लमजुङ, २१ पुस – राष्ट्रिय रेफ्री सुरज मानन्धरले रेफ्री जीवनबाट संन्यास घोषणा गरेका छन् । १४ वर्षसम्म फुटबल खेलमा निर्णायकको काम गर्दै आएका उनले २५ औं त्रिवेणी कप फुटबलको समापनसँगै व्यावसायिक रेफ्रीबाट संन्यास लिएको बुधबार घोषणा गरेका हुन् ।
बेसीसहरमा आयोजित कार्यक्रममा उनलाई सांसद जमीन्द्रमान घले र त्रिवेणी युवा क्लबका अध्यक्ष छविन्द्र गुरुङले अल्लोको कोट र कदरपत्रबाट सम्मान गरे । ‘व्यावसायिक खेलाडीबाट संन्यास लिएको १४ वर्ष रेफ्री गरेपछि व्यावसायिक रेफ्री जीवनबाट संन्यास घोषणा गर्दछु,’ त्रिवेणी कपको फाइनल हुँदै गर्दा उनले मञ्चमा भने । मंगलबारसम्म उनैले खेलाएका थिए । उनले झन्डै १४ वर्ष ‘ए’ डिभिजनबाट खेलेका थिए । ४१ वर्षे उनी काठमाडौं महानगरपालिका(२० भीमसेनस्थानका स्थायी बासिन्दा हुन् । ‘म वाणिज्य शास्त्रमा स्नातक गरेको विद्यार्थी हुँ । खेलकुदमा रुचि भएकाले खेलजीवन र विशेषगरी फुटबललाई अगाडि बढाएँ,’ उनले भने, ‘नयाँ पिँढीलाई अवसर दिनुपर्छ । सबैभन्दा बढी आठपटक खेलाएको त्रिवेणी कपबाटै संन्यास लिने निर्णय गरें ।’
उनले २०४६ सालमा ब्वाइज स्पोर्टस क्लबबाट ए डिभिजन खेलेको बताए । त्यसपछि मनाङ मस्र्याङी र एनआरटीबाट खेलेका थिए । खेलाडी जीवनमा उनको पोजिसन गोलकिपर हो । ए डिभिजन खेल्दाखेल्दै ०५७ मा रेफ्री कोर्स पूरा गरेका उनले कोकाकोला कपबाट रेफ्रीको भूमिकामा देखिएका थिए । त्यसपछि सहिद स्मारक ए, बी, सी डिभिजन खेल खेलाएको मानन्धरले बताए । सिमरा गोल्डकप, ब्रिटिस गोर्खा कप, पाँचौं राष्ट्रिय खेलकुद, राइनो कप, आदर्श कप, सिन्धु कप लगायत अधिकांश राष्ट्रियस्तरको प्रतियोगिता खेलाउने अवसर पाएको उनले बताए ।
‘मलाई याद भएसम्म ४७ वटा प्रतियोगितामार्फत ९७ पटक खेल खेलाएको छु,’ उनले भने । यस्तै, नेपाल कप पाँचपटक, सहिद स्मारक ए डिभिजन लिग तीनपटक, बी डिभिजन लिग तीनपटक, सी डिभिजन लिग तीनपटक, नकआउट चारपटक खेलाएको उनले बताए । ‘रेफ्री जीवनमा धेरैपल्ट यही त्रिवेणी कप खेलाएँ,’ उनले भने, ‘यस प्रतियोगिता रजत जयन्तीको अवसरमा संन्यास घोषणा गर्न पाउनु मेरा लागि गौरव महसुस भएको छ ।’