनलाई तीव्रता दिनुपर्छ । अर्काेतर्फ अहिले गाउँ गाउँमा पनि जंगफुडको प्रयोग बढ्दो छ । जंकफुडको जोखिम घटाउनको लागि गाउँघरमा उत्पादन हुने खाद्यन्नलाई विशेष प्राथमिकता दिन आजैबाट शुरु गर्नुपर्छ ।