म्याग्दी, २० पौष – धौलागिरि हिमालको आधार शिविर (वेस क्याम्प) जाने नयाँ धौलागिरि सेन्चुरी ट्रेलको भोलिे बिहिबार शुभारम्भ गरिने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजना नेपाल पर्यटन बोर्ड, टान, भिटोफ र म्याग्दी प्रवासी नेपाली संघ मोनाको सहयोगमा नेपाल पर्यटन बोर्डमा एक समारोहका बीच नेपाल पर्यटन बोर्ड भुकुटी मण्डपमा पदमार्गको शुभारम्भका साथै फोटो प्रर्दशनीको तयारी पुरा भएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले जानकारी दिए । ‘म्याग्दीको पर्यटनको क्षेत्रमा कोशेढुंगामा सावित हुने छ । पदमार्गको स्थलगत अवलोकन पछि पदमार्ग शुभारम्भको तयारी गरिएको छ’ शाक्यले भने । उनले पदमार्ग स्थलमा रहेका समस्या तथा सम्भावनाहरूका साथै आवश्यक पुर्वाधारका बारेमा समेत सम्बन्धित निकायहरूसंग छलफल गरिएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई पदमार्गमा आवतजावत गर्न सहज हुने बताए । ०७२ फागुनको अन्तिम साता गरिएको स्थलगत अध्ययन अवलोकन तथा खोज यात्राको तत्कालिन पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले म्याग्दी उद्योग वाणिज्य संघका महासचिव शाक्यलाई नेपालको झन्डा हस्तान्तरण गरेर आवश्यक सहयोगको प्रतिबद्धता जनाएका थिए । पदमार्गको खोजमा टे«किङ गाईड, नक्साङकन गर्ने प्राविधिक लगायतको टोली वेस क्याम्पसम्म पुगेको थियो । खोजमा गएको टोलीले संकलन गरेको फोटोहरुलाई समेत पदमार्गको शुभारम्भको अवसरमा प्रर्दशनी गरिने भएकाले पनि पदमार्गलाई राज्यको प्राथमिकतामा पार्न सजिलो हुने अपेक्षा गरिएको छ । म्याग्दीको राहुघाट क्षेत्रका पर्यटकीय बस्तीहरुलाई समेटेर पहिचान गरिएको पदमार्गको नाम धौलागिरि सेञ्चुरी राखिएको हो । जंगली जनावर, गुराँसे जंगल, विभिन्न प्रजातिका फुलहरु, स्थानीयको अतिथि सत्कार,सुन्दर हिमश्रृङखलको दृष्यअवलोकन, मगर तथा छन्त्याल संस्कृति लगाएत पर्यटकलाई आर्कषित गर्ने प्रसस्तै सम्भावना रहेको पदमार्गको अन्वेषणको क्रममा नक्साङ्कन समेत गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य संघको लगानीमा गरिएको अन्वेषणले जिल्लाको पर्यटनमा नयाँ आयाम थपेको म्याग्दी प्रवासी नेपाली संघ मोनाका संस्थापक अध्यक्ष प्रकाश पु्नले बताए । उनका अनुसार, पर्यटनको क्षेत्रमा पुर्वाधार विस्तारका साथै लगानीमा समेत प्रवासी म्याग्देलीहरुले आफ्नो सहभागिता देखाउने प्रतिबद्धता जनाए । पदमार्ग सुभारम्भ समारोहमा सहभागि हुन काठमाण्डौ आएका नेपाली हङकङ ब्यापार संघक अध्यक्ष समेत रहेका पुनले पदमार्गको आगामी सिजनमा बाह्य पर्यटकलाई त्यहाँसम्म पुर्याउन प्रयास गर्ने समेत बताए । म्याग्दीका जनजातीको कला र संस्कृतिको सुरुवात भएको गाविसका रुपमा चिनिने चिमखोला आसपासका क्षेत्रमा घन्किने थाली, पुख्यौली लगाएतका पुराना नाँचहरुका साथै दर्मिजाको तातोपानी कुण्ड र आर्कषक बस्तीहरु समेत पदमार्गको विषेशता रहेको छ । म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्यका अनुसार, जिल्लाका धेरैजसो पदमार्गहरुमा सडक विस्तारले असर गरेको अवस्थामा नयाँ र आर्कषक पदयात्राका लागी धौलागिरि सेञ्चुरी उत्कृष्ट गन्तब्य बन्ने छ । पदमार्ग अन्र्तरगत बेनी–झि–पाखापानी–ध्यासीखर्क–छरी–फेदी–वेसक्याम्प पुगेर पुनः घ्यासीर्खकमा आएर चिमखोला–दर्मिजा–दग्नाम–मौवाफाँट–पवित्र धार्मिक स्थल गलेश्वरहुँदै बेनी आएर एक सातामा यो पदयात्रा पुरा हुन्छ । त्यसैगरी ओडार क्याम्प र फेदी क्याम्पबाट धौलागिरि आईसफल पदमार्गसँग जोडीदै मुस्ताङको लेतेमा समेत यो पदमार्ग जोड्न सकिने सम्भावना रहेकाले पर्यटन मन्त्रालय तथा पर्यटनका क्षेत्रमा सक्रिय रहेका संघ संस्थामार्फत प्रचार–प्रसार तथा पुर्वाधार विस्तारमा लगानीको आवश्यकता म्याग्दी उद्योग वाणिज्य संघको भनाई छ । धौलागिरी सेन्चुरी पदमार्गको उद्घाटन भएपछि संघले पदमार्गको प्रचार–प्रसारमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्ने जनाएको छ ।