बागलुङ, २५ पौष – चालु आर्थिक बर्ष देखि लागू हुनेगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन हुने भएको छ । आगामी २०८२ सालसम्म संचालन हुने यो परियोजनाले कृषिको व्यवसायिकीकरण गर्दै युवाहरुलाई स्वरोजगार बनाउने र आर्थिक रुपमा सबल बनाउने लक्ष राखेको छ । प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकै र सुन्तलाका लागि विशेष ब्लक निर्माण गरेर कार्यक्रम संचालन गर्नेगरी सरकारी कार्यक्रम जिल्लामा आएको बरिष्ठ कृषि विकास अधिकृत मदन थापाले बताए । १० हेक्टरमा संचालन हुने साना व्यवसायिक कृषि उत्पादन केन्द्रलाइ पकेट, १ सय हेक्टरमा व्यवसायिक कृषि उत्पादन केन्द्र संचालन भएमा ब्लक, ५ सय हेक्टरमा व्यवसायिक कृषि उत्पादन र प्रशोधन केन्द्र सहित स्थापना हुने क्षेत्रलाई जोन र १ हजार हेक्टरमा वृहत व्यवसायिक कृषि उत्पान तथा औद्योगिक क्षेत्र स्थापना हुने ७ प्रदेशमा एकएकवटा सुपरजोन स्थापना गरिने गरी यो परियोजना आएको हो । मकै खेतीका लागि तंग्राम, धम्जा, भीमापोखरा र पालालाइ विशेष ब्लकको रुपमा अगाडि सारिएको छभने सुन्तला खेतीका लागि बिहुँ, सिगाना, तित्याङ र भकुण्डेमा १ सय हेक्टर जमिनलाई ब्लक बनाउने तयारी गरेको हो । साथै चालु बर्षमै कार्यालयले जिल्ला भित्र मकै, तरकारी, धान र अन्य कृषि फलसका लागि १०÷१० हेक्टर क्षेत्रफलका २० वटा पकेट क्षेत्र बनाउने तयारी गरिरहेको छ । हाल कृषि कर्म भैरहेका स्थानलाई ब्लक र पकेट क्षेत्र बनाएपछि परियोजनाका अन्य क्रियाकलाप संचालन गर्न आउने बजेटलाई पूर्वाधार र चालु खर्चमा लगाइने छ । ती क्षेत्र जिल्ला कृषि विकास कार्यालयले छनौट गरेका क्षेत्रमा गठन हुने र स्थानीय रुपमा गठन हुने कृषि समितिले निर्धारण गर्नेछ । बागलुङमा गत आर्थिक बर्ष २०७२÷७३ मा २० हजार ३ सय १ हेक्टरमा ६५ हजार ७ सय मेट्रिकटन मकै उत्पादन भएको छ । त्यस्तै ४५ हेक्टर क्षेत्रफलमा ६५ मे टन मकैको बीउ उत्पादन भएको छ । बानपा र राङखानीमा मकैको बीउ उत्पादन गर्ने योजना पनि छ । त्यस्तै २ सय हेक्टरमा ६० हजार रुखमा २९ हजार मे टन सुन्तला उत्पादन अघिल्लो बर्ष भएकोले त्यसलाइ अझै बढाउने गरी ब्लक कार्यक्रमले समेट्ने सूचना अधिकारी बिप्लब अधिकारीले जानकारी दिए । बागलुङमा एक बर्षमा सुन्तला विक्रिबाट १० करोड रुपैयाँ आम्दानी लिंदै आएका छन् । त्यस्तै कार्यालयले जिल्लाका किसानलाई ५ सय वटा मौरी घार २५ प्रतिशत अनुदानमा वितरण गरेको थियो । ती घारबाट २८ मे टन मह उत्पादन भएको छ । स्थानीय ५ हजार ५ सय ८६ मुडेघारबाट ८ सय केजी मह उत्पादन भएको छ । कार्यालयका अनुसार जैदी र दगातुम्डाँडालाइ मह उत्पादन पकेट क्षेत्र, नारायणस्थानलाइ धान उत्पादन पकेट क्षेत्र, ताराखोला, बोबाङ र तमानलाई आलु उत्पादन पकेट क्षेत्र, बानपाको पावरहाउस क्षेत्रलाई तरकारी पकेट क्षेत्र, रिघा, देवीस्थान, हिल र बुर्तिवाङलाइ मकै उत्पादन पकेट क्षेत्र घोषणा गरिएको हो । त्यस्तै दमेक, सर्कुवा, सिसाखानी र हरिचौरलाई पनि सुन्तलाको पकेट क्षेत्र बनाइने भएको छ । नगदेबालीतर्फ तीन गाविसलाइ छनौट गरिएको छ । हाल ११ हेक्टरमा अलैची लगाइएको छभने विभिन्न गैरसरकारी संस्था समेतको सहयोगमा जिल्लामा १० मे टन अलैची उत्पादन हुने गरेको छ । वृहत्तर मकै विकास कार्यक्रम अन्र्तगत अघिल्लो बर्ष ८ सय हेक्टरमा १७ मेटन बीउ उत्पादन भएको थियो । जिल्लामा प्लाष्टिक टनेलमा गोलभेडा उत्पादनको क्रम पनि क्रमश बढीरहेको छ । कार्यालयले अनुदान दिएका २ हजार ७ सय प्लाष्टिक टनेलमा किसानले गोलभेडा खेती गरिरहेका छन् । गत आवमा मात्र कार्यालयले ४ सय ६० वटा टनेल २५ प्रतिशत अनुदानमा वितरण गरेको थियो । ढोरपाटन, ताराखोला, पाण्डवखानी, गाजा दह आसपासमा फल्ने आलुले पकेटको रुप पाएको छ । अन्य जिल्ला भन्दा फरक गरी बर्षातमा पनि बागलुङमा आलु उत्पादन हुने बागलुङ मात्र हो । हिउदमा २ हजार हेक्टर र बर्षातमा १ हजार हेक्टरमा आलु उत्पादन भैरहेको अधिकारीले जानकारी दिए । उक्त क्षेक्रफलमा ३० हजार मेटन आलु उत्पादन भइ जिल्ला र बाहिर समेत खपत भैरहेको हो । कृषि सामाग्री संस्थानको पर्वत कार्यालय र साल्टट्रेडिङ कार्यालयबाट ५ सय ८६ मेटन रसायनिक मल र ६ मेटन प्राङगारिक मल खपत भएको देखिएको छ । आइतवार कार्यालयले आयोजना गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लक स्तरीय अभिमूखिकरण गोष्ठीमा अगुवा सुन्तला उत्पादक किसान र संचारकर्मीलाइ यो जानकारी गराइएको थियो । कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत मदन थापा, बागवानी अधिकृत महिमा बज्राचार्य र सूचना अधिकारी बिप्लब अधिकारीले परियोजना बारे प्रष्टयाएका थिए ।
Previous Articleपुर्वप्रहरी संगठनको साधारणसभा सकियो
Next Article मधेसी मोर्चाको अबरोध छिचोल्दै एमाले मधेसमा