काठमाडौं, १६ पुस – प्रतिपक्षी दलको सहमति विनै पुस १८ गते सरकारले संविधान संशोधन विधेयक संसदमा जबर्जस्ती पेश गर्ने तयारी गरेका बेला एमालेले त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ । एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधन विधेयक जबर्जस्ती पेश गरे एमाले लगायत विपक्षी दुई सांसद हातमा दही जमाएर नबस्ने चेतावनी दिएका हुन् ।
२२ गतेको विरोधसभालाई समर्थन गर्दै प्रेस चौतारीले शनिवार बानेश्वरमा आयोजना गरेको सडक समाचार संकलन कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सरकार जस्तो रुपले आउँछ प्रतिपक्षी पनि त्यस्तै रुपले प्रस्तुत हुने चेतावनी दिए ।
‘सुन्दैछु सरकारले संविधान संशोधन विधेयक जबर्जस्ती पेश गर्ने तयारी गर्दैछ । त्यसो भयो भने एमाले सहितका २ सय सांसद हातमा दही जमाएर बस्ने छैनन्’ भट्टराईले भने, ‘असंबैधानिक र राष्ट्रघाती विधेयकलाई संसदमा पेश गर्न सरकार जुन रुपमा प्रस्तुत हुन्छ, हामी पनि त्यसलाई रोक्न त्यही रुपमा प्रस्तुत हुन्छौं ।’
भट्टराईले संविधान कार्यान्वयनका लागि देशलाई चुनावमा लैजानु पर्ने बेला सरकार चुनाव टार्न विदेशीहरुको इसारामा संविधान संशोधन प्रस्ताव अघि ल्याएर मुठभेडको बाटोमा हिंडेको वताए ।