झापा, १९ पुस – पुसको जाडोमा प्रायः धान रोपिँदैन । असार-साउनको झरी धान रोप्ने उपयुक्त मौसम हो । बर्खे धान फागुन-चैतमा रोपिन्छ । तर, प्रधानमन्त्री प्रचण्डले मंगलबार पुसको जाडोमा झापामा धान रोपेका छन् । नेपालमै धेरै धान उत्पादन हुने जिल्लामध्ये एक हो झापा । झापामा धानको ‘सुपर जोन’ घोषणा गर्न प्रधानमन्त्री प्रचण्ड दलबलसहित मंगलबार दक्षिणवर्ती गाविस बनियानीमा आएका थिए ।प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान तेह्रथुमको आठराई क्षेत्रमा पर्ने संक्रान्ति बजारमा आगलागी पीडितहरुको अवस्था अवलोकन गरेर धान रोप्न झापा झरेका थिए । तिहारलाई सम्झना गराउने गरी झपक्क माला लगाएका सुटेट-बुटेट प्रधानमन्त्रीले किसानको भेषमा नभई प्रधानमन्त्रीकै भेषमा हिलोमाथि उभिएर आधुनिक ट्याक्टरको सहायताले धान रोपे ।
प्रचण्डले धान रोप्ने खेत पहिले नै हिलाम्मे बनाइएको थियो । त्यहाँ रोपाहार, बाउसे, हली कोही थिएनन् । बरु डिलमा उभिएर प्रधानमन्त्रीले ट्याक्टर चलाउँदै धान रोपेको दृश्य हेर्नेहरुको चाँहि भिड लागेको थियो ।
प्रधानमन्त्रीले धान रोपेको हेर्ने भिडमा कृषि विकास मन्त्री गौरीशंकर चौधरी, पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालसमेत थिए । टिलिक्क टल्किएको कालो छालाको जुत्ता र नीलो सुटमा सजिएका थिए प्रधानमन्त्री प्रचण्ड । त्यसमा पनि झण्डै अनुहार छोपिएला जस्तो गरी सयपत्री फूलको माला पनि थियो गलामा । यही अवस्थामा उनले मेसिन चलाए । शरीरमा एउटा पनि हिलोको छिटा लागेन ।
आलीको छेउमा रोकिराखेको ट्याक्टरसम्म पुग्न हरियो कार्पेट ओछ्याइएको थियो । प्रचण्ड त्यही कार्पेट हुँदै धान रोप्ने ट्याक्टरसम्म पुगेर चालकको सिटमा बसेर स्टेरिङ समाते । उनलाई छेउमै उभिएर चालकले सघाए । खेतको छेउ-छेउतर्फ गुडाउँदै प्रचण्डले ट्याक्टरलाई एक फन्को लगाए । ट्याक्टर अगाडि बढ्दै जाँदा ट्याक्टरको पछाडि पट्टी राखिएको धानको बेर्ना हिलाम्मे खेतमा रोपिँदै गयो ।
प्रधानमन्त्री प्रचण्डले आधुनिक ट्याक्टरद्वारा धान रोपेर झापालाई सुपर जोन घोषणा गरेको उनको सचिवालयले जनाएको छ । अब धान रोप्ने मान्छेको शरीरमा हिलो लाग्नैपर्छ छैन भन्ने प्रचण्डको पोजले राम्रैसँग प्रमाणित गरिदिएको छ ।
प्रधानमन्त्री प्रचण्डले धान रोप्ने क्रममा अब राजनीतिक क्रान्ति सकिएको भन्दै आर्थिक क्रान्तिको पालो आएको बताएका छन् । धानखेतीको सुपरजोन उद्घाटन गर्दै उनले भने, ‘आर्थिक क्रान्तिका लागि नेपालको कृषि क्षेत्रको विकास पहिलो सर्त हो ।’ दश वर्षभित्रमा झापाबाट नेपालभरिलाई पुग्ने धान उत्पादन गर्ने उद्देश्यसहित सुपरजोनको योजना थालिएको उनले बताए । प्रधानमन्त्रीले कृषकहरु देशको गहना भएको जिकिर गरे । व्यवसायिक कृषिका लागि स्वदेशी श्रम र शक्ति आवश्यक रहेको भन्दै उनले भने, ‘अब युवा जमातले कृषि कर्मको नेतृत्व लिनुपर्छ ।’
पुसको ठण्डीमा धान रोप्दै प्रचण्डले भने-अब आर्थिक क्रान्तिको पालो
Previous Articleसर्वोच्चको आदेशपछि एमालेले यस्तो निर्णय गर्यो
Next Article रंगमञ्चमै ढले रंगकर्मी विष्णुभक्त