सर्वोच्च अदालतले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त हुन अयोग्य भएको फैसला सुनाएको छ। सर्वाेच्चको फैसलासँगै कार्की स्वतः पदमुक्त भएका छन्। संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरिएपछि उनी निलम्बित थिए। दोस्रो संविधानसभा चुनाव गराउन गठित मन्त्रिपरिषद्का बेला संवैधानिक परिषद्ले कार्कीलाई अख्तियार प्रमुख आयुक्तमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही आधारमा तत्कालीन राष्ट्रपति रामवरण यादवले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेका थिए। संसद्ले कार्कीविरुद्धको महाभियोग प्रस्ताव महाभियोग समितिमा पठाउने निर्णय गरेकै दिन आइतबार सर्वोच्च अदालतले उनलाई अख्तियार प्रमुख आयुक्त हुन अयोग्य रहेको फैसला सुनाएको हो।
०६२ र ६३ को जनआन्दोलन दमन छानबिन गर्न गठित कृष्णजंग रायमाझी आयोगले कार्कीसमेतलाई दोषी ठहर गर्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनका आधारमा सरकारले सोधेको स्पष्टीकरणको जबाफ नदिई राजीनामा दिएर हिँंडेकाले कार्कीलाई ख्यातिप्राप्त व्यक्ति भन्न नमिल्ने फैसलामा उल्लेख छ। त्यस्तै अख्तियारमा नियुक्तिका बेला कार्कीले संवैधानिक परिषदमा पेस गरेको वैयक्तिक विवरणमा आफूमाथि कारबाहीका लागि सरकारले सोधेको स्पष्टीकरणको विषय लुकाएको पनि फैसलामा उल्लेख छ। म्याद तामेलीमा अवरोध गरी सर्वोच्चको अवहेलना गरेको भन्दै परेको मुद्दामा भने इजलासले कार्कीलाई सफाइ दिएको छ। म्याद तामेलीमा अवरोध गर्ने कार्यमा कार्कीको संलग्नता नदेखिएको भन्दै सफाइ दिइएको हो। अख्तियार प्रमुख बन्न कार्कीको योग्यताले नभ्याउने भन्दै सिफारिस रोक्न माग राखेर अधिवक्ता ओमप्रकाश अर्यालले २०६९ चैत ७ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए।
कार्की अख्तियार प्रमुख भएपछि आफ्ना विरोधीहरुलाई बद्ला लिन उद्दत बनेका थिए । उनले विरोधीले भ्रष्टाचारकै मुद्दा खेपे भने कोही अझै अनुसन्धानभित्रै परेका छन् । भ्रष्टाचार र अख्तियार नियन्त्रण गर्ने जिम्मेवारी पाएको अख्तियार प्रमुख आफैं प्रमुख दुरुपयोगकर्ता बन्न पुगे । उनी भ्रष्टाचारका उजुरीमा अनुसन्धान गर्न भन्दापनि कार्यकारिणी शक्ति प्रयोग गर्न दुस्साहस गरेका थिए । ठुला भ्रष्टाचारमा अनुसन्धान गर्न चुकेका कार्की साना–साना भ्रष्टाचारका मुद्दामा केन्द्रित भएका थिए । कार्कीको महत्वकांक्षाले न्यायालयबाहेक सबै सरकारी निकाय खेलाउने होडले अख्तियार ‘समानान्तर सत्ता’ प्रयोग गर्ने थलोमा परिणत रुपान्तरित हुन पुगेको थियो । उनले सम्मानित अदालतको समेत अपमान गरेर लोकतन्त्रको खिल्ली उडाएका थिउ । अदालतबाट कार्की दोषी ठहरिएपछि लोकमान युगको अन्त्य भएको छ । समानान्तर सत्ता संचालन गर्ने उनको महत्वकांक्षाको अन्ततः पतन भएको छ । शक्ति र सत्ताको पावर दुरुपयोग गर्ने अन्य निकाय पनि रहेका छन् । त्यस्ता ठाउँलाई सफाई गर्न अधिवक्ता ओमप्रकाश अर्याल जस्ता युवाले जन्मनु पर्छ ।