पछिल्लो समय सुन तस्करीका घटना बढ्दै गएका छन् भन्ने उदाहरण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो सुन पक्राउको घटनाले उजागार गरेको छ । यति ठुलो परिणाममा सुन तस्कर भएको घटना सार्वजनिक भएपछि अहिले विमानस्थल र भन्सारका कर्मचारीमाथि गंभीर प्रश्न उठेको छ । सुरक्षा निकायले त सुन तस्करमा विमानस्थल र भन्सारका कर्मचारी दोषी रहेको ठहर गरेको छ । नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विमानस्थल र भन्सारका कर्मचारीको मिलेमतोमै सुन तस्करी मौलाएको जिकिर गर्दै आएका छन् । बिमानस्थल बाहिरबाट ३३ किलो सुन पक्राउको घटनाले विमानस्थलबाट तस्करहरुले नियमित सुन तस्करी गर्ने गरेको पुष्टि भएको छ । देशकै बेइज्जत हुने यस्तो घटनामा संलग्नहरु समक्ष प्रहरी प्रशासन अहिलेसम्म पुग्न सकेको छैन ।
यता प्रहरीले विमानस्थलमा भएका घटनाको छानबिन गर्ने जिम्मा आफूहरुले नपाएसम्म तस्करीको गिरोह नियन्त्रणमा आउन नसक्ने बताएको छ । हुन पनि हो कर्मचारीको मिलेमतोमा भएका घटनाको प्रहरीले छानविन नगरेसम्म संगठित गिरोह नियन्त्रण गर्न संभव पनि छैन । भन्सार विभागले पनि सुन तस्करी काण्डमा विभागका कर्मचारीको संलग्नता रहे कारवाही गर्न तयार रहेको बताएको छ । पुरानो संरचनाको विमानस्थलका कारण पनि सुन तस्करी मौलाउँदै आएको छ । विभागले विमानस्थलमा अत्याधुनिक एक्सरे मेसिन ल्याउन नसक्दा पनि तस्करीका घटना बढ्दै गएका छन् । पछिल्लो केही वर्षदेखि सुनचाँदी व्यवसायीले बैंकमार्फत सुन किन्न छाडेकाले चोरी निकासी बढेको छ । व्यवसायीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सकेमात्र चोरी तस्करी नियन्त्रण गर्न सकिन्छ । सुन तस्करका कारण देशकै गरिमामा आँच आउने काम भएको छ । सुन तस्करीको छानविन गरेर सत्यतथ्य पत्ता लगाउने प्रहरीले ढिला गर्नु हुँदैन ।
अर्काेतर्फ विमानस्थलमा रहेको कडा सुरक्षा घेरा पार गरेर सुन तस्करी हुनुले सुरक्षा क्षमतामै प्रश्न उठेको छभने तस्करीमा विमानस्थ्ल र भन्सारका कर्मचारी पनि शंका घेरामा पर्न सक्छन् । नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करी कसरी मौलाएको छ भन्ने एक सातायताका घटना पर्याप्त छन् । प्रहरीले अवैध सुन पटक–पटक बरामद गरेपनि तस्करी बढिरहेको छ। भारतीय बजारमा सुनको अभाव रहेकाले नै नेपाललगायत छिमेकी मुलुकबाट सुन तस्करी बढेको छ । सडकमार्गबाट हुँदै आएको सुन तस्करी विमानस्थलबाट बढ्न थालेपछि बरामद सुनको परिमाण बढिरहेको छ । सुनमा धेरै नाफा भएकाले पनि तस्करी बढेको हो । सुन तस्करी बढेपनि प्रहरीले भरियालाई मात्र पक्रँदै आएको छ । प्रहरी तस्करहरुको नाईकेसम्म पुग्न नसक्दा सुन तस्करी रोकिन सकेको छैन । नेपालकै बेइज्जत हुने यस्तो कार्य रोक्नका लागि प्रहरीले गहिराईमा पुगेर अनुसन्धान गर्नुपर्छ । अर्काेतर्फ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई प्रविधियुक्त बनाउने होभने तस्करी रोकिने निश्चित छ । यसमा सरकारले तत्काल ध्यान दिनुपर्छ ।
Previous Articleएमाले क्षेत्र नं. ३ को अधिवेशन फागुनमा हुने
Next Article लोकमान, लोकतन्त्र र नेपालको कानुन