काठमाडौं, १८ पुस – नेपाली चलचित्रका लागि सन् २०१६ सफल वर्ष साबित भएको छ । इतिहासमै सर्वाधिक धेरै व्यवसाय गर्नेदेखि धेरै चलचित्र सफल भएको रेकर्डसमेत वर्ष २०१६ ले तय गरेको छ । व्यावसायिक रूपमा मात्रै होइन ‘स्टोरी टेलिङ’का दृष्टिले पनि यो वर्षले ‘युटर्न’ लिएको छ । नयाँ दर्शक धेरै थपिएका छन् । कहिल्यै नेपाली चलचित्र नहेर्ने दर्शक हलसम्म पुगेका छन् । नेपाली चलचित्र राम्रो बन्दैन भन्ने सोच ब्रेक भएको छ । यो शैली र सफलताले निरन्तरता पाए नेपाली चलचित्रको प्रभाव अब सीमाबाहिर पनि पुग्नेमा दुईमत छैन् ।
नेपाली चलचित्र कतिसम्म सफल हुन सक्छ भन्ने मानक बन्यो दीपा श्री निरौला निर्देशित ‘छक्का पञ्जा’ । यो चलचित्र रिलिज भएको आज एक सय १६औं दिन भएको छ । गोपीकृष्ण, गुण र गंगा हलमा अझै यो चलचित्र प्रदर्शन भइरहेको छ । पुस २ गते चारवटा हलमा १००औं दिन मनाएको छक्का पञ्जाले देशका विभिन्न २१ हलमा ५१ दिन मनाएको थियो । नेपाली चलचित्रको यस्तो सफलता सायदै कसैले सोचेका थिए । निर्मातामध्येका दीपकराज गिरी स्वयंले त्यो कल्पना गरेका थिएनन् । ‘यो स्तरको आशा गरेका थिएनौं । हामी नै कोहिनूरको सफलतालाई कसैले जित्न सक्दैन भन्थ्यौं तर छक्का पञ्जाले त्यसको दोब्बर बढी व्यवसाय गरिसकेको छ’, गिरीले भने, ‘नेपालभित्र १६ करोड र विदेशको समेत गर्दा २५ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरिसकेको छ ।’
नेपाली चलचित्रले प्रदर्शनको सुखद सय दिन नमनाएको वर्षौं भइसकेको थियो । तर, पहिले र अहिले सय दिन मनाउनुमा पनि धेरै फरक छ । पहिले सीमित हलमा सीमित सोसहित सय दिन मनाउँथ्यो । अहिले धेरै हल, त्यो पनि मल्टिप्लेक्समा सय दिन मनाउनु चमत्कार नै मान्नुपर्छ । त्यो चमत्कार चलचित्र छक्का पञ्जाले गरेको छ ।
सफलताको यस शृंखलामा छक्का पञ्जालाई पछ्याउँदै चलचित्र ‘जात्रा’ले पनि काठमाडौंका केही हलमा ५१ दिन पूरा गरेको छ । प्रदीप भट्टराईले निर्देशन गरेको यस चलचित्रमा विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँलगायतले अभिनय गरेका छन् । राम्रो स्क्रिप्ट, वास्तविक अभिनय र कथा भन्ने शैली प्रभावकारी भयो भने स्टार कलाकार चाहिँदैन भन्ने पुष्टि यो चलचित्रले गरेको छ । ‘फिल्म मेकरले हतार होइन, मेहनत गर्नुपर्छ’, दीपकराज भन्छन्, ‘१०÷१२ वटा यस्तै राम्रा नेपाली चलचित्र बन्यो भने नेपालमा विदेशी चलचित्र दोस्रो दर्जामा पुग्छ ।’
वर्ष २०१६ को सुरुआतमै दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘पशुपतिप्रसाद’ले ‘ग्रिन सिग्नल’ देखाएको थियो । व्यावसायिक रूपमा होस् वा अवार्डमा; यो चलचित्रले जति जित हासित गर्यो, प्रदर्शन सुरु हुनुअघि कसैले त्यति अपेक्षा गरेका थिएनन् । तर, राम्रो चलचित्र बन्यो र ‘माउथ पब्लिसिटी’ पायो भने कतिसम्म सफल हुनसक्छ भन्ने उदाहरण बन्यो ‘पशुपतिप्रसाद’ ।
छक्का पञ्जा, जात्रा, पशुपतिप्रसादजस्ता सफल चलचित्र हेर्दा लाग्छ— बल्ल नेपालमा क्यानभास अनुसारको चलचित्र बन्न थालेको छ । निर्माता निर्देशकले सक्ने कुरामा मात्र चलचित्र बनाउन थालेका छन् । आफ्नै कथा बोक्न र भन्न सुरु गरेका छन् । व्यावसायिक रूपमा सफल भएकामात्रै होइन, विश्वका विभिन्न मुलुकमा आयोजना गरिएका प्रतिष्ठित चलचित्र महोत्सवमा अवार्ड जितेका नेपाली चलचित्रले पनि यस्तै विशेषता बोकेका छन् । चाहे मीनबहादुर भामले निर्देशन गरेको ‘कालो पोथी’ होस् वा दीपक रौनियार निर्देशित ‘सेतो सूर्य’ ।
यस वर्ष सफल भएका चलचित्रमा भुवन केसी निर्देशित ‘ड्रिम्स’ले पनि बेग्लै छाप छाडेको छ । पुरानो ‘फर्मेट’मा बने पनि यो चलचित्रलाई नयाँ पुस्ताले निकै मन पराए । कथामा चुस्तता, राम्रो लोकेसन छनोट, गजबको छायांकन अनि बिनासम्झौता चलचित्र बनाउन सक्यो पनि जुनसुकै फर्मेटका चलचित्रलाई दर्शकले माया गर्छन् भन्ने उदाहरण बन्न सफल भयो, ड्रिम्स ।
वर्ष २०१६ मा प्रदर्शनमा आएका ‘गाजलु’, ‘पुरानो डुंगा’, ‘बिजुली मेसिन’, ‘चपली हाइट २’, ‘तीन घुम्ती’, ‘ब्रासलेट’, ‘हाउ फन्नी’ लगायतका केही चलचित्र चर्चामा रहे । केहीले राम्रै व्यवसाय गरे भने केही चर्चामै सीमित रहे । अभिनेशविक्रम शाहको ‘सिजन अफ ड्रागन फ्लाइज’, नरेशकुमार केसीको ‘डाइङ क्यान्डल’, पूजा गुरुङ र विभूषण बस्नेतको ‘दादया’ फरक तर ‘नोटेबल’ चलचित्रमा दरिए ।
लामो समयपछि नेपाली चलचित्रमा देखिएको सफलताले धेरैलाई उत्साहित बनाएको छ । वर्ष २०१६ मा देखिएको कथा भन्ने शैली, नेपाली क्यानभास अनुसारको चलचित्र निर्माण शैली, स्क्रिप्टमा मेहनत अनि नयाँ दर्शकलाई कायम राख्नसके यो वर्ष नेपाली चलचित्रका लागि कोसेढुंगा साबित हुनेमा दुईमत छैन ।
Previous Articleसाफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिर
Next Article हिमपातपछि खुलेको जोमसोम (तस्विर सहित)