काठमाडौं, २४ पुस – काठमाडौं उपत्यकामा हाल वितरण भइरहेकोमध्ये दैनिक करिब पाँच करोड लिटरभन्दा धेरै पानी चुहिएर खेर गइरहेको छ । मागको तुलनामा न्यून पानी वितरण भइरहेका वेला वितरित पानीसमेत चुहिएर खेर जाँदा उपभोक्ता चर्को अभाव खेप्न बाध्य छन् ।
केयुकेएलले हाल दैनिक साढे १३ करोड लिटर पानी वितरण गरिरहेको जनाएको छ । वितरितमध्ये ४० प्रतिशत पानी चुहावट हुने गरेको छ ।
केयुकेएलका सूचना अधिकारी सुरेशप्रसाद आचार्यले चुहावट नियन्त्रणका लागि पहल भइरहेको बताए । ‘हामीले चुहावट नियन्त्रण गर्न सक्दो पहल गरिरहेका छौँ,’ उनले भने, ‘पाइप लिकेज भएको स्थानमा चाँडो पुगेर मर्मत–सम्भार गर्ने गरेका छौँ ।’ केयुकेएलले ३५ सतहका स्रोत (नदी, पोखरी, तालगायत), ५९ वटा ट्युबवेल, जमिनमुनिबाट पम्प गरेर ३९ स्थानबाट पानी जम्मा गर्ने गरेको छ ।
चुहावटका ५ कारण
१. पुराना पाइप
खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा राणाकालीन समयमा पाइप बिछ्याइएको थियो । ती पाइप एक सय २५ वर्षभन्दा बढी पुराना छन् । कम गुणस्तर भएका पाइप पुराना हुँदा बारम्बार प्वाल परेर पानी चुहावट हुने गरेको छ ।
२. उपभोक्ताको सस्तो पाइप
उपभोक्ताले घरसम्म पानी लैजाने पाइप तोकिएको मापदण्डअनुसारका छैनन् । जसका कारण चाँडै फुट्ने वा प्वाल पर्ने हुन्छ । नयाँ बस्ती विकास भएको स्थान, हाउजिङ, अपार्टमेन्टलगायतमा पानी तान्न प्रयोग गरिएको पाइप पनि कम गुणस्तरको हुने गरेको छ ।
३. सतहमै पाइप राख्नु
खानेपानीको पाइप जमिनमुनि कम्तीमा तीन फिट तलबाट बिछ्याउनुपर्ने मापदण्ड छ । उपभोक्ताले तलसम्म खन्न झन्झट र लागत बढी पर्ने भएकाले एक फिटमै पाइप बिछ्याउने गरेका छन् । जसका कारण ठूला गाडी सडकमा गुड्दा पाइप फुट्ने र बारम्बार मर्मत गर्नुपरेको केयुकेएलका सूचना सुरेशप्रसाद अधिकारी आचार्यले बताए ।
४. चोरीका धारा जडान
केयुकेएलले पानी वितरण गर्ने मुहान भएको क्षेत्र सुन्दरीजल, गोकर्ण, बूढानीलकण्ठ, फर्पिङ, संैबुलगायतका क्षेत्रमा चोरीका धारा जडान भएका छन् । ती धाराबाट वितरित पानीको बिल उठ्दैन ।
५. समयमै मर्मत नहुनु
पानी चुहावट भएको स्थानमा केयुकेएलले समयमै मर्मत गर्दैन । गरिए पनि टालटुले किसिमले हुने गरेको छ । जसका कारण बारम्बार मर्मत गरिरहनुपर्छ । आर्थिक वर्ष ०७१÷७२ मा उपत्यकाभित्र आठ हजार स्थानमा पानी लिकेज भएको पाइप मर्मत गरिएको केयुकेएलले जनाएको छ । नयाँ पत्रिका
लोडसेडिङपछि उपत्यकाको पानी चुहावट रोक्ने अभियान
Previous Article२०१६ सबैभन्दा तातो वर्ष
Next Article राजदूत भागबन्डा मिल्यो, कांग्रेस-६, माओवादी-४