सुजन ओली
काठमाडौँ, २७ पुस – वैदेशिक रोजगारीमा गएका कामदारले कमाएको ‘रेमिट्यान्स’ नेपाल नआइ अन्य देशमा गएको र त्यहाँबाट गैरकानुनी तवरबाट सुन किनेर ल्याउने गिरोह सक्रिय रहेको खुलेको छ। विदेशमा काम गर्न गएका कामदारका परिवारलाई नेपालमै उसले (कामदार) कमाउने मासिक तलब बराबर रकम नेपालकै कम्पनीले दिने र कामदारले कमाएको विदेशी मुद्रा गैरकानुनी काममा गएको अर्थ समितिको ठहर छ।
‘नेपालमा त्यस्ता धेरै कम्पनी छन्, जसले विदेशी कामदारका परिवारलाई नेपालीमै भुक्तानी गर्छन्,’ व्यवस्थापिका संसद्को अर्थ समितिमा जवाफ दिन पुगेका अर्थ सचिव राजन खनालले भने, ‘हुन्डी कारोबारीलाई नियन्त्रण गर्न नसक्दा बारम्बार सुन तस्करी भएको हो।’
मलेसिया, कोरिया, दुबई, बहराइन, साउदी अरबलगायतका देशमा काम गर्ने कामदारका परिवारलाई यही खोलिएका कम्पनीले नेपाली रकममै तलब बुझाउने गरेको उनको दाबी छ। कामदारले विदेशमा मासिक कति तबल कमाउँछन्, त्यसलाई नेपालीमा ‘कन्र्भट’ गर्ने सो बराबरको रकम यहीँ भएको कम्पनीले दिने गरेको खनालले जानकारी दिए।
नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले त्रिभूवन विमानस्थलका कर्मचारीको मिलेमतोमा सुन तस्करी भएको बताए। ‘त्यहाँ भएका सबै सरकारी कर्मचारीको मिलेमतो बिना यत्रो सुन भन्सारबाट ‘क्रस’ हुन सक्दैन,’ बैठकमा जवाफ दिँदै उनले भने, ‘सबै कर्मकारी मिलोमतो छ। यसमा सरकारले छानबिन गरेर सत्यतत्य बाहिर ल्याउनुपर्छ।’
नेपालमा रेमिट्यान्स कम्पनी चलाउने व्यक्तिले हुन्डीमार्फत नेपालमै रकम भुक्तानी गर्ने र विदेशमा कमाएको रकम तस्करीमा प्रयोग हुने गरेको समितिका सभापति प्रकाश ज्वालाले बताए। ‘मलेसियमा धेरै जसो नेपालीले आफ्नै व्यवसाय सुरु गरेका छन्,’ ज्वालाले भने, ‘उनीहरुको आफ्नो कम्पनीमा काम गर्न नेपाली कामदार लैजाने र उनीहरुले त्यहाँ कमाउने मासिक रकम बराबर नेपालकै अर्को कम्पनीले दिने गरेका छन्,। त्यस्ता कम्पनीको खोजी गरेर सरकारले कानुनी दायरामा ल्याउनु जरुरी छ।’
मलेसिया, दुवई, कतार, साउदीअरबलगायतका देशमा धेरै नेपालीले व्यवसाय सुरु गरेका छन्। उनीहरुको कम्पनीमा काम गर्न नेपाली कामदार नै गएका छन्। तर, उनीहरुले कमाएको विदेशी मुद्रा नेपाल नआई हङ्कङ, थाइल्यान्ड, दुबईलगायतका देशमा जाने गरेको छ।
हुन्डीमार्फत विदेशीने पैसा खासगरी, गैरकानुनी रुपमा हातहतियार किन्न, सुन किन्नलगायत ठाउँमा प्रयोग हुने गरेको छ। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल पनि उपस्थित बैठकमा सभापति ज्वालाले भरिया मात्रै यसको दोषी देखिएको बताए। तर, मालिक समात्न अर्याललाई निर्देशन समेत दिए।
अर्थमन्त्री कृष्णबहादुर महराका अनुसार सुन तस्करी राष्ट्रिय लज्जाको विषय भएको छ। तस्करीमा ठूलै संगठित गिरोह लागिपरेको भन्दै यसको सञ्जाल थुप्रै ठाउँमा रहेको उनको दाबी छ। गत विहीबार अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रेको थियो। विमानस्थलको सुन तस्करी प्रकरण छानबिन गर्न भन्सार विभागले पाँच सदस्यीय समिति बनाइसकेको छ।
विदेशी मुद्रा अपचलन
अलि ठूला हुन्डीवालाको नेपालमा पनि मनी एक्सचेन्ज, रेमिटजस्ता देखावटी व्यवसाय हुन्छन्। कतिपय ट्राभल एजेन्सीले पनि यसको काम गर्छन्। खुलेआम विदेशी मुद्रा विनिमयको काम गर्ने तिनले किन्दा बैंकभन्दा केही बढी र बेच्दा सयमा १० रुपैयाँसम्म बढ्ता लिने गर्छन्।
‘तीमध्ये कतिपयको काम महँगोमा डलर बेच्नु र बाहिर धन्दा गर्नेलाई उपलब्ध गराउनु हो’, खनाल भन्छन्, ‘अनि, सरकारले सीमा तोकेभन्दा बढी डलर विदेश पुग्छ । उताउतै कारोबार हुन्छ ।’
सामान निर्यातकर्ताले कमाएको डलर पनि स्वदेश कमै ल्याउँछन्। विदेशमै डलरमा खाता खोल्ने, उतै महँगोमा बेच्ने गर्छन्। अर्थविद् विश्वम्बर प्याकु¥याल भन्छन्, ‘सँगसँगै दुइटा व्यापार हुन्छ, एउटा सामानको, अर्को विदेशी मुद्राको। त्यसलाई सजिलो पारिदिएको छ हुन्डीले।’
कालो व्यापार
मानौं तपाईं मलेसिया हुनुहुन्छ। तपाईंले नेपालमा पैसा पठाउनु छ। हुन्डीवालाले नेपालको एजेन्टलाई खबर गर्छ। तपाईंको आफन्तले तत्काल भुक्तानी पाउँछ। तपाईंलाई लाग्ला– त्यो पैसा आफ्नो घरमा त पुग्यो, यताको एजेन्टले उताको एजेन्टलाई चाहिँ कति दिनमा, कसरी नेपाल पठाउला? त्यसबापत उसलाई के फाइदा होला?
‘पैसा पुग्दैन,’ प्याकुर्याल भन्छन् ‘त्यो पैसा चीन, हङकङ, थाइल्यान्ड, भारतजस्ता देशमा पुग्छ। त्यहाँबाट नगद होइन, सामान नेपाल जान्छ।’ उदाहरणका लागि मलेसियाको एउटा हुन्डीवालाले केही व्यक्तिबाट एक लाख अमेरिकी डलर जम्मा गर्यो। त्यो पैसा चीन पुग्यो। नेपालमा सम्बन्धित व्यक्तिका आफन्तलाई उताको व्यापारीले त्यति नै रकम भुक्तानी दिन्छ। ऊ १० हजार डलरको आयात अनुमतिपत्र लिएर चीन पुग्छ। त्यहाँ एक लाख डलरको सामान किन्छ। त्यसलाई कम मूल्यांकन गराई जम्मा १० हजारको बनाएर नेपाल पुर्याउँछ।
के हो हुन्डी ?
हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो। दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ। नेपालबाट भारतमा पैसा पठाउन हुन्डीको भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ, नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ। यसबापत उनीहरूले केही प्रतिशत रकम लिने गर्छन्।
पहिले विद्युतीय सामग्रीको कारोबार गर्ने व्यक्तिहरूले त्यसैको आवरणमा हुन्डीको धन्दा चलाउने गरेका थिए। बैंकिङ च्यानलबाट कारोबार गर्दा स्रोत खुलाउनुपर्ने भएकाले अवैध किसिमको पैसा लेनदेन हुन्डीमार्फत हुने गरेको हो।
लागुऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुन्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको प्रहरी अधिकारी बताउँछन्। त्यस्तै, आतंकवादी क्रियाकलापको पैसा पनि हुन्डीमार्फत नै एक देशबाट अर्काे देशमा पुग्ने गरेको छ।