मुस्ताङको कोबाङमा आयोजित मेलाको उद्घाटन गर्दै वाणिज्यमन्त्री रोमी गौचन थकालीले यस पर्वले थकाली समुदायलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने बताए। उनले आफ्नै परम्परा र संस्कृतिबाट समाजलाई एकताबद्ध गर्दै अघि बढेको यो समुदायको पहिचान र परम्परामाथि विभिन्न पक्षबाट प्रहार भएको भन्दै त्यसलाई रोक्न थकाली समुदाय एक हुनुपर्ने बताएका थिए।
कोबाङमा चल्ने १७ दिने ल्हफेव पर्वको प्रत्येक दिनको आ–आफ्नै विशेषता छ। पर्वभरि कोही मौलिक परिकार बनाउँदै, कोही रथ तान्ने मेलामा सहभागी हुँदै त कोही चाहिँ पाहुनापातलाई सत्कार गर्दै गरेका भेटिनेछन्। ल्हफेव मूल आयोजक समितिका अनुसार दैनिक पूजा, रथयात्रा, कविता प्रतियोगिता, खुला म्याराथन दौड, तारो हान्ने खेलदेखि स्वास्थ्य शिविर, कन्सर्ट र सुन्दरी प्रतियोगितासम्मको कार्यक्रम हुनेछ।
यो पर्वका बेला थकालीका चारवटा देउतालाई बाहिर निकाल्ने र धोइपखाली गरेर रथयात्रा गर्ने चलन छ। हरेक १२ वर्षमा देवता बाहिर निस्कने र उक्त देवताको दर्शनले पाप र दुःखबाट मुक्ति पाइने विश्वास रहेको मेलमा सहभागी स्थानीय पवन तुलाचनले बताए। थकाली समुदायको चार चन (गौचन, तुलाचन, भट्टचन र शेरचन) का इष्टदेवलाई अन्य समय मन्दिरभित्रै बन्द बाकसभित्र राखेर पूजा गरिन्छ। यस्तै चार चनका पाँडेद्वारा वाचित चार देव र चार आदि पुर्खाको मर्मस्पर्शी यात्रागाथा श्रवण गराउनु यस पर्वको अर्को महत्वपूर्ण पाटो हो।
चन्द्र पात्रोअनुसार हरेक १२ वर्षको प्रल्हो (बाँदर वर्ष) को अन्त्यमा देउता निकालिन्छ र झन्डै एक महिनासम्म धुमधामको जात्रा मनाइन्छ। देउता निकाल्ने र रथयात्रा गर्ने थलोमा भने लौरो टेक्न, घोडा चढ्न, सुसेली हाल्न र रातो टीका लाउन नपाउने चलन छ।
मेलामा सहभागी हुन जापानबाट आएका शरदकुमार गौचनले ल्हफेव संसारभर छरिएका थकाली समुदायको एकता र पारिवारिक खुसीको मिलन गराउने पर्व भएको बताए। हिमालपारिको जिल्ला मुस्ताङ अनुपम प्राकृतिक सुन्दरतासँगै संस्कृति र सभ्यताको उत्कृष्ट गन्तव्य मानिन्छ। धार्मिक सांस्कृतिक विविधतासँगै चम्किला हिमालको काखमा अवस्थित मुस्ताङ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य हो।
Previous Articleश्रीलंकाको आत्मघाती गोलपछि नेपाल सेमिफाइनलमा
Next Article मधेसी मोर्चालाई फकाउँदै कांग्रेस