बागलुङ, १७ पौष – कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी, पहाडी र हिमाली जनता बिचको भावनात्मक एकता र मेलमिलापबाट संविधान कार्यान्वयन र राष्ट्रियता संरक्षण हुने बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवशको अवसरमा कांग्रेस बागलुङ क्षेत्र नं. १ ले आयोजना गरेको ४१ औ मेलमिलाप दिवश कार्यक्रममा बोल्दै देउवाले बिपि कोइरालाले तत्कालिन अवस्थामा राजा संगको मेलमिलाप नीति लिए जस्तै कांग्रेसले संविधान संशोधनमार्फत जनताको मेलमिलाप चाहेको बताए । ‘पहाड र मधेसका जनताबीच भेदभावको भावना बढाएर देश बन्न सक्दैन’ देउवाले भने, ‘जनताबीच अविश्वास जन्माएर राष्ट्रियता जोगाउन सकिंदैन, बरु देशको अस्तित्व संकटमा पर्नेछ ।’ तराइबासीलाई एमालेले चर्को आलोचना गरेर पर धकेल्न खोल्दा झन् राष्ट्रियता खतरामा पर्ने उनले दाबी गरे । संसदमा दर्ता गर्न लागिएको संशोधन प्रस्ताव रोकिएकोले देशको स्वाधिनता र राष्ट्रियता संकटमा परेको उनले दाबी गरे । उनले नवलपरासीको सुस्ताबासी जस्तै तराइका धेरै जनताले अहिले पनि सिमा सुरक्षा गरेर बसेको बताए । एमाले अध्यक्ष केपी ओलीले मधेसीलाई भारत जाउ भनेर लगाएको आरोपले देशमा बिखण्डन ल्याउन खोजेको उनले बताए । देउवाले संसद अवरोध गरेर तथा मधेसीलाई गाली गरेर देशको अस्तित्व रक्षा हुन नसक्ने भन्दै बरु संसद चल्न दिएर राष्ट्रले जित्ने बताए । संशोधन प्रस्तावमा केपी ओलीको पनि सहिछाप भएको जिकिर देउवा पनि गरे । ‘शुसिल कोइरालासंगै बसेर हस्ताक्षर गर्ने, अहिले होइन भनेर खोक्रो राष्ट्रबादको नारा लगाउन पाइदैन’ देउवाले भने, ‘त्यतिबेला गाजा खाएर हस्ताक्षर गरेको हो की बिवेकले गरेको हो प्रष्ट्याउनु पर्छ ।’ उनले कि मैले गल्ती गरें भन्नुप¥यो, होइन भने देश र जनतालाइ ढाँट्न पाइदैन भन्दै ओलीको चर्को आलोचना पनि गरे । देशको बोर्डर जोगाउन खोज्ने जनतालाई जथाभावी गाली नगर्न पनि उनले आग्रह गरे । केही दिनमै संविधान संशोधनको प्रस्ताव पारित भएपछि राजनीतिक संक्रमण अन्त्यको बाटो खुल्ने उनको भनाई छ । संविधान कार्यान्वयनका लागि स्थानीयदेखि संसद सम्मको निर्वाचन १४ महिना भित्रै सक्नुपर्ने आवस्यकतामा उनले जोड दिए । साथै हलो अड्काउन खोजेको एमाले सहमतिमा नआए अव धेरै दिन कुर्न नसकिने भन्दै देउवाले बखेडा रोकेर सहमतिमा नआए जसरी पनि संशोधन प्रस्ताव पारित गरेर छाड्ने बताए । उनले कांग्रेस राष्ट्रियता विरुद्ध कसैसंग सम्झौता गरेर जान नसक्ने दावी समेत गरे । बरु राष्ट्र र प्रजातन्त्रका लागि यो प्रस्ताव सहमतिको राजनीतिक वातावरणको शुरुवात हुने बताए । देउवाले कांग्रेसले पटक–पटक बोकेको राजालाई अब बोक्न नसक्ने, संघियता कार्यान्वयनमा जाने समेत दाबी गरे । २०३३ सालमा विपि कोइराला भारतमा निर्वासित भैरहेको समयमा राष्ट्रियताको सवालमा राजासंगै मेलमिलापको नीति लिएर देशलाई बचाउनुपर्छ भन्दै नेपाल फर्केको दिनको सम्झनामा मेलमिलाप दिवश मनाइन्छ । विपिलाइ फाँसीको सजाय भएर पनि देशको अस्तित्व बचाउने भन्दै नेपाल फर्केका थिए । नेपाल फर्केपछि तत्कालिन सरकारले विपिलाइ फेरी जेल हालेको थियो । २०१५ सालमा पहिलो निर्वाचित प्रधानमन्त्री भएका कोइरालाले महिला, दलित र जनजाती सहभागि भएको समावेशी मन्त्रीमण्डल समेत बनाएका थिए । देउवाले शनिवारै नेपाली कांग्रेस बागलुङको नयाँ कार्यालयको पनि उद्घाटन गरे । उनले उक्त अवसरमा पार्टीले पारदर्शी र समन्वय ढंगले काम गर्नुपर्नेमा जोड दिए । कांग्रेस क्षेत्र नं. १ का सभापति चिरञ्जिवि गौतमको अध्यक्षता, सचिव केशव थापाको संचालन र जिल्ला सदस्य शिवप्रसाद कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गोविन्द भट्टराइ, बद्री पाण्डे, सरिता प्रसाई र कांग्रेस जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले विपिको मेलमिलाप नीति र वर्तमानको आवस्यकता बारे बोलेका थिए । कार्यक्रममा गाउँगाउँबाट सहभागि हुनका लागि सयौं कार्यकर्ताहरु बागलुङ आएका थिए ।
संविधान संशोधन गरेर मधेसी र पहाडे बीचको मेलमिलापः देउवा
Previous Articleराष्ट्रिय वाणिज्य संघको साधारणसभा
Next Article संशोधन विधेयक कुनै हालतमा स्वीकार गरिदैन-ओली