बागलुङ, २१ पौष – धौलागिरी अञ्चलमा तिन बर्षदेखी रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुल्ला गरिएको छ । सवारी साधन अनुमति पत्र परीक्षा समितिको बुधवारको निर्णय अनुसार, मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि फाराम खुल्ला गरिएको यातायात व्यवस्था कार्यालय धौलागिरीले जनाएको छ । मोटरसाइकलका लागि आगामी पुस २६ देखि २८ गतेसम्म र स्कुटरका लागि २९ गते फारम खुल्ला गरिएको छ । पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लागि फारम खुल्ला भएको र त्यसपछि अन्य सवारी साधनका लागि फाराम खुल्ला गरिने कार्यालयका नायव सुब्बा रामप्रसाद उपाध्यायले बताए । लाइसेन्स परीक्षाका लागि मिति, समय र स्थान भने पछि तोकिने उनले बताए । ३ बर्ष अघिसम्म धौलागिरी अञ्चल यातायात कार्यालयले बागलुङ नगरपालिका—१ मा रहेको रामरेखा सामुदायिक वनको जग्गामा महिनामा दुइ पटक सवारी चालक अनुमति पत्र वितरणको परीक्षा लिदै आएको थियो । परीक्षा रोकिएपछि धौलागिरी यातायात कार्यालयबाट सेवा लिने बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङका सेवाग्राही समस्यामा पर्दै आएका छन् । यातायात व्यवस्था विभागले नयाँ नीति ल्याएपछि पूर्वाधार अभाब भएको भन्दै कार्यालयले साना, मझौला तथा ठूला सवारीको चालक अनुमति पत्र वितरणमा रोक लगाएको थियो । यातायात व्यवस्था कार्यालय बागलुङले मासिक आठ सय लाईसेन्स वितरण गर्दै आएको थियो । वितरण नहुँदा सर्वसाधारण अहिले लाइसेन्स बनाउन राजधानी, बुटवल, पोखरा धाउन बाध्य भएका थिए । लाईसेन्स वितरण रोकिँदा सर्वसाधारणका साथै लाखौँ लगानी गरेर खुलेका ड्राईभिङ स्कुल समेत समस्यामा रहेका छन् । धौलागिरीको पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङमा एक दर्जन इन्स्टिच्युट रहेका छन् ।
Previous Articleअदालतमा नै छैन कानुनी शासन !
Next Article स्ववियू चुनाव फागुन १४ मा हुने निश्चित