धरान, १४ पुस – विभागीय टिम नेपाल आर्मी सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आर्मीले अब उपाधिको लागि शुक्रबार हुने खेलमा सशस्त्रको एपीएफको सामना गर्ने छ ।
धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा बिहीबार सम्पन्न खेलमा सडेन डेथमा मध्यमाञ्चललाई ३–२ गोलले पाखा लगाउँदै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
मध्यमाअञ्चल र आर्मीबीच बुधबार भएको खेलमा निर्धारित ९० मिनेटको समय तथा आतिरिक्त ३० मिनेटमा समेत दुवै टिमबाट गोल हुन नसकेपछि साँझ परेकोले टाइब्रेकर गर्न नसकिने भन्दै बिहीबार बिहान गराइएको थियो । तर टाइब्रेकरमा ४–४ गोलको बराबरी भए पछि खेल सडन डेथमा पुगेको थियो ।
आर्मीका लागि सडेन डेथमा दीपक लामा, पदम तामाङ र राजु तामाङले गोल गरेक थिए । मध्यमाञ्चलकातर्फमाबाट नीरबहादुर आले र दिनेश योञ्जनले मात्र गोल गरे । सडेन डेथमा मध्यमाञ्चलका जितबहादुर मगर गोल गर्न चुक्दा उसको फाइनलको यात्रा सकिएको थियो ।
टाइब्रेकरमा राष्ट्रिय टोलीका स्ट्राइकर नवयुगले गोल गर्न चुके पनि आर्मीका लागी जितेन्द्र कार्की, दीपक गुरुङ, सुमन अर्याल र गोल रक्षक विकेश कुथुले गोल गरेका थिए ।
मध्यमाञ्चलका लागि कुलदीप कार्की, सन्तोष सेन, सञ्जय कार्की र आदित्य शाक्यले गोल गरे । मध्यमाञ्चलका एरिक विष्टको पेनाल्टी प्रहार गोल पोष्टमा ठोक्किएर बाउन्स भएको थियो ।