काठमाडौं, २२ पुस-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुबईबाट ल्याइएको ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ । तोलातोलामा विभाजन गरेर नेपाल ल्याइएको सो सुन विमानस्थलको गोल्डेन गेटबाट सीआईबीले बरामद गरेको हो ।
यूएईबाट नेपाल आएका एक युवकको साथमा सो सुन आएको हो । सो सुन विमानस्थल अधिकारीकै सेटिङमा आएको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
एयर अरेबियाको जहाजबाट यूएई हुँदै काठमाडौं आएका गोपालबहादुर शाहीले विमानस्थल कर्मचारीकै सहयोगमा सुन ल्याएको बताएपछि सीआईबीले यस विषयमा पनि अनुसन्धान अघि बढाएको हो । ‘यति ठूलो परिमाणको सुन कसले र कसको सेटिङमा आएको हो, यसको कनेक्सन खोजिरहेका छौं,’ सीआईबी प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘विमानस्थल कर्मचारीको सेटिङ हो भन्ने खुलेको छैन, अधिकारीहरू भन्ने आएको छ, त्यसमा प्रहरी, भन्सार वा अन्य जो पनि हुन सक्छन् ।’
प्रहरीका अनुसार भन्सारको स्क्यानिङ मेसिनबाट पार भएका कारण थप अनुसन्धानको विषय भएकाले सीआईबीको अनुसन्धान युनिट नै खटिएको हो ।
सीआईबी प्रमुख सिलवालका अनुसार २ सय ४४ वटा १०÷१० तोलाका सुनका बिस्कुट बरामद भएको थिए । त्यस्तै, १८ वटा सिक्री र १९ वटा औंठीको तौल हुन बाँकी छ । बरामद गरिएको सुनको बजार मूल्य १५ करोड रुपैयाँभन्दा बढी रहेको सीआईबी प्रमुख सिलवालले जनाएका छन् ।
सुन लिएर आउने शाही तथा सुन लिन विमानस्थल पुगेका दुईजना दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि पक्राउ गरिएको छ । लगेजभित्र प्लास्टिकले ¥यापिङ गरेको सुन प्रहरीले बरामद गरेर गौशाला प्रहरी वृत्तमा लगी सञ्चारकर्मीसामु सार्वजनिक गरिएको थियो ।
पक्राउ परेका शाही भरिया भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शाही बुधबार मात्रै दुबईबाट आएका हुन् । उनको लगेज बिहीबार आइपुग्ने भएकाले उनी लगेज लिन विमानस्थल पुगेका थिए । लगेज लिई बाहिर निस्कन लाग्दा सीआईबीको टोलीले उनलाई पक्राउ गरको हो ।
यूएईबाट नेपाल आउनेलाई सुन पठाउने गिरोह नै सक्रिय रहेको प्रहरीले दाबी गरेको छ । सीआईबी प्रमुख सिलवालका अनुसार सुन बोकाएर पठाउने व्यक्ति अरू नै भएको र शाही भरिया मात्रै हुन् ।
स्रोतका अनुसार दुबईबाट भरियाको फोटो खिचेर नेपालस्थित एजेन्टलाई पठाउने र नेपालस्थित एजेन्ट विमानस्थलमा पुगेर सुन लिने गरेका छन् । विमानस्थलमा रहेको भन्सारबाटै यसअघि हङकङबाट आएको सुन तस्करी हुने गरेको भए पनि पछिल्लो समयमा सानोसानो परिमाणमा मात्रै सुन बरामद गरिँदै आएको थियो । यसपटकको सुन सीआईबीले आफ्नै सूचना प्रयोग गरेर बरामद गरेको हो । बरामद भएको सुन पक्राउ गर्न कोही पनि सुराकी नभएको प्रहरीले जनाएको छ । राजधानी
Previous Articleनेपाली राजनीतिमा छिमेक नीतिको प्रभाव
Next Article फोन गरेको भन्दै पतिले कुट्दा महिलाको भयो यस्तो हाल