राजेशचन्द्र रा.भ.
अहिले बागलुङ देखि चीन सम्म जोड्ने कोराला नाकाको कुरा व्यापक रूपमा उठिरहेको समयमा नेपाल सरकारका बाणिज्य मन्त्री रोमि गौचन थकालीले मित्र राष्ट्र चीन सँग थकाली नीति अनुसार अगाडि बढ्नु बुद्धिमानि हुने तर्क पेश गरे । बागलुङ उद्योग बाणिज्य सँघको ५३ औ साधारणसभाको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बाणिज्य मन्त्री थकालीले छिमेकी रास्ट भारत र चीन सँगको सम्बन्ध फरकफरक तरिकाले अगाडि बढ्ने तर चीन सँग सबै कुरा हल्ला खल्ला गरेर भन्दा पनि मध्यमार्गि नीति अपनाउनु बुद्धिमानी रहेको भन्दै अहिले त्यहीँ नीति अनुसार काम अगाडि बढी रहेको धारणा राख्नु भएको थियो । बागलुङ उद्योग बाणिज्य सँघको साधारणसभामा जिल्लाका साँसद प्रकाश शर्मा पौडेल लगायतका सरोकारवालाले जिल्लाको बिकाश देखि चीन जोड्ने कोराला सडक बारे बाणिज्य मन्त्री रोमि गौचनको अभिब्यक्तिलाई सबैले तर्क सँगत मानेका छन् ।
नेपाल सरकारले बजेट छुट्टाएर सडक बनाउने जिम्मेवारी ठेकेदार कम्पनीलाई दिई सकेको हँुदा अब काम अगाडि बढ्ने मुस्ताङ म्याग्दी सडक पनि अबको ३ बर्ष भित्र कालोपत्रे भै सक्ने कुराले धौलागिरी बासिलाई उत्साहित बनाउने काम गरेको छ । सधैं जसो सभासम्मेलनमा भन्दा मन्त्री थकालीको भाषण भने फरक खालको थियो । उनले नेपालको राजनीति देखि बाणिज्य नीति देखि काम गर्ने शैली कै ब्यबहारिक कुरा गरेर सबैलाई हो है भन्ने चाहिँ पारेका थिए । अहिले जहाँ जतासुकै चीन सँगको नाका कै चर्चा बढी हुन्छ तर मित्र राष्ट्रको आफ्नै नीति छ । उसले नेपालमा बिकास होस् भन्ने चाहन्छ तर आफ्नो देशको सम्बेदनशिलता र सुरक्षा मै केन्द्रित रहने भएको कारण पनि हामी नेपालीले बिचको बाटो अपनाउनु ठिक हुने जुन बाटो नेपालमा थकाली जातिले अहिलेसम्म अपनाउने गरेको समेत मन्त्री थकालीको तर्क लाई चाहिँ मनन गरेका थिए ।
देशमा मन्त्री परिवर्तन भए पिच्छे मन्त्रालयको सचिव हेरफेर गर्ने चलन रहेको कुरा आफुले बुझ्न नसकेको आफु मन्त्री भए लगत्तै आफ्नो मन्त्रायको सचिव परिवर्तन गर्न ठुलो दबाब परेको तर आफुले भने दबाब र प्रभावमा परेर काम नगरेको समेत उनले खुलासा गरेका थिए । काम गर्ने क्षमता भएको सचिवलाई काम गर्न दिनुपर्ने आफ्नो धारणा रहेको आफ्नो मन्त्रालयमा एक पैसा पनि भ्रष्टाचार नहुने दाबी गर्दै त्यो भएको खण्डमा सबै कार्बाहिको भागिदार हुने समेत उनले उद्घघोष गरे । अहिले सरकारले लक्ष्य भन्दा बढि राजस्व उठाउने काम गरेकोमा आफु खुशी नभएको, बिदेशी सामान आयात गरेर कर सँकलन गर्दा अझ हामी बढि गरिब बन्दै गैरहेको भन्दै चिन्ता ब्यक्त गर्नुलाई पनि सकारात्मक मान्नुपर्छ ।
अहिले सबैको ध्यान देशमा राजनीति निकाश र बिकास नै हो तर अहिले त्यो बाताबरण भने देखिदैन । जिल्लामा आउने मन्त्री सँग बिकास माग्ने चलन अझै गएको छैन । अहिले पनि पहुँच कै भरमा मन्त्री बन्ने जिल्ला जिल्लामा बजेट बाँड्फाँड हुने त सामान्य कुरा भए । मन्त्री थकाली सँग पनि बागलुङका साँसदहरूले बिकास मागेको तर आफु भने केही पनि दिने ठाउँमा नभएको आफ्नो तर्क पेश गरे । अहिले आफु सँग भएको मन्त्रालय राम्रोसँग अगाडि जान सक्यो भने सबै कुरा ठिक हुने सबै ठाउँमा बजेट दिन सकिने तर्कलाई सहि मान्नुपर्छ ।
देशले बढि भन्सार असुल गरेर भन्दा पनि स्वदेश मै उत्पादन गरेर नेपाली पुँजी बाहिर जानबाट रोक्नु बुद्धिमानि हुने जति बढि भन्सारबाट अशुली हुन्छ त्यति नै बढी देश गरिब बन्दै जाने हँुदा यो लक्ष्यभन्दा बढि राजस्वसँग आफु सन्तोष नभएको कुराबाट मन्त्री थकालीको चिन्तन देश जनताप्रति पनि भएको बिश्लेषण गर्न सकिन्छ । उनले आफ्नै पार्टी नेता तथा पुर्बअर्थमन्त्री रामशरण महतले ल्याएको अर्थ नीति पनि देशको हितमा नभएको कुरासमेत सार्वजनिक गरे जुन कुरा सत्य पनि हो । कतिपय सवालमा तर हाम्रोजस्तो गरिब देशमा त्यो नीति सफल हुन नसक्ने हँुदा हामीलाई अनुकूल हुने नीति बनाउन जरुरी छ । अहिले भएका प्रचण्ड सरकारको मन्त्री मध्य बाणिज्यमन्त्री भने केहि तर्क शिलक्षमता भएको महशुस हुन्छ तर सबै कुरा ब्यक्तिमा मात्र नभएर नीतिमा हुनुपर्ने रहेछ हाम्रो देशको अर्थनीति के हो ? भनेर कसैले शोधि हाल्यो भने हामी सँग त्यसको कुनै तर्क सँगत जवाफ छैन । हाम्रो देशको नीति मन्त्री अनुसार फरक–फरक हुन्छ । कतिपय त ठिक पनि होलान तर देशलाई जनतालाई फाइदा पुग्ने भने कमै देखिन्छ ।
देशमा स्थायी सरकार छैन ९ महिना सरकार परिवर्तन हुन्छ अनि मन्त्री अनुसार नीति बन्छ सरकारमा पुगे पछि सरूवा, बढुवा, नातावाद, कृपाबाद, कमिशन त सामान्य कुरा भए पैसा दिएको भरमा सभासद छान्ने योग्यता र क्षमता भन्दा पनि गुटबन्दी कै आधारमा मन्त्री बनाउने कारणले पनि एउटा सरकारमा एक दई जना मन्त्रीले भन्दा अरूले खासै केही गर्न सकेको पनि देखिदैन । मन्त्री भएपछि राजनीति रूपमा नियुक्ति गर्ने ब्यक्तिहरू सरकारलाई सल्लाह सुझाव भन्दा पनि तलब भत्ता खाने बिदेश घुम्ने मौकामा चौका हान्ने नै देखिन्छ । जुन बिषयमा सरकारलाई सल्लाह सुझाव र तर्क दिने गरेको भने अहिले सम्म कमै मात्रामा सुनिन्छ । बागलुङ जिल्लालाई पर्यटन क्षेत्र बनाउनु पर्ने आबाज धेरै पटक उठाउने गरिए पनि खासै गतिलिएको भने छैन । जिल्लामा रहेको ढोरपाटन, पञ्चकोट, कालिका भगवती मन्दिरलाई आधार मानेर पर्यटन भित्र्याउनको लागि महत्वपूर्ण हुने भनिए पनि अहिलेसम्म पुर्बाधार बनाउनको लागि अहिले सबैले आबाज उठाउन लागेपनि त्यो भने सँस्थागत हुन सकेको छैन । नीजि क्षेत्रको बागलुङ उद्योग बाणिज्य सँघले केही समय पहिला देखि पर्यटन क्षेत्रलाई लक्षित गरि कार्यक्रम गर्ने अन्तरक्रिया लगायतमा सरोकारवालालाई राखेर गरे पनि जिल्लामा गुरु योजना छैन ।
बागलुङ जिल्लामा मध्यपहाडी लोकमार्ग, कालिगण्डकी कोरिडोर, पोखरा–मुस्ताङ राजमार्ग लगायत चीनसम्म पुग्ने कोराला नाका समेत बागलुङ भएर जान सकिने भएको कारणले पनि यसको भबिश्य उज्यालो देखिन्छ । हो मन्त्री थकालिले भने झै तिब्बत सँग जोडिएको मुस्ताङ नाका सहज भएको छैन यसको लागि राज्यले आबश्यक कुटनैतिक सम्बन्धलाई बलियो बनाएर दुई छिमेकी देशलाई बिश्वासमा लिनुपर्ने कुरालाई मनन् गर्न जरुरी देखिन्छ । सरकारले कोराला नाका खोल्नको लागि ४ करोड ८८ लाख बजेट बिनियोजन गरिसकेको कारणले पनि अब भने काम नहोला कि भन्ने समस्या समेत अन्त भएको छ । साच्चै जिल्लाको बिकासको लागि सबै सरोकारवाला एकजुट हुन जरुरी छ ।
अबको भबिश्य भने कै पर्यटन हो । हामीले आफ्नो ठाउँको बिकाशको लागि सबैले आफ्नो सकारात्मक भुमिका निभाउन जरुरी छ । अब कुरामात्र गरेर हुँदैन अब काम गरेर देखाउन जरुरी छ । धार्मिक पर्यटनको लागि बागलुङको कालिका भगवती, अहिले निर्माण हुँदै गरेको पञ्चकोट सबैभन्दा महत्वपूर्ण हुने हँुदा यसलाई बढि प्रचारप्रसार गर्न जरुरी छ । जिल्लाका साँसद महोदयहरूले पनि क्षेत्र बिकासको रकम पर्यटन क्षेत्रको बिकासमा पनि योजनाबद्ध रूपमा लगानी गर्न जरुरी छ । हामीले हाम्रो क्षेत्रको बिकासको लागि सरकार स्थानीय निकाय देखि सबैको सहयोग र समर्थन लिन जरुरी छ । अब देखि सबै एकजुट भएर बागलुङलाई राम्रो बनाउने अभियानमा लागौ ।