बागलुङ, २२ पौष – बाणिज्य मन्त्री रोमी गौचन थकालीले नेपाल चिन जोड्ने कोरला नाका सञ्चालनका लागि मध्यमार्गी नीति अवलम्बन आवश्यक रहेको बताएका छन् । उद्योग बाणिज्य संघ बागलुङको ५३ औं साधारणसभामा बोल्दै मन्त्री थकालीले भने, ‘तिब्बतसँग जोडिएको मुस्ताङको कोरला नाका सञ्चालन अझै सहज भएको छैन, यसका लागि राज्यले आवश्यक कुटनीतिक सम्वन्धलाई बलियो बनाएर दुई छिमेकी देशलाई बिश्वासमा लिनुपर्छ ।’ ‘म मुस्ताङमा जन्मिएको थकालीको छोरो हुँ, म बाहुन क्षत्रीसँग मिल्छु, बिक, चर्माकारसँग पनि मिल्छु, सबैसँग मिल्ने थकाली जाति जस्तो कोरला नाका सञ्चालन गर्न पनि मध्यमार्गी ‘थकाली नीति’ आवश्यक छ ।’ मुस्ताङ र कोरला नाका देशका अन्य स्थानमा सडक खनिए जस्तो नभएको भन्दै उनले यसको संवेदनशिलतालाई आत्मसाथ गरेर अघि बढ्न सके छिटो नाका सञ्चालन हुने बताए । अहिले कोरला नाका खोल्नका लागि ४ करोड ८८ लाख बजेट बिनियोजन भएको छ । मन्त्री गौचनले आगामी तीन बर्षमा बेनी–जोमसोम सडक खण्ड कालोपत्रे हुने दाबी गरे । उद्योग व्यवसायी मैत्री नीतिका लागि सरकार लागिरहेको जानकारी दिए । कार्यक्रममा सांसदद्धय प्रकाश शर्मा पौडेल, चम्पादेवी खड्का, बाणिज्य सचिव ङइन्द्र उपाध्याय, नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ लगायतले बोलेका थिए । सो अवसरमा उत्कृष्ट व्यवसायी, कर्मचारी लगायतलाई पुरस्कृत गरिएको थियो । साधारण सभाले महासचिव दयाराम पौडेलले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिदेश श्रेष्ठले पेश गरेको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ । कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीको स्वागत र महासचिव दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Article२२ पौष २०७२, ढोरपाटन दैनिक
Next Article संशोधन विधेयक संसदमा छलफल समेत हुन दिँदैनौं-ओली