बागलुङ, १६ पौष – मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गंगाधर अधिकारी ‘चिन्तन’ले राजनीति भित्रको अपराधिकरण, अपराध भित्रको राजनीतिकरण र दुवैको व्यपारीकरणबाट देशलाइ बचाउनुपर्ने बताएका छन् । समाजले देशव्यापी रुपमा संचालन गर्न लागेको ‘राष्ट्रिय आवस्यकताः शुसाशन र पारदर्शिता’ बिषयक अन्तरक्रिया कार्यक्रममा अधिकारीले भ्रष्ट्राचारलाइ राजनीतिक खोलबाट हुने संरक्षण र अपराधिकरणलाइ समर्थन गर्ने प्रवृत्तिले देशको भविष्य खतरामा परेको बताए । समाजले बागलुङमा पहिलो पटक यस्तो कार्यक्रम गरेको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलको अध्ययनबाट नेपालका राजनीतिक दलहरु सबैभन्दा धेरै भ्रष्ट्र देखिएको बताएको छ । त्यस्तो लज्जास्पद अवस्थालाइ चिर्न दलहरु सफल हुनुपर्नेमा शान्ति समाजको जोड थियो । सदाचार स्थापना सँगै राजनीतिक एजेण्डा र राष्ट्रियतामा दलहरु एक हुन नेपालीहरु बिघटनको दिशामा जान सक्ने चिन्ता समेत व्यक्त गरे । समाजले जोड्ने संघियता बनाउन दलहरुलाइ आग्रह गर्दै आएको छ । प्रदेश नम्बर ५ जोड्ने र तोड्ने दुवै सँग तर्क नभएको जिकिर गर्दै अधिकारीले तर्क सहितको संघियता बनाउन आग्रह गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तीको समयमा दलहरु असफल भएको समाजको ठहर छ । समाजले नियुक्तको विरोध समेत गरेको थियो । अहिले कार्कीलाइ हटाउने निहुँमा अख्तियारलाइ कमजोर बनाउने खेल पनि भैरहेको भन्दै संस्था कमजोर बनाउने काम गर्न नहुने धारणा समाजले राखेको छ । व्यक्तिलाइ कारवाही गर्ने निहुँमा संस्था कमजोर हुने नजिर बसाल्ने काम गरेमा भ्रष्ट्राचार अझै बढ्ने सहभागिको भनाइ थियो । १९ औं राष्ट्रिय परिषद बैठक तथा अधिवेसनबाट सभापतिमा निर्वाचित अधिकारी, बरिष्ठ उपसभापति रामजी सुवेदी र केन्द्रीय सदस्य गीता श्रीषलाइ सम्मान पनि गरिएको थियो । त्यस्तै काँग्रेस सभापति दिपेन्द्र बहादुर थापा र एमाले अध्यष इन्द्रलाल सापकोटालाइ समाजको शाखाले सम्मान गरेको थियो । कार्यक्रममा राजनीतिक स्थायीत्वको अभावले पारदर्शीता घटेर भ्रष्ट्राचार मौलाएको टिप्पणी समेत भएको थियो । कानूनको शासन अभावमा देशको राजनीतिक विश्वास खस्कँदै गएकोमा दलहरुले समेत स्विकारेका थिए । कार्यक्रममा काँग्रेस सभापति दिपेन्द्रबहादुर थापा, एमाले अध्यक्ष इन्द्रलाल सापकोटा, राष्ट्रिय जनमोर्चाका सचिव धर्मबहादुर कुँवर, नयाँ शक्तिका अर्जुन खत्री, बरिष्ठ उपसभापति रामजी सुवेदी, केन्द्रीय सदस्य गीता श्रीष, नवराज पौडेल, जगदिशचन्द्र उपाध्याय, महिला अधिकारकर्मी शकुन्तला शर्मा, पत्रकार महासंघका जिल्ला सचिव दिल शिरिष, नागरिक समाजका संयोजक काजी गाउँले, मानवअधिकार संगठनका अध्यक्ष अमरबहादुर कार्की लगायले बोलेका थिए । साथै कार्यक्रममा पूर्व सभापति बिकास पौडेलले परिषद बैठकका निर्णय तथा नीति बारे जानकारी गराएका थिए । जिल्ला अध्यक्ष भूमिश्वर गौतमको अध्यक्षता, सचिव हरिष पौडेलको संचालन र उपाध्यक्ष राजेन्द्र पौडेलको स्वागतमा सम्पन्न भएको थियो । समाजले देशव्यापी रुपमा राजनीतिक स्थायित्व तथा सुशासन र पारदर्शिताका लागि दवाव र पहल गर्ने भएको छ ।
Previous Articleपुस्तक/स्मारिका उपहार स्वरुप प्रदान
Next Article १६ पौष २०७३, ढोरपाटन दैनिक