राजेशचन्द्र रा.भ.
आन्तरिक तथा बाह्य पर्यटन भित्राउनको लागि पुर्बाधार आबश्यकता पर्छ । बागलुङ जिल्लामा थुप्रै पर्यटनको सम्भाबना भएपनि स्वामी बागलुङ नगरपालिका–८ मा कमलनयनचार्यले शुरूवात गर्नु भएको सर्वसिद्वीधाम पन्चकोटमा निर्माण गर्ने विश्वकै सबैभन्दा अग्लो १०८ को बिश्व शान्ति कलशनै पर्यटन भित्राउने महत्वपूर्ण हुने कुरामा कुनै शंका छैन । केही समय पञ्चकोटले खुब चर्चा पाए पनि अहिले भने चुपचाप देखिन्छ । जुन महत्वाकाँक्षीका साथ स्वामी कमलनयनले पञ्चकोटलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन त्यहाँ प्रधानमन्त्रीदेखि मन्त्री, राजनीतिक दलका प्रमुखलाई ल्याउन सफल मात्रै हुनु भएन सारा धवलागिरीबासीलाई पञ्चकोटमा उपस्थित बनाउने अनि शिलान्यास समेत गरिएको पञ्चकोट बारे अहिले साँच्चै बागलुङबासीलाई चिन्ता नभएको हो कि भन्ने देखिन्छ ।
बागलुङको एमाले अधिबेशनको उद्घाटन समारोहमा आउनुका एमाले अध्यक्ष केपी शर्मा ओलीले बागलुङको पर्यटन केन्द्रमध्ये पञ्चकोटले धेरै पर्यटन भित्राउन सफल हुने धारणा पटक–पटक राख्नु भएको थियो । छोटो बोलाईमा समेत देशको प्रधानमन्त्री भैसक्नु भएका नेता ओलीले पटक–पटक पञ्चकोटबारे कुरा उठाउनुलाई चानचुने मान्नु भुल हुनेछ । साँच्चिकै हामी बागलुङबासीले माल पाएर पनि चाल पाउन नसकेका हौ कि ? त्यो कुरामा भने बिचार गर्नुपर्ने बेला भैसकेको छ । हामी सधैं निराशाको कुरा मात्र सुन्ने गर्दछौं । जहिले पनि हाम्रो बागलुङ पछि परेको, ब्यापार ब्यबसाय कम हुँदै गएको हामीलाई छिमेकी जिल्लाले जितेको भन्ने चिन्ता मात्रै गरेको देखिन्छ । तर हाम्रो बागलुङलाई कसरी राम्रो बनाउने भनेर कसैले पनि चिन्तन गरेको भने देखिदैन ।
अहिले जिल्लामा पर्यटनको सम्भावना भएको क्षेत्रलाई पहिचान गरि त्यो ठाउँसम्म पुग्ने सडक यातायात देखि पर्यटकलाई खाने र बस्ने सुबिधा दिने बाताबरण तयार गर्न सक्नुपर्छ । हाम्रो छिमेकी जिल्ला पर्बतले अहिले झोलुङे पुलबाटै पर्यटक भित्राउन सफल भएको देखिन्छ भने म्याग्दी र मुस्ताङले दैनिकी रूपमा हजारौं पर्यटन भित्राउने मात्र होइन राम्रो आर्थिक लाभ पनि गरिरहेको छ । बागलुङको पञ्चकोटमा अहिलेसम्म करोडौं रूपैयाँ खर्च गरेर थुप्रै पुर्बाधार तयार पारिएको छ तर पनि हामीले त्यो ठाउँको प्रचार प्रसार गर्नबाट भने अलि चुकेका छौ कि भन्ने लाग्छ । बागलुङ जिल्लामा संसदमा प्रतिनिधित्व गर्ने आधा दर्जनभन्दा बढी सांसद छन् विकासको नाममा यिनीहरूले करोडौं रकम आफु खुशी दल विशेषको भागबन्डामा बाँडफाँड गरे तर अहिले भने पर्यटनको महत्वपूर्ण केन्द्र पञ्चकोटको विकासको लागि कहिँकतै एक रूपैयाँ पनि बजेट छुटाउन आबश्यक देखेन् ।
सार्वजनिक समारोहदेखि गाउँको सानो–तिनो कार्यक्रममा प्रमुख अतिथि बनेर भाषण गर्दा साँच्चै अब हाम्रा माननियले आकाश नै खसाल्ने गरेको देखिन्छ तर ब्यबहारमा भने बागलुङबासीले त्यो महसुस गर्न पाएका छैनन् । जिल्लामा नेता र सांसद धेरै भएर जिल्लाको विकाश हुन्छ भन्ने जुन भ्रम बागलुङबासीले पालेका थिए । त्यसको भने अन्त्य भएको छ । प्रमुख कुरा जिल्लाको विकासको लागि सबै राजनीति दल, सांसद राजनीतिभन्दा अल्ली माथि उठ्न सक्नुपर्छ । तर बागलुङको सवालमा त्यो पनि देखिएन । हामी सँग साधनस्रोत र जनशक्ति सबै भएर पनि सामुहिक भावना भएको देखिएन चिन्ता मात्रै गरेको देखियो । चिन्तन गरिएको महशुस भएन । अहिले सबैको जोडबल आफ्नो गाउँ ठाउँलाई कसरी राम्रो बनाउने भन्ने नै छ । हुनुपर्ने कुरा यहीँ हो तर हामीले हाम्रो ठाउँ सुन्दर बनाउने भनेर एउटा महान अभियानको शुरूवात एकजना स्वामीले गर्नु भएको छ । त्यसलाई हामीले साथ दिएर त्यो योजना जसरी भएपनि सम्पन्न गराउनेतिर लाग्ने कि दोबाटोमा बसेर कराउँदै दिन बिताउने ? अब भने बिचार गर्नु पर्ने बेला भएको छ ।
अहिले सबैभन्दा बढी पर्यटनको केन्द्र कहाँ बनेको छ भनी प्रश्न गरे जसले पनि सहजै भन्न सक्छन्– लुम्बिनी, काठमाडौं, पशुपतिनाथ, मनकामना लगायत छन् । अहिले हामीले पञ्चकोटमा १०८ फिट अग्लो बिश्व शान्ति कलश निर्माण सम्पन्न गर्न सक्यौं भने बागलुङमा दैनिक सयदेखि हजारौं आन्तरिक तथा बाह्य पर्यटक आउने छन् । भोलि गएर प्रदेश नम्बर ४ को बागलुङ पनि नेपाल कै महत्वपूर्ण पर्यटन क्षेत्रमा गनिने मात्र होइन जिल्लाले आर्थिक रूपले फड्को मार्न सक्ने कुरामा कुनै शंका छैन । अहिले पन्चकोटमा पुर्वाधार निर्माण सम्पन्न गर्ने अभियानमा स्वामी कमलनयन मात्रै अघि हिडेको देखिन्छ । शुरूवाती समयमा जुन उत्साह बागलुङबासीमा पलाएको थियो अहिले भने अल्ली निराशा भएको देखिन्छ । पञ्चकोटमा दुई पटक बिश्व शान्ति धनधान्याचल सम्पन्न भैसकेको छ । यसबर्ष पनि सोहि ठाउँमा धान्यान्चल गर्ने तयारी भैरहेको छ । प्रत्येक बर्ष धान्यान्चल लगाउँदा यसले सकारात्मक नकारात्मक दुईवटा सन्देश अबश्य दिएको छ । अहिले श्रीमद्भागवत ज्ञान सप्ताह लगाउने पनि एउटा फेसन जस्तो भैसक्यो । यो बिचमा मात्रै पनि आधा दर्जनभन्दा बढी हाम्रो वरिपरि धान्यान्चल भैसकेको समयमा फेरि पनि पञ्चकोटमा श्रीमद्भागवत लगाउने कुरा आएको छ । यो राम्रो पक्ष भएपनि पटक–पटक एउटै ब्यक्तिले पैसा दिन समस्या नै हुन्छ । अहिले बन्दै गएको पञ्चकोट समाजको मात्रै नभएर राज्यको सम्पत्ति भएको हुँदा यसको बिकास र निर्माणको लागि सरकारले नै बजेट बिनियोजित गर्नुपर्ने देखिन्छ ।
अखण्ड ज्योति बाबा स्वामी श्रीजी ट्रस्ट श्री बिश्वशान्ति सर्बसिद्वी धाम पच्चकोटले अहिले यस क्षेत्रको बिकासको लागि करोडौं रूपैयाँ खर्च गरिसकेको छ । १०८ फिट अग्लो बिश्वशान्ति कलश ५५५५ केजीको मुक्तिनाथ महाघण्टले अबश्य पनि सबैको ध्यानाकर्षण भने गराएको छ । धार्मिक पर्यटकिय केन्द्रको रूपमा यसले भोलिका दिनमा राम्रो प्रभाव पार्ने नै छ । अहिले पञ्चकोटमा अतिथि विश्राम स्थल रेलिङसहितको पदमार्ग शिव महल, गणेश मन्दिर लगायतका पुर्बाधार धमाधम निर्माण हुँदै गरेको छ । अब बागलुङका उद्यमी, ब्यबसायी, राजनीतिक दल, प्रहरी प्रशासन, स्थानीय निकाय र सबै सरोकारवालाको अबको लक्ष्य भनेको जसरी भएपनि पञ्चकोटलाई सम्पन्न गराउने हुनुपर्छ । हामी सधै निराशाको मात्र कुरा गर्ने तर आफ्नै अगाडि भएको उज्यालो भबिष्यलाई देख्न नसक्ने आँखा एक चोटी राम्रोसँग सफा गरेर हेर्नु पर्छ कि । हामीले हाम्रो ठाउँ आफै बिकास गर्ने हो अरूले आएर केही गरिदिने वाला छैन । हामीले पनि हामीसँग भएको सबै शक्तिलाई एकजुट भएर लाग्न सकेमात्र बागलुङको भबिष्य उज्वल बन्ने निश्चित छ । अब पञ्चकोटबारे चिन्ता हैन, सबै मिलेर चिन्तन गरौ । एमाले अध्यक्ष केपी ओलीले बागलुङको भबिष्य पर्यटनमा छ भनेको कुरालाई अब सबै मिलेर ब्यबहारमा उतारौ । अहिले पनि पञ्चकोटको लागि सहयोग रकम बोल्नु भएको महानुभाबले अझैसम्म पनि रकम नदिएको कुरा बाहिर आइरहेको छ । अहिले हुँदै गरेको श्रीमद्भागवत महायज्ञलाई पनि तनमन र धनले सहयोग गरौ पञ्चकोट बनाउने अभियान सफल पारौं ।