काठमाडौं, २४ पुस – पुस्तक निकालेपछि बिकोस् र धेरै मान्छेको हातमा पुगोस् भन्ने सबै लेखक प्रकाशकको धोको हुन्छ । कुनै किताबलाई पाठकले औधी रुचाउँछन् र त्यसको राम्रो बिक्री हुन्छ भने कुनै किताब लेखक आफैंले सित्तैमा बाँड्दै हिँड्नुपर्ने गरी झुर हुन्छन् ।
कुन किताब कति बिक्यो भन्ने आधिकारिक आँकडा पाउन गाह्रो छ । धार्मिक पुस्तकहरू बेस्सरी बिक्छन् । बाइबल, कुरान, गीता जस्ता किताबको बिक्रीको अभिलेखै हुँदैन । त्यसैगरी कम्युनिस्ट मेनिफेस्टो र माओका भनाइ भएको पुस्तक पनि धेरै बाँडिएका (बिक्री भएका वा सित्तैमा दिइएका) मा गनिन्छन् ।
आजकल इबूकहरूको प्रचलन आएको अवस्थामा पुस्तक बिक्रीको अभिलेख राख्न सजिलो भएको छ तर हार्डकपी पुस्तकको बिक्रीलाई मात्र यहाँ सन्दर्भ बनाइएको छ । सर्वाधिक बिक्री भएको एउटा पुस्तकलाई मात्र यहाँ राखिएको छ, त्यस पुस्तकको लेखकको सबै कृतिलाई यहाँ गणना गरिएको छैन ।
विभिन्न स्रोतहरूको अध्ययन गर्दा तल दिइएका दश पुस्तक चाहिँ सबैभन्दा बढी बिक्ने किताबको सूचीमा भेटिन्छन् ।
१ अ टेल अफ टु सिटिज — बेलायती लेखक चार्ल्स डिकेन्सको यो उपन्यास पहिलोपटक सन् १८५९ मा प्रकाशित भएको थियो । यो अहिलेसम्म २० करोड प्रति बिकेको विश्वास गरिन्छ ।
२ द लर्ड अफ द रिङ्स — बेलायती लेखक जेआरआर टोल्केनले सन् १९५४ मा प्रकाशित गरेको यो उपन्यास अहिलेसम्म १५ करोड प्रति बिकेको विश्वास गरिन्छ । यसका तीन भोलुम छन् ।
३ द लिटल प्रिन्स — फ्रान्सेली लेखक आत्वाँ दे सेन्ट एक्जुपेरीको यो उपन्यासको अंग्रेजी संस्करण पहिलोपल्ट सन् १९४३ मा प्रकाशित भएको थियो । यो १४ करोड प्रति बिक्री भएको थियो ।
४ एन्ड देन देयर वेर नन — बेलायती लेखिका अगाथा क्रिस्टीको यो मास्टरपिस उपन्यास पहिलोपल्ट सन् १९३९ मा प्रकाशित भएको थियो र अहिलेसम्म यो १० करोड प्रति बिकेको छ ।
५ ड्रीम अफ द रेड च्याम्बर — चिनियाँ लेखक चाओ स्वेकिनको यो उपन्यास पहिलोपल्ट सन् १७९१ मा प्रकाशित भएको थियो । यसको १० करोड प्रति बिकेको विश्वास गरिन्छ ।
६ द हब्बिट — टोल्केनको यो पुस्तक सन् १९३७ मा प्रकाशित भएदेखि अहिलेसम्म १० करोड बिकिसकेको छ ।
७ द लायन, द विच एन्ड द वारड्रोब — बेलायती लेखक सिएस लेविसको उपन्यास सन् १९५० मा प्रकाशित भएयता आठ करोड पचास लाख प्रति बिकिसकेको छ ।
८ सी : अ हिस्ट्री अफ एड्भेन्चर — बेलायती लेखक एच राइडर हागार्डको यो उपन्यास सन् १८८७ मा प्रकाशित भएयता यसका आठ करोड तीस लाख प्रति बिकिसकेका छन् ।
९ द दा भिन्ची कोड — अमेरिकी लेखक ड्यान ब्राउनको उपन्यास सन् २००३ मा प्रकाशित भएयता यसका आठ करोड प्रति बिकिसकेका छन् ।
१० थिंक एन्ड ग्रो रिच — अमेरिकी लेखक नेपोलियन हिलको यो गैरआख्यान सन् १९३७ मा प्रकाशित भएयता सात करोड प्रति बिकिसकेका छन् ।
यसैगरी बेलायती लेखिका जेके रोलिङको ह्यारी पोटर शृंखलाका सबै उपन्यासहरू पाँच करोडभन्दा बढी बिक्री भएका छन् । त्यस्तै अर्की बेलायती लेखिका इएल जेम्सको उपन्यास फिफ्टी शेड्स अफ ग्रे पनि पाँच करोडभन्दा बढी बिक्री भएका छन् ।
सूची हेर्दा बेलायती लेखकको वर्चश्व देखिन्छ । अनि उपन्यास नै सबैभन्दा बढी बिक्ने पनि देखिन्छ । एजेन्सीको सहयोगमा