बागलुङ, १६ पौष – राष्ट्रिय समाचार समितिले बागलुङस्थित विद्यामन्दिर पुस्तकालयलाई पुस्तक/स्मारिका उपहार स्वरुप प्रदान गरेको छ । रासस धवलागिरि अञ्चल कार्यालय बागलुङका वरिष्ठ सहायक समाचारदाता रामबहादुर थापाले शुक्रबार पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीलाई उपहार हस्तान्तरण गरे । राससले विभिन्न अवसरमा प्रकाशन गरेका पत्रकारितासँग सम्बन्धित महत्वपूर्ण पुस्तकहरु पुस्तकालयलाई प्रदान गरिएको थापाले जानकारी दिए । राससका प्रकाशन पत्रकार, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी लगायत आमपाठकलाई उपयोगी हुने पुस्तकालयका अध्यक्ष राजभण्डारीले बताए । उपहार स्वरुप प्रदान गरिएका पुस्तकहरुमा समाचार समिति पत्रकारिता, राससको समाचार यात्रा, रासस दिग्दर्शन, विश्वग्राम, नयाँ नेपालको नयाँ सञ्चार, रासस आलेख समाचार, मुहान, रासस समाचार शैली पुस्तिका लगाएत गरि १२ थान छन् । ‘पत्रकारितासँगै राससबारे चाख राख्ने सञ्चारकर्मी र आम पाठकलाई समेत पुस्तक उपयोगी छन्’ थापाले भने ‘सबैको पहुँचमा राससका अध्ययन सामाग्री पुगुन् भन्ने उद्देश्यले पुस्तकालयलाई उपहार स्वरुप प्रदान गरिएको हो ।’ पुस्तकालयका अध्यक्ष राजभण्डारीले उपहार स्वरुप पुस्तकहरु प्रदान गरेकोमा राससलाई धन्यवाद दिए । उनले प्राप्त पुस्तकहरु पुस्तकालयको अमुल्य सम्पत्तिको रुपमा रहने प्रतिक्रिया दिए । धवलागिरि अञ्चलकै जेठो यस पुस्तकालयमा विभिन्न विधाका गरि करिब १५ हजार पुस्तक सङ्ग्रहित छन् ।
Previous Articleमधेसी मोर्चालाई फकाउँदै कांग्रेस
Next Article ‘नेपाली विघटनको दिशामा जाने चिन्ता’